भ्रष्टाचारी र जघन्य अपराधीलाई मृत्युदण्डको सजाय आवश्यक छ
- आश्विन १९, २०८३
भक्तपुर नगरपालिकाले हालै चाडपर्व र जात्राहरूमा परम्परागत रूपमा बजार क्षेत्रमा बिक्री हुँदै आएका पूजा सामग्री, फलफूललगायतका वस्तुहरूको बिक्री वितरणलाई निषेध गर्दै भेलुखेलस्थित नयाँ स्थानमा मात्रै कारोबार गर्नुपर्ने गरी निकालेको सूचनाप्रति नगरवासीहरूको ध्यानाकर्षण भएको छ । भक्तपुरमा वर्षभरि मनाइने विभिन्न चाडपर्व तथा जात्राहरूमा आवश्यक पर्ने सामग्रीहरू नगरका विभिन्न ऐतिहासिक चोक तथा बजारहरूमा बिक्री गर्ने चलन कुनै सामान्य व्यावसायिक गतिविधि मात्र होइन, यो हाम्रो जीवन्त संस्कृति र अमूर्त सम्पदाको एक अभिन्न पाटो पनि हो । यहाँ सङ्क्रान्तिमा चाकु, गाईजात्रामा बाँस, देवाली पूजामा बोका तथा दसैँ र तिहारजस्ता महान् चाडपर्वहरूमा पूजा सामग्री, फलफूल, भाइटीकालाई चाहिने सामग्रीका साथै उखु आदि परापूर्वकालदेखि नै ऐतिहासिक बजारमै बिक्री वितरण हुँदै आएका छन् ।
“भक्तपुर गएपछि आवश्यक पर्ने हरचिज पाइन्छ” भन्ने मान्यताका कारण भक्तपुर नगरपालिकाबाहेकका छिमेकी स्थानीय तहहरू — जसलाई पहिले गाउँ भनिन्थ्यो — का बासिन्दाहरू समेत खरिदका लागि भक्तपुर आउने गरेको लामो ऐतिहासिक परम्परा रहेको छ । तर, एकाएक पुराना ऐतिहासिक बजारहरूलाई पूर्ण रूपमा निषेध गरी भेलुखेलजस्तो नयाँ स्थानमा मात्रै बजार सीमित गर्दा उपभोक्ताहरूका लागि यो अति नै अपायक भएको छ । यसले एकातिर जनसाधारणलाई सास्ती थपेको छ भने अर्कोतर्फ हाम्रो सांस्कृतिक बजारको मौलिकता पनि हराउँदै जाने जोखिम बढेको छ ।
तसर्थ, परम्परागत बजारलाई रातारात पूर्ण रूपमा बन्द गर्नुभन्दा यसको व्यावहारिक र मध्यमार्गी समाधान खोजिनु आवश्यक छ । चाडपर्वको विशेष समयमा (केही सीमित दिनका लागि) पुराना ऐतिहासिक बजारहरूमा नै परम्परागत सामग्रीहरू बिक्री गर्न दिने र अन्य नियमित व्यापारिक गतिविधिहरू नयाँ स्थानमा गर्ने गरी व्यवस्था मिलाउन सके संस्कृति पनि जोगिने र व्यवसायी तथा उपभोक्ता दुवैलाई सहज हुनेछ । यस विषयमा नगरपालिकाले समयमै पुनर्विचार गर्ला भन्ने अपेक्षा गरेको छु ।
— एक सचेत नगरवासी/पाठक, भक्तपुर
Leave a Reply