भर्खरै :

मानसिक स्वास्थ्य समस्याः बुझाइ, चुनौती र रोकथामका उपाय

मानसिक स्वास्थ्य समस्याः बुझाइ, चुनौती र रोकथामका उपाय

अक्टोबर १० का दिन विश्वभर ‘विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । विश्वमा मानसिक रोगीहरूको सङ्ख्या बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठनले दिएको जानकारीअनुसार हरेक आठ जना मानिसमध्ये एक जनामा मानसिक स्वास्थ्य समस्या पाइएको छ । यस वर्षको मूल नारा ‘जीवनका वास्तविक अनुभवहरू सुनौँः वास्तविक आवाज, वास्तविक परिवर्तन’ रहेको छ ।
मानसिक स्वास्थ्यको क्षेत्रमा हामीले धेरै कुरा गरेका छौँ† अस्पताल बनाएका छौँ, औषधि विकास गरेका छौँ तथा मनोचिकित्सा र मनोवैज्ञानिक उपचारका विधिहरू पनि विकास गरेका छौँ। तर, एउटा महत्वपूर्ण कुरा– मानसिक स्वास्थ्य समस्याको उपचार गर्दा हामी प्रायः बिरामीको लक्षण, निदान र औषधिमा मात्र केन्द्रित हुन्छौँ। बिरामीले के अनुभव गरिरहेको छ ? उसको डर के हो ? उसले समाजबाट कस्तो व्यवहार पाएको छ ? उसको परिवारले के भोगिरहेको छ ? उसलाई उपचारमा के कुराले सहयोग गर्छ ? जस्ता विषयलाई हामी कमै मात्र हेर्छौँ।
मानसिक स्वास्थ्य सेवा बनाउँदा बिरामी, परिवार र मानसिक स्वास्थ्य समस्याबाट जीवनमा गुज्रिएका व्यक्तिहरूको अनुभवलाई पनि समावेश गर्नुपर्छ । हामीले व्यक्तिलाई दोष दिनुको सट्टा समस्या बुझ्नुपर्छ । मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिलाई हामीले केवल ‘बिरामी’ भनेर नभई एउटा व्यक्ति, एउटा परिवारको सदस्य, एउटा साथी, एउटा विद्यार्थी, एउटा शिक्षक, एउटा अभिभावक र एउटा सपना बोकेको मानिसका रूपमा हेर्नुपर्छ ।
उसको अनुभव सुनौँ।
उसको आवाजलाई सम्मान गरौँ।
उसलाई निर्णयमा सहभागी गराउँदै समयमै उपचार र सहयोग उपलब्ध गराऔँ।
सेवा लिने व्यक्ति मात्र होइनन्, उनीहरूको अनुभव आफैँमा एउटा महत्वपूर्ण ज्ञान हो । त्यसैले, २०२६ को सन्देशले हामीलाई यही कुरा सिकाउँछ ।

नेपालको सन्दर्भ र वर्तमान चुनौती
नेपालमा यस वर्ष रसुवामा आएको बाढीले ठुलो वितण्डा मच्चायो । धेरै मानिसले घरपरिवार र जग्गाजमिन गुमाए । यसबाट मानिसहरूमा विभिन्न मनोवैज्ञानिक समस्या देखिएका छन् । यस्तो बेलामा बिरामीलाई राहतका साथै उचित मनोवैज्ञानिक परामर्शको अति आवश्यकता हुन्छ । धेरै मानिसमा डिप्रेसन, एन्जाइटी र पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डरजस्ता समस्याहरू देखिन थालेका छन् । यतिबेला ती प्रभावितहरूको मनोबल उच्च पार्नु, घाउमा मलमपट्टि लगाउनु र मनमा परेको चोटलाई कम गर्दै राहतको राम्रो सदुपयोग गर्नु अति आवश्यक छ । साथै, यस्ता प्राकृतिक प्रकोपबाट कसरी बच्ने भन्नेबारे दीर्घकालीन उपाय निकाल्नु पनि उत्तिकै आवश्यक देखिन्छ ।
अर्कातर्फ, आत्मदाह गर्ने, शरीरमा पेट्रोल छर्किने र आत्महत्या गर्नेजस्ता घटनाहरू पनि बढ्दै गएको देखिन्छ । त्यसैले, नेपालमा मनोसामाजिक परामर्शको व्यापक आवश्यकता रहेको छ ।

मानसिक स्वास्थ्यसम्बन्धी केही तथ्यहरू
विश्वमा ३० करोड मानिस एन्जाइटी डिसअर्डरबाट पीडित छन् ।
डिप्रेसनबाट २८ करोड, बाइपोलर डिसअर्डरबाट ४ करोड र सिजोफ्रेनियाबाट २ करोड ४० लाख मानिस पीडित छन् ।
विश्वमा ठुलो ‘मेन्टल हेल्थ ग्याप’ (मानसिक स्वास्थ्य सेवाको कमी) रहेको छ । विकासोन्मुख देशहरूमा ६० देखि ७० प्रतिशत मानिस उपचारको पहुँच बाहिर छन् ।
मानसिक रोगअन्तर्गत अति सामान्य समस्या ‘टेन्सन हेडएकेक’ (टाउको दुखाइ) देखि अति कडा रोग ‘सिजोफ्रेनिया’ सम्म पर्दछन् ।
विश्वमा करिब ५० करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पीडित छन् ।
मानिसको दैनिक क्रियाकलापमा असर गर्ने विश्वका १० खतरनाक रोगहरूमध्ये ५ वटा मानसिक रोगका कारण हुन्छन्, जसमा डिप्रेसन, मेनिया, सिजोफ्रेनिया, कुलत (दुव्र्यसनी) र डिमेन्सिया पर्दछन् ।
नेपालमा मनोरोगका बिरामीको उपचार गर्ने जनशक्तिको कमी छ । साइक्याट्रिक मनोरोग विशेषज्ञ, साइक्याट्रिक नर्स, मनोवैज्ञानिक र सामाजिक कार्यकर्ताहरू मनोरोगका बिरामीको उपचारमा संलग्न रहन्छन् । नेपालमा मानसिक बिरामीहरूको उपचार नेपाल मानसिक अस्पताल, मेडिकल कलेजहरू, सरकारी अस्पतालहरू र निजी नर्सिङ होमहरूमा हुने गरेको छ । केही गैरसरकारी संस्थाहरूले पनि यस क्षेत्रमा सहयोग गर्दै आएका छन् । खासगरी, मानिसमा परेको समस्यासँग जुध्न नसक्दा मानसिक रोग लाग्न पुग्छ । तर, कतिपय अवस्थामा वंशानुगत रूपमा पनि मानसिक रोग लाग्ने सम्भावना हुन्छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा प्रत्येक ४० सेकेन्डमा एक जना मानिसको ज्यान आत्महत्याबाट जान्छ; त्यसैले यसको रोकथाम अति आवश्यक छ । मानसिक रोगबारे जनचेतना फैलाएर मानसिक स्वास्थ्य राम्रो बनाउन सके आत्महत्याका घटनाहरू घटाउन सकिन्छ । हामीले जहिले पनि सकारात्मक दृष्टिकोण राख्नुपर्छ । मानसिक रोगका बिरामी पनि आफ्नो दैनिक काम गर्न सक्छन् र उपचार गरेमा यो रोग निको हुन्छ । सामान्य मनोरोगका बिरामीलाई ‘मेरो दिमाग बिग्रन्छ कि’ भन्ने डर लाग्छ, तर त्यस्तो हुँदैन† कडा मानसिक रोगमा मात्र त्यस्तो हुन सक्छ । रोग लाग्यो भनेर लुकाउनु हुँदैन र आफूलाई कमजोर ठान्नु हुँदैन, बरू समयमै उपचार गराउनुपर्छ ।

मानसिक रोग कस्ता कस्ता हुन्छन् ?
क) सामान्य खालका मानसिक रोगहरू :
डिप्रेसन : यस रोगका बिरामी निराश हुने, दिक्क हुने, नरमाइलो मान्ने, बारम्बार रूने, हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, ‘बाँच्नुभन्दा मर्नु बेस’ ठान्ने गर्छन् । कतिपय बिरामीले आत्महत्या गरेको पनि पाइएको छ । डिप्रेसन नेपालमा पाइने मुख्य मानसिक रोग हो । जीवनभरमा २०–२५ प्रतिशत मानिसलाई डिप्रेसन हुन सक्छ ।
एन्जाइटी (डर लाग्ने समस्या) : मानिसमा डर लागिरहने, मुटु ढुकढुक गर्ने, हात हल्लिने, टाउको दुख्ने र अचानक डराउने समस्या देखिन्छ ।
कन्भर्सन/डिसोसिएटिभ डिसअर्डर : अचानक हातखुट्टा नचल्ने, छातीमा स्वास फेर्न गा¥हो हुने, उल्टोपाल्टो कुरा गर्ने, बोली रोकिने, काम्ने र बिर्सनेजस्ता लक्षणहरू लिएर बिरामी अस्पताल आउँछन् ।
सोमाटोफर्म डिसअर्डर : यो यस्तो रोग हो, जसमा बिरामी शरीरका विभिन्न अङ्गमा समस्या भएको लक्षण (जस्तै टाउको दुख्ने, पेट दुख्ने, हातखुट्टा हल्लिने आदि) लिएर विभिन्न डाक्टरकहाँ पुग्छन् । तैपनि, आफ्नो समस्या निको भएको महसुस गर्दैनन् । विभिन्न ल्याब परीक्षण गराउँदा पनि कुनै खराबी देखिँदैन, जुन साइकोलोजिकल कारणले भएको उनीहरूलाई थाहा नै हुँदैन । कहिलेकाहीँ बिरामीहरू आफूलाई क्यान्सर वा एड्स भएको शङ्का गरेर अस्पताल आउँछन् ।
अब्जेक्टिभ कम्पल्सिभ डिसअर्डर : यो यस्तो रोग हो जहाँ मन अत्यन्त कमजोर हुन्छ । मनमा विभिन्न सोचाइ र दृश्यहरू आइरहन्छन् । मनले नचाहँदा नचाहँदै पनि त्यस्ता सोचाइ आएर बिरामी आत्तिन्छ । उसलाई छटपटी भइरहन्छ र चुकुल लगाएपछि पटक–पटक हेरिरहने वा बारम्बार हात धोइरहनेजस्ता लक्षण देखिन्छन् ।
ख) कडा मानसिक रोगहरू :
मेनिया : यो डिप्रेसनको ठ्याक्कै उल्टो खालको रोग हो । बिरामी म ठुलो मान्छे बन्छु, म प्रसिद्ध व्यक्ति हुँ भनेर घमण्ड गर्ने, कसैले भनेको नमानेमा पिट्ने, राम्रो लुगा लगाउन जिद्दी गर्ने, मीठो खाना माग्ने, पैसा माग्ने र झगडा गर्ने गर्छ । कहिले मेनिया र कहिले डिप्रेसन देखिने अवस्थालाई ‘बाइपोलार एफेक्टिभ डिसअर्डर’ भनिन्छ ।
सिजोफ्रेनिया : यो यस्तो रोग हो, जसमा बिरामीलाई आफू बिरामी भएको थाहा हुँदैन । बिरामी एक्लै बस्दा कानमा आवाज आउने, अरूसँग शङ्का गर्ने, सरसङ्गत छोड्ने, एक्लै बस्ने, दैनिक काममा ध्यान नदिने, सफासुग्घर बस्न छाड्ने र घरबाट भाग्नेजस्ता लक्षण देखिन्छन् ।
ग) अन्य समस्याहरू :
लागूऔषध र रक्सीको समस्या : विशेष गरी विद्यालय तथा कलेजका विद्यार्थीहरू लागूऔषध सेवनको कुलतमा फसेको देखिन्छ । खोकीको औषधि, गाँजा, टिटाजेसिक र हिरोइनजस्ता पदार्थ लिँदा मस्तिष्कमा नराम्रो असर पर्छ । उनीहरू एकपटक लिएपछि छोड्न सक्दैनन् र कतिपय अवस्थामा चोरीजस्ता अपराधमा पनि संलग्न हुन्छन् । अर्कोतिर, रक्सी सेवन गर्ने मानिसमा दिनदिनै पिउने मात्रा बढ्दै जान्छ र पछि बिहान उठ्नेबित्तिकै रक्सी नभई बस्न सक्दैनन् । यसले छारेरोग, होस हराउने, पेट पोल्ने, कलेजोको रोग, डिमेन्सिया तथा डिप्रेसन निम्त्याउन सक्छ ।
छारेरोग ः अचानक शरीर कडा हुने, काम्ने, बेहोस हुने, आँखा हल्लिने र जिब्रोमा चोट लाग्ने समस्या यसमा हुन्छ । कतिपय बच्चामा १ देखि २ मिनेटसम्म टोलाएर मात्र बस्ने पनि एक प्रकारको छारेरोग हो । यो उपचार गरेपछि निको हुन्छ तर यसको औषधि करिब ४ वर्षसम्म नियमित खानुपर्छ ।
सुस्त मनस्थितिः यस्ता बिरामीमा बौद्धिक क्षमता कम हुन्छ । दैनिक जीवनमा सिक्ने, काम गर्ने र पढ्ने कुरामा उनीहरू पछि पर्छन् । उपचारले उनीहरूमा सुधार ल्याउन सकिन्छ तर उनीहरूको बुद्धिअनुसार सीप सिकाइ काममा लगाउनुपर्छ ।
डिमेन्सिया (बिर्सने रोग)ः यो बुढेसकालमा लाग्ने मस्तिष्कको एक प्रकारको रोग हो । ६५ वर्षपछि देखिने यस रोगमा मस्तिष्कको आकार सानो हुँदै जान्छ र बिरामीको सम्झने शक्ति घट्दै जान्छ । बिरामी रिसाउने, बिर्सने, दिसापिसाब नियन्त्रण गर्न नसक्ने, एक्लै बस्ने र व्यक्तित्वमा परिवर्तन आउने हुन्छ ।
मानसिक रोगका कारणहरू
– वंशानुगत रूपमा सर्ने ।
– न्युरोट्रान्समिटरको गडबडी (जस्तै डोपामिन, सेरोटोनिन र नोरिएपिनेफ्रिनको असन्तुलन) ।
– बाल्यकालमा आमाबाबुबाट टाढा बस्नुपर्दाको अवस्था ।
– हर्मोनको गडबडी (जस्तै थाइरोइड, एड्रिनल वा ग्रोथ हर्मोनमा समस्या) ।
– लामो समयसम्म शारीरिक रोग लाग्नु (जस्तै मधुमेह, मिर्गौलाको रोग आदि) ।
– व्यक्तित्वका कारणहरू ।
– तात्कालिक घटनाक्रम (जस्तै प्रियजनको मृत्यु वा ठुलो नोक्सानी हुने घटना) ।
– पारिवारिक अस्वस्थ सम्बन्ध ।
– लागू पदार्थको सेवन ।
– गर्भधारणको समयमा सङ्क्रमण वा मस्तिष्कको वृद्धिमा बाधा ।
– समाजबाट टाढा बस्नु वा बसाइँ सर्नाले पर्ने असर ।
– टाउकोमा चोटपटक लाग्नु ।

कसरी मानसिक रूपमा स्वस्थ बन्ने ?
– अनावश्यक कुरामा बारम्बार एकोहोरो गहिरो सोचाइ नराख्ने ।
– अरूको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुन सिक्ने ।
– पुराना रूढिवादी कुराहरू, जुन वर्तमानमा गलत साबित भएका छन्, तिनमा विश्वास नगर्ने ।
– हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
– जे छ त्यसैमा सन्तुष्ट हुने, तर मिहिनेत गर्न नछाड्ने ।
– लागूपदार्थ, रक्सी र ड्रग्सबाट टाढा रहने ।
– दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्ने ।
– समाज र घरपरिवारमा द्वेष वा दुष्टताको वातावरण अन्त्य गर्ने ।
– अति नैतिकवान बन्न खोजेर अरूबाट पनि त्यस्तै बढी अपेक्षा नगर्ने ।
– आफ्ना समस्या परिवार र साथीभाइलाई भन्ने बानी गर्ने, जसले मनको चिन्ता कम गर्न सहयोग गर्छ ।
– मनलाई सधैँ शान्त राख्ने ।

मानसिक रोग लागेको कसरी चिन्न सकिने ?
– मानिसमा धेरै अङ्गका जटिल लक्षणहरू एकैचोटि देखिएमा ।
– अनौठो व्यवहार देखा परेमा ।
– एक्लै बोल्ने र एक्लै हाँस्ने गरेमा ।
– अरूसँग अनावश्यक शङ्का गर्ने गरेमा ।
– धेरै आत्तिने, डराउने, चिन्ता गर्ने वा घरबाट भाग्ने गरेमा ।
मानसिक रोगबारे जान्नैपर्ने कुराहरू
मानसिक रोग अति सामान्य (जस्तै टाउको दुख्ने मात्र) देखि कडा खालका (एक्लै बोल्ने, पागलपन) सम्मका हुन्छन् । सामान्य समस्या हुँदा आत्तिनु हुँदैन र उपचार गर्न हिचकिचाउनु हुँदैन । कडा बिरामीलाई परिवारको सहयोग अति आवश्यक हुन्छ ।
– मानसिक रोग लाग्नु कुनै पापको फल होइन ।
– उपचार गरेमा मानसिक रोग पूर्ण रूपमा निको हुन्छ ।
– मानसिक रोगका बिरामीलाई सबैले सहयोग गर्नुपर्छ ।
– उपचार गराइरहेका बिरामीले डाक्टरको सल्लाहबिना आफैँ औषधि छाड्नु हुँदैन ।
विभिन्न ल्याब परीक्षण गर्दा पनि शारीरिक रोग नदेखिएमा त्यो मानसिक रोग हुने सम्भावना धेरै रहन्छ ।
मानसिक रोगको उपचारमा काउन्सिलिङ (साइकोथेरापी) र ईसीटी (विद्युतीय उपचार) को ठुलो भूमिका हुन्छ ।
मानसिक रोगका बिरामीहरू घरपरिवार, समाज तथा द्वन्द्वका कारण शोषणमा पर्न सक्छन् ।
मानिस काम्ने र बक्ने वनको भूतले होइन, मनको आन्तरिक पीडाले गर्दा हुन्छ ।
मानसिक रोगको उपचार विधि
१. साइकोथेरापी (मनोचिकित्सा)
२. औषधि प्रयोग
३. विद्युतीय उपचार (ईसीटी)
धेरैजसो बिरामीहरू साइकोथेरापी र औषधिको प्रयोगबाटै निको हुन्छन् तर कतिपयलाई ईसीटी पनि गर्नुपर्ने हुन्छ ।

औषधि सेवन गर्दा विचार पु¥याउनुपर्ने कुराहरू :
औषधि जहिले पनि बिरामीलाई अर्कै मानिसको रेखदेखमा खुवाउनुपर्छ ।
तोकेको अवधिसम्म नियमित औषधि सेवन गर्नुपर्छ । आफ्नो मनखुसीले औषधि छाड्दा रोग निको हुँदैन वा ४–५ महिनापछि फेरि बल्झिन सक्छ ।
औषधि सुरक्षित ठाउँमा राख्नुपर्छ, जसले गर्दा बढी मात्रामा खानबाट बचाउन सकिन्छ ।
औषधिको साइड इफेक्ट (प्रतिकूल असर) देखिएमा औषधि रोकेर तुरून्त सम्बन्धित विभाग वा चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।
औषधिलाई घाम, पानी र धुलोले नबिगार्ने सुरक्षित ठाउँमा राख्नुपर्छ ।
मानसिक रोगको उपचारमा परिवारका सदस्यको भूमिका
मानसिक रोगको एउटा प्रमुख कारण पारिवारिक झगडा, बेरोजगारी र प्राकृतिक प्रकोप पनि हो । बिरामी हुन नदिन र भएका बिरामीलाई छिटो निको पार्न परिवारका सदस्यको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । परिवारमा आइपर्ने जटिल समस्याहरू आपसी समझदारीमा समाधान गर्न सकिन्छ, त्यसैले त्यसको बोझ एक जनामा मात्र पर्न दिनुहुँदैन ।
बिरामीलाई डाक्टरको सल्लाहबमोजिम नियमित रूपमा औषधि खुवाउनुपर्छ । बिरामी रिसाउने, झर्किने तथा झगडालु स्वभाव देखाउन थालेमा आफू उत्तेजित हुनु हुँदैन† बिरामीले रोगको कारणले त्यस्तो व्यवहार देखाएको हो भन्ने कुरा बुझ्नुपर्छ । औषधिले काम गर्न कम्तीमा एक हप्ता लाग्न सक्छ, त्यसैले तत्कालै असर खोज्नु हुँदैन । नेपालमा रक्सी र लागूऔषधको समस्या बढ्दो छ, जसका लागि परिवारको कडा रेखदेख र नियन्त्रण आवश्यक छ । साथै, समुदायका मानिसहरू एकजुट भएर काम गरेमा यस्ता समस्याहरू नियन्त्रण गर्न सकिन्छ ।
(प्राडा सी.पी. सेढाईं मनोरोग विशेषज्ञ हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *