सरकारको नेतृत्व फेर्नु नै समाज परिवर्तन होइन
- आश्विन २४, २०८३
यतिखेर नेकाको नेतृत्वमा शेरबहादुर देउवा र गगन थापाको छुट्टाछुट्टै दाबी बाहिरिएको छ । यसबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन पनि छ । गत वर्ष भदौ २३ र २४ गतेको उपद्रव र विध्वंसमा देउवा पिटाइमा परेको चार महिनापछि पुस मसान्ततिर भएको नेकाको विशेष महाधिवेशनमा थापा सभापति निर्वाचित भए । लामो समय सिङ्गापुर र हङकङ बसेका देउवा गत महिना नेपाल फर्किए । थापा यही असोज २४ गते नेकाको पन्ध्राँै महाधिवेशनमा ६ हजार ५८४ (९३.६३ प्रतिशत) मतसहित सभापति भए । अर्कोतिर देउवाले पनि जिल्ला–जिल्लामा आफ्ना समर्थक काङ्ग्रेसको भेला गराउँदै छन् । देउवाले पाँच पटक प्रधानमन्त्री चलाए भने थापा स्वास्थ्य मन्त्रीसम्म भए । देउवाले महाकाली सन्धिलगायत एमसीसीजस्ता देशघाती सन्धि–सम्झौता गरेका थिए भने थापाले बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिलगायतमा करोडौँ कमिसनको चलखेल गराएको सार्वजनिक भएको थियो ।
स्थापनाकालदेखि नै नेकालाई संरा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको सहयोग भएको विषयमा देउवा र थापा चुइँक्क बोल्दैनन् किन ? त्यसो त २०१५ सालको चुनावमा संरा अमेरिकी गुप्तचर संस्थाले नेकासँगै तत्कालीन राजा महेन्द्रलाई पनि आर्थिक सहयोग गरेको सार्वजनिक भएको थियो । बहुदल पुनःस्थापनाको ३५ वर्षयता पालैपालो सरकारमा गएका नेका, एमाले, तत्कालीन माओवादीको असक्षमताको कारण गत वर्ष भदौ २३ र २४ गते संरा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादबाट प्रशिक्षितहरूले देशभरिझैँ आगजनी गरी विध्वंस मच्चाएर सरकार हात पारेको बारे देउवा र थापाको मौनता तोडिएन किन ? के नेपालमा साम्राज्यवादी र विस्तारवादीहरूले थाकेको पुरानो घोडाको ठाउँमा नयाँ घोडालाई सरकारमा पु¥याएका हुन् ? के नेकाभित्र उमेरले ज्येष्ठहरूको ठाउँमा कम उमेरका थापालाई ल्याइएको हो ? यसो नभए देउवा र थापाको आर्थिक र विदेश मामिलामा के कति भिन्नता छ, दुवैले किन स्पष्ट गरेनन् ?
नेपाली जनताले राजनीतिमा उमेरभन्दा विचार मुख्य हुने विषय बुझ्नु जरुरी छ । राजनीतिमा आर्थिक र विदेश मामिला भिन्न नभएकाहरू अलग अलग पार्टी बनाएर पालैपालो सरकारमा पुग्नुको अर्थ हुँदैन । तर, पैँतीस वर्षयता नेपालमा यस्तै भइरहेको छ । अहिले सरकारमा रहेको रास्वपाका अधिकांश सांसदहरू नेका, एमाले, तत्कालीन माओवादीलगायत शासक दलहरू त्यागेकाहरू हुन् । यसबारे थापाले बोले, “रास्वपाका ४० सांसद नेकाबाट तालिम प्राप्त हुन् ।” नेकाबाट तालिम प्राप्तहरूले रास्वपाको विचार कसरी कार्यान्वयन गर्छन् ? यो प्रश्न उठ्नु स्वाभाविक हो ।
रास्वपामा एमाले, तत्कालीन माओवादी, राप्रपा र मधेसवादी दल त्यागेर पनि सांसद बनेका छन् । यसले रास्वपा एउटा निश्चित विचार बोकेकाहरूको नभएको बरु खिचडी भएको पुष्टि हुन्छ । राजनीतिक दल एउटै विचार बोकेकाहरूको अनुशासित संस्था हुनुपर्ने हो । रास्वपाले आफूले प्रशिक्षित नगरेकाहरूलाई सांसद र मन्त्री बनाउनु रास्वपा नेतृत्वको कच्चा निर्णय हो । कुनै पनि राजनीतिक दल र तिनका नेता २–४ वर्षमा परिपक्व नहुने यतिखेर रास्वपाभित्र लागू भइरहेको छ । कोही सहकारी ठगीमा परेका, कोही सिंहदरबार जलाउँछौँ भनेका, कोही देशभरिझैँ आगजनी गरेपछि हामी जित्यौँ भनेका, कोही अब सेनासँग वार्ता गर्नू भनेका रास्वपा नेतृत्वबाट देश र जनताको सेवा हुने अपेक्षा कसरी गर्न सकिएला ? संरा अमेरिकाको खोज पत्रकार किट क्लारेन वर्गले ‘दि ग्रेजोन’ सञ्चार माध्यममा रास्वपाका कतिपय नेताहरूलाई अमेरिकी केन्द्रीय गुप्तचर संस्था सीआईएअन्तर्गत नेड, आइआरआई, सीईपीपीएस, एनडीआईमार्फत करोडौँ डलर पठाउँदै तालिम दिएको सार्वजनिक भइसकेको छ । के रास्वपादेखि नेपाली जनता सचेत हुनु जरुरी छैन ?
Leave a Reply