भर्खरै :

इरान–पाकिस्तान सीमा आवागमन अस्थायी रूपमा बन्द

इरान–पाकिस्तान सीमा आवागमन अस्थायी रूपमा बन्द

तेहरान, १ कार्तिक (एएनआई) । प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबिचको सीमापार आवागमन तथा व्यापार अस्थायी रूपमा रोकिएको छ । दुवै देशका अधिकारीहरू सीमा नाकालाई सकेसम्म चाँडो सामान्य सञ्चालनमा फर्काउन परामर्शमा जुटेका छन् ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार केही प्राविधिक समस्याका साथै सावधानीका उपाय आवश्यक भएकाले सीमापार आवागमन अस्थायी रूपमा स्थगित गरिएको बताउनुभयो । इरानी समाचार संस्था इरनाका अनुसार उहाँले दुवै देशका सम्बन्धित अधिकारीहरू समस्या समाधान गर्न नजिकबाट काम गरिरहेको जानकारी दिनुभयो ।
यसैबिच, पाकिस्तानले शुक्रबारदेखि गब्द–रिमदान र तफ्तानका आधिकारिक सीमा नाकामार्फत हुने व्यापार रोकेको छ । पाकिस्तानी समाचारपत्र डनका अनुसार वाणिज्य मन्त्रालयले अक्टोबर ३ मा जारी गरेको अघिल्लो आदेश खारेज गर्दै नयाँ आधिकारिक सूचना जारी गरेपछि व्यापार रोकिएको हो ।
बलुचिस्तानका मुख्यमन्त्रीका सञ्चार तथा राजनीतिक मामिलासम्बन्धी सल्लाहकार शाहिद रिन्डले सीमा बन्द गर्नुको उद्देश्य सुरक्षा सुदृढ बनाउनु, तस्करी नियन्त्रण गर्नु र सीमा प्रशासनलाई व्यवस्थित गर्नु रहेको बताउनुभयो ।
उहाँले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट खबरमा विश्वास नगर्न आग्रह गर्दै सीमा बन्द गर्ने निर्णय दुवैतर्फको सुरक्षा अवस्था र प्रशासनिक समस्या सुधार्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
रिन्डका अनुसार दुवै देशका उच्च अधिकारीहरू बाँकी प्रशासनिक समस्या समाधान गर्न वार्तामा छन् । सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन र अवैध तस्करी सञ्जाल नियन्त्रण गर्न समन्वित प्रणाली स्थापना गर्ने कामसमेत भइरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *