भर्खरै :

रास्वपा सरकारमा सुशासन छैन, घुस काण्ड बढ्यो !

रास्वपा सरकारमा सुशासन छैन, घुस काण्ड बढ्यो !

नेपाल लगानी बोर्ड विदेशीको हितमा गठन गरिएको यथार्थ पुष्टि हुँदै आएको छ । नेका, एमाले, तत्कालीन माओवादीले यो बोर्ड गठनसम्बन्धी संसद्बाट पारित गरेको बेला नेमकिपाले विरोध गरेको थियो । यो बोर्डको कार्य क्षेत्रमा नेपालको जल, जमिन, जङ्गल, खनिज असीमित समयको लागि विदेशीलाई दिने प्रावधान रहेको छ । यो प्रावधानले विदेशीको सेवा गर्ने प्रस्ट गर्छ ।
यतिबेला रास्वपा सरकारले बोर्डको कार्यकारी प्रमुखमा याङ्की उक्यावलाई नियुक्ति गरेको छ । एचटीपी खबर पत्रकार दिवाकर साहले उक्यावको कार्यालयमा टेबुलमुनि जलविद्युत् परियोजनाका मालिकहरूले रक्सीलगायत उपहार छोडेको फेला पारे । बोर्डका केही व्यक्तिहरूले पत्रकार साहलाई प्रहरी बोलाएर छानबिन गर्नुपर्ने धम्कीसमेत दिएको सञ्चारमाध्यममा सुनिन्छ । रास्वपा सरकारको सुशासन खस्कँदै गएको एकपछि अर्को घटनाबाट पुष्टि भइरहेको छ ।
अर्को एउटा सञ्चारमाध्यमले नेपाली सेनामा दुईपटक र भारतीय सेनामा एकपटक भर्ना असफल भएपछि अञ्जल सुवेदी नामका व्यक्ति घुस खुवाएर नेपाली सेनामा भर्ती भएको र त्यसरी नै घुस उठाएर पाँचपटक सेनामा भर्ती गराएको बोलेको सार्वजनिक भयो । उनले घुस उठाएको रकम काठमाडौँका बलराम ढकाल र अर्जुन भन्नेलाई बुझाउनुपर्ने बताएको पनि सो सञ्चारमाध्यममा सार्वजनिक भयो । सेनामै कार्यरत भनिएको घुस उठाउने व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको पनि सार्वजनिक भयो । रास्वपा सरकारको सुशासन सैनिक भर्तीमा पनि खुस्किने त होइन ?
निजामती, प्रहरी, सेनाको भर्तीमा अनियमितताबारे बरोबर प्रश्न नउठेको होइन । यसअगाडि नेका, एमाले, तत्कालीन माओवादी सरकारले यो घुस काण्डलाई रोक्न सकेनन् भने यतिबेला रास्वपा सरकारमा जताततै घुस काण्ड चर्किरहेको सार्वजनिक भइरहेको छ । लोक सेवा आयोगबाट कर्मचारी छनौटमा पनि यसरी नै घुस चल्ने यस अगाडि सार्वजनिक भएको हो । सरकारमा गएकाहरूले मुख्य मुख्य पदमा आफ्ना मान्छेलाई नियुक्ति दिई जानाजान घुस उठाउन लगाएको त होइन ?
केही विश्लेषकहरू रास्वपा सांसद भएकाहरू प्रहरीको जागिर खान नसकेकाहरूसमेत भएको सार्वजनिक गर्दै छन् । तराई–मधेसमा जसपामा उम्मेदवार मागेका र नपाएपछि रास्वपामा गएर सबका सब सांसद भएको एक विश्लेषकले बताए । हिजो नेका, एमाले, तत्कालीन माओवादीका यसरी सांसद हुँदा मोटाएको होइन सुन्निएको टिप्पणी भएको थियो । यतिबेला रास्वपा पनि सुन्निएको अवस्थामा पुगेको बताइयो ।
पत्रकार पद्म ठकुराठीले नेपालमा पहिलो पटक हेरोइन लागूपदार्थ भित्याउनेमा राजदरबारका हर्ताकर्ता नै भएको बताए । राजदरबारका कतिपय विदेश भ्रमणमा जाँदा झोलाझिम्टी परीक्षण गरिँदैनथ्यो । कानुनमा यस्तो प्रावधान हुँदा राजदरबारकालाई गलत कारोबार गर्न सजिलो भएको थियो । हिजो सरकारमा हुँदा नेका, एमाले, तत्कालीन माओवादीले यस्तै गलत कामलाई प्रश्रय दिए भने यतिबेला रास्वपा गलत काममा लागिरहेको त होइन ?
रास्वपाले १३ मन्त्रालय १०० दिन चलाएर नमुना सरकार देखाउने बताएको थियो । सरकारमा पुगेको ७ महिनापछि पनि रास्वपाले जनताको हितमा केही गर्न सकेन । रास्वपाका प्रधानमन्त्री र मन्त्रीहरूले सल्लाहकारको भिड पालेर बजेट दुरूपयोग गरेको सार्वजनिक भयो । नेका, एमाले, तत्कालीन माओवादीका सरकारको बेला जता हेरे पनि चोरै चोरजस्तो लागेको रास्वपाहरूलाई यतिबेला आफ्नो सरकार युवाको नाममा जताततै असफल भइरहेको छ । रास्वपा सरकारले देशको घाँटी अनुमान गर्न नसकेको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *