भर्खरै :

ब्रिक एन्ड द बुल : द एकाउन्ट अफ हाँडीगाउँ’ किरातकालीन इतिहासको अन्वेषण

ब्रिक एन्ड द बुल : द एकाउन्ट अफ हाँडीगाउँ’ किरातकालीन इतिहासको अन्वेषण

विशेष गरी किरात समुदायले रैथाने प्राचीन सभ्यताकै आधारमा आफ्नो प्रदेशको नामकरण गर्दा नै वास्तविक पहिचानको सम्बोधन हुने ठानेर आवाज उठाइरहेको परिवेशबिच नै राज्यशक्तिले ‘कोसी प्रदेश’ नामकरण गरेपछि त्यसविरुद्ध पूर्वी नेपाल एक किसिमले आन्दोलित भयो ।
आन्दोलनको मागलाई राज्यले कसरी सम्बोधन गर्ला ?
त्यो भविष्यका घटनाक्रमहरूले देखाउने नै छन् ।
तर, सुदर्शनराज तिवारीकृत ‘द ब्रिक एन्ड द बुल : एन एकाउन्ट अफ हाँडीगाउँ, द एन्सिएन्ट क्यापिटल अफ नेपाल’ (सन् २००२) पढ्दै गर्दा बोध हुने यथार्थ हो– मौलिक संस्कृति र सभ्यता बचाएर आएको आदिवासी किरातले इतिहासमा कहिले आफ्नो थातथलोबाट विस्थापित हुनु परेको छ त कहिले अस्तित्वका लागि सङ्घर्ष गर्नुपरेको छ ।
यही प्रसङ्गमा प्राचीन नेपालको राजधानी हाँडीगाउँलाई केन्द्र बनाएर लेखिएको यो सांस्कृतिक पुस्तक पढ्न पाउनुलाई पनि सुखद संयोग मान्न सकिन्छ ।
किरातकालीन ‘अण्डीपृङ’ कालक्रममा कसरी ‘हाँडीगाउँ’ मा कायाकल्प भयो भन्ने रोचक कथा भन्छ, यस किताबले । वास्तुकलाविद् तथा संस्कृति इतिहासविद् सुदर्शनराज तिवारीको ‘टेम्पल अफ द नेपाल भ्याली’ पाठकहरूले बढी रुचाए पनि ‘द एन्सिएन्ट सेटलमेन्ट्स अफ द काठमान्डौँ भ्याली’ इतिहास अध्ययनका दृष्टिले महत्वपूर्ण पुस्तक हो । तिवारीले आफ्नो प्रज्ञाचाहिँ ‘द ब्रिक एन्ड द बुलः एन एकाउन्ट अफ हाँडीगाउँ, द एन्सिएन्ट क्यापिटल अफ नेपाल’ मा खुलेर पोखेका छन् ।
पछिल्लो समय नगर–बस्तीहरूको व्यापक विस्तारसँगै टोल बस्ती र स्थानीय तहको नयाँ नामकरण हुँदै आएका छन् । तर, स्थाननामका लागि स्थानीय समुदायको सहभागिता र स्वीकरणको प्रक्रिया पार गर्नुपर्ने हुन्छ । पुस्तकमा एक प्रसङ्ग छ– ‘पाँचौँ शताब्दीको उत्तराद्र्धतिरका लिच्छवि राजा मानदेवको नामबाट सो ठाउँलाई मानेश्वर भनी पुनर्नामकरण गरिए तापनि सो नाम औपचारिक अभिलेखमा मात्र सीमित रहेको र सर्वसाधारणले पुरानै नामलाई प्रयोग गर्न रुचाएको देखिन्छ । केही समयपछाडि राजा बलवन्तदेवले त्यस ठाउँलाई हरिपुर भनेर दिएको नयाँ नामलाई पनि सम्भवतः अस्वीकार गरिएको थियो । यी नयाँ नामहरूलाई स्वीकार नगरिनुले अण्डीपिमा अण्डीपृङ्गकै रैथाने बासिन्दाहरूको बसोबास कायम रहेको कुरालाई देखाउँछ ।’ भाषिक तथा सांस्कृतिक निधि मानिने स्थाननामको स्रष्टा जनतालाई नै मानिन्छ भने यसलाई जनजातीय रचनात्मक सिर्जनाको परिचायक पनि मानिन्छ । यसको गम्भीर्य राज्यशक्तिले नबुझ्दा कहिलेकाहीँ दुर्घटना हुने गर्छन् ।
हाँडीगाउँ भन्नेबित्तिकै हाम्रो दिमागमा बेथिति या भद्रगोलपूर्ण परिदृश्यात्मक बिम्ब आउन सक्छ, न कि हजारौँ वर्षको सङ्घर्ष र उतारचढावपूर्ण विरासत बोकेको ऐतिहासिक नगरी । गिल्लायुक्त उखानले पनि कतिपय महत्वपूर्ण पक्षबारे हामीलाई निषेधात्मक कित्तामा लगेर बन्दी बनाइदिन्छ । यस्तै नकारात्मक लोकोक्तिको तगारोका कारण कुनै समयको प्रतिष्ठित हाँडीगाउँ लामो समयसम्म बेवास्तामा परिरह्यो । लघु अवधिकै द्रुततर झल्याकझुलुकबाट चकित पर्दै क्षणिक मनोरञ्जनमा बढी रमेर जाँदा इतिहासका गम्भीर पक्ष गुमनाम हुँदै गएको आजको ‘टिकटके’ माहोलमा यस पुस्तकले पातपातमा रमाउनुभन्दा आफ्नो जरालाई बुझ्नु उपयुक्त हुने इतिहाससचेततातर्फ आह्वान गर्छ ।
पुस्तकमा उपत्यकाले युगौँदेखि बोकिआएको सांस्कृतिक यात्रा, वास्तुकला, श्रुतिपरम्परा, जात्रा आदिको ससाना आँखीझ्यालबाट रैथाने मानव इतिहासको विशाल फैलावटलाई चियाउने मीठो प्रयास भएको छ । किरातकालदेखि लिच्छविकालसम्म हाँडीगाउँले आफूलाई राजधानीका रूपमा उभ्याएको भए पनि मल्ल शासनले खुट्टा घुमाएसँगै काठमाडौँ, भक्तपुर र पाटन राज्यको उदय भयो ।
अरु राज्यको चहलपहल बढ्दै गए पनि हाँडीगाउँले आफ्नो आधारभूत विशेषतासहितको स्वरूपचाहिँ कायमै राखेको देखिन्छ । एउटै जाति, भाषा र संस्कृतिलाई मात्रै समग्र नेपाली राष्ट्रियताको ‘फ्रेम’ मा राखेर बुझ्ने–बुझाउने नस्लवादी सोचभन्दा फरक बहुसांस्कृतिकतायुक्त विशाल इतिहास यस भूमिमा रहेको सत्यलाई थप उजागर पनि गरिदिन्छ यस किताबले ।
आधुनिकीकरणका नाममा अचेल अधिकांश बस्तीहरूले आफ्नो पुरानो अनुहारलाई बिर्सिसकेका छन् । गोरखा भूकम्पपछि त गाउँबस्तीको समेत एक किसिमले कायापलट भएको छ । बस्तीहरूले मुखाकृति मात्रै होइन, कतिपय सन्दर्भमा स्वत्व पनि गुमाउँदै गएका छन् । तर, हाँडीगाउँका मूलवासी ज्यापु समुदायले आफ्नो परम्पराको महिमालाई जीवनमूल्त्न्दा ठुलो मानी धान्दै आएका कारण तीव्र आधुनिकीकरणको बेगमा समेत पहिचान पूर्णरूपेण हराएर गएको छैन ।
सांस्कृतिक अध्येताहरू तिनै बचेखुचेका संस्कृतिका पदचाप र सामाजिक मनोविज्ञानका छापलाई पक्रेर विगतको भव्यतालाई अनावृत गर्छन् । लमजुङको तिवारीडाँडाबाट सय वर्षअगाडि काठमाडौँ झरेको ब्राह्मण पुर्खाका सन्तति सुदर्शनराज तिवारी नेवार संस्कृतिकै बिचमा हुर्के–बढेका कारण पनि यहाँका जात्रा, मन्दिर, रीतिरिवाज र किंवदन्तीलाई निकै आत्मसात गरी लेख्न सफल भए ।
धर्मनिरपेक्षताबारे बहस हुँदा एउटा तर्क गरिन्छ– ‘हाम्रो मुलुकले कहिल्यै धर्मयुद्ध बेहोर्नु नपरेका कारण धर्मसापेक्षता भए पनि अरू धर्ममाथि कुनै अन्याय भएको छैन ।’ तर, ‘हाँडीगाउँ’ का केही प्रसङ्गले इतिहासमा यहाँ धर्मयुद्ध भएको निष्कर्ष नजिक पु¥याउँछ ।
तिवारी लेख्छन्, ‘समाजमा व्याप्त धार्मिक विभाजनले गर्दा नै पछि गृहयुद्ध हुन पुगेको सम्भावना प्रबल छ । नरेन्द्रदेवको शासनकालको अन्ततिर उनका अभिलेखहरू हाँडीगाउँमा रहेको कैलाशकुट भवनबाट जारी गरिएका थिएनन्, त्यहाँबाट उनी सर्नुपरेबाट त्यति बेला कुनै जनआन्दोलन चलिरहेको सङ्केत पाइन्छ । कुनै नयाँ दरबारमा नरेन्द्रदेवले अस्थायी रूपमा निवास सर्नु र हाँडीगाउँमा बौद्ध धर्मसम्बद्ध कुनै पनि देवालय÷संरचना नपाइनुबाट सो गृहयुद्धमा नरेन्द्रदेव, जो एक बौद्धधर्मी थिए, लगायत हाँडीगाउँका अन्य बौद्धमार्गीहरूलाई पनि त्यहाँबाट निष्कासित गरिएको देखिन्छ ।’ योबाहेक पनि पुस्तकमा कम्तीमा तीन–चारवटा प्रसङ्गमा धार्मिक गृहयुद्धबारे सङ्केत गरिएको छ ।
यति मात्रै होइन, दरबारभित्रको प्रपञ्च र झैझगडाले उग्र रूप लिँदै–लिँदै धार्मिक गृहयुद्ध मच्चिएपछि विशाल अग्निकाण्ड निम्तिएको र त्यही अग्निकाण्डका कारण प्राचीन समृद्ध सहर करिब–करिब ध्वस्त भएको जनाउ पुस्तकले दिन्छ । सम्भवतः सोही अग्निकाण्डमा यस उपत्यकाका पुरातात्त्विक महत्वका संरचना नष्ट भई इतिहासका अनेकौँ तथ्य बिलाएर गए ।
हरेक दुर्घटनाले केही न केही सकारात्मक अनुभव दिएर गएझैँ उक्त अग्निकाण्डपछि काठमाडौँ उपत्यकाले धार्मिक सहअस्तित्व कायम गर्नुपर्ने गम्भीर बोध गरेको व्याख्या तिवारीको छ । यसैले विविधतापूर्ण समाजमा एक धर्मवादी हठ विषाक्त हुने रहेछ भन्ने पाठ ग्रहण गर्नु आज पनि हितकारी हुनेछ ।
भनिन्छ, ‘इतिहासमा शासकहरूको विजयगाथा नै अभिलिखित हुन्छ ।’ के भुइँमान्छेका सांस्कृतिक इतिहास विस्मृतिकै गर्तमा बिलाएर जान्छन् ? लिखित इतिहासको ‘उन्नत’ परम्परा नभएको आदिवासी जनजातिको समृद्ध सभ्यताको विगतलाई आजको पुस्तासम्म कसरी हस्तान्तरण गर्ने होला ? यो जटिल प्रश्नको उत्तर सरल छैन ।
तर, स्थाननाम, किंवदन्ती, उखान, जात्रा, चाडपर्व, संस्कार, स्थानीय संस्कृतिविद् र मौखिक रचनाहरूसँगको सहकार्यबाटै गम्भीर विश्लेषणमा पुगी ती रैथाने इतिहास पर्गेल्न र सत्यनिकट पुग्न सकिन्छ । प्रशस्त लिखित सामग्रीको प्रयोग गर्दागर्दै पनि अलिखित सामग्रीलाई पनि भरपूर प्रयोग गरिएकाले यस किताबले जनजातीय इतिहास लेखन र अध्ययन गर्न चाहनेहरूलाई समेत मार्ग–निर्देश गर्न सक्छ ।
लेखकले सम्बन्धित समुदायको संस्कृति र शासनकाल निक्र्योल गर्न मूर्ति, मन्दिर, कलाकृति र निर्माण–सामग्रीलाई आधारभूत साक्ष्यका रूपमा अघि सारेका छन् । आर्य र शकहरूले प्रयोग गर्ने वास्तुकलाको इतिहास व्याख्या गर्दै निष्कर्षमा उनले भनेका छन्, ‘किरातहरूले नै काठमाडौँ उपत्यकाका मन्दिरहरूका लागि इँट र काठको संरचना प्रयोग गर्ने कुराको थालनी गरेको हुनुपर्छ भन्ने कुरा लिच्छविकालको पूर्वाद्र्धतिर अस्तित्वमा रहेका दुई विशिष्ट वास्तुकलाको शैलीबाट देखिन्छ ।’ शकहरू पराजित भएपछि पाकेको इँट प्रयोग गर्ने उनीहरूको प्रविधिलाई नकारात्मक छविका रूपमा हेर्दै लोप हुने तहसम्म पु¥याउनु र त्यस प्रविधिलाई आर्यहरूले पुनर्खोज नगर्नुलाई विजेता र पराजितबिचको पहिचान–सभ्यता द्वन्द्वका रूपमा बुझ्न सकिन्छ ।
इतिहासका यस्ता पहेलीपूर्ण गाँठो फुकाउन पुरातात्विक महत्ताका स्थानहरू संरक्षण र अध्ययन गरिनुपर्ने हो । तर, राज्यको उदासीनताका कारण इतिहासका रहस्यहरू कंक्रिटको ‘आधुनिक’ महलमुनि निस्सासिएरै मृतप्रायः छन् । तिवारीको जानकारीअनुसार, सन् १९९१ मा सीताभवनको जग्गामा पौष्टिक आहार कार्यक्रमको भवन निर्माण गर्ने क्रममा ठुलो मात्रामा लिच्छवि अवशेष ध्वस्त पारिए । यस्तै सन् १९९४ मा एउटा निजी व्यापारिक भवनका लागि जग खन्ने क्रममा इँट छापिएको चोकजस्तो सतह भेटिएको र नजिकै अप्रत्याशित रूपमा जयवर्माको मूर्ति भेटिए पनि पुरातात्विक सुपरिवेक्षणबिना खनिँदा उक्त मूर्तिको एउटा हातै हरायो ।
त्यस घटनामा मूर्तिको हात मात्रै हराएन, नेपालको लिखित इतिहासलाई तीन सय वर्षअगाडि सम्भवतः लिच्छविकालको प्रारम्भतिर पु¥याउने प्रामाणिक तथ्यहरू फेला पारिएको पुरातात्विक ठाउँ संरक्षण गर्नुपर्ने राज्यको सुझसमेत हरायो । संस्थागत सुझ निम्छरो हुँदै गएको यस्तो विकराल समयमा पनि व्यक्तिगत पहलबाटै प्राचीन इँटहरू सङ्कलन र अध्ययन गर्ने तिवारीको कदम सम्माननीय छ ।
९९ हजार घरधुरी रहने गरी विशाल नगर पुनर्निर्माण गर्ने राजा धर्मदेवबारे प्रचलित केही किंवदन्तीका आधारमा भन्न सकिन्छ– प्रत्यक्ष÷परोक्ष पितृहत्याको ग्लानिकै कारण मानदेवले ढुङ्गेधाराहरू निर्माण गराएका थिए । रोचक किंवदन्तीहरूले इतिहासमा दरबारिया हत्याहरूलाई धार्मिक वा ऐतिहासिक सौर्यको खोल लगाइदिने गरेको आशङ्कालाई बल दिन्छन् ।
मानदेव राजा हुनेबित्तिकै किरातहरू सम्मिलित विद्रोह दबाउनुपरेको, लिच्छविकालमै मानदेवको शासनकाल ‘समृद्ध’ मानिएको र समग्रमा राजपरिवारको गरिमालाई उच्च राखी जनस्तरमै राजतन्त्रप्रति बलियो धार्मिक आस्था जगाउनुपरेका कारण पनि धर्मदेवको हत्यालाई मानदेवको ‘अज्ञानता’ करार गर्ने किंवदन्तीहरू कथिए होलान् भन्न सकिन्छ । सूचना, प्रविधि, सञ्चार र जनचेतनाको फैलावट रहेको समयमा भएको राजा वीरेन्द्र शाहको वंशनाशबारे आमचासो हुँदासमेत सत्यतथ्य सार्वजनिक नभएको र बाहिर ल्याइएको निष्कर्षलाई जनस्तरबाट अविश्वसनीय ठह¥याइएको निकट विगत हामीसँग छ भने मानदेवको पालामा विभिन्न आख्यानहरू बुनेर धर्मदेवको ‘वीरता’ को गाथा बुनिएन होला भन्ने बलियो आधार छैन ।
वर्षौं–वर्षदेखि काकाकुलजस्तो लाग्ने काठमाडौँ उपत्यकामा उहिले पानीको व्यवस्थापन कसरी गरिन्थ्यो भन्ने कुराको रोचक प्रसङ्ग पुस्तकमा छ । त्यसबेला अनावृष्टि हुँदा वर्षाका लागि पूजाअर्चना गर्ने धार्मिक क्रियाकलाप मात्रै हुन्थेन, वैज्ञानिक प्रविधिको प्रयोग पनि हुन्थ्यो । लिच्छवि राज्यको शक्ति र सम्पन्नतासँगै जनसङ्ख्या पनि बढ्दै गएपछि पिउने पानीको समस्या थपिनु, धार्मिक कारणले ब्राह्मण र किरातहरूको स्नानसंस्कार परिवर्तन भएर पानीको खपत बढ्दै जानु र व्यापक भूस्खलनका कारण नदीको धार परिवर्तन हुनु आदि कारणले उपत्यकामा पानीको माग बढेपछि किरातकालदेखि खाल्डोमा पानी सङ्कलन गरी बस्तीलाई राहत पु¥याउने प्रविधिले पनि बढावा पायो ।
नदी र पोखरीहरूमा लप्सीको गेडा खन्याएर पानी शुद्धीकरण गरी पिउने पानीको चरम सङ्कटलाई टार्ने गरिएको हुन सक्ने तिवारीको विश्लेषण छ । त्यसका लागि उनले यहाँ प्रचलित जात्राहरूको अध्ययन गरेका छन् । पानीमा लप्सीको गेडा र बालुवा राखेपछि धमिलोपन र ब्याक्टेरिया पूर्णतया नियन्त्रण हुने पुष्टि पछिल्लो परीक्षणले गरिसकेकाले विगतको त्यो चलन धार्मिक अन्धविश्वास मात्रै नभएर उन्नत जल शुद्धीकरण प्रविधि रहेको निष्कर्ष पुस्तकमा छ । यस प्रविधिको सहायताले आजको बढ्दो सहरीकरणबिच पानीको उर्लंदो सङ्कटलाई सम्बोधन गर्न सकिएला ।
पुस्तकमा मध्यकालको चर्चित ग्रन्थ ‘सुमतितन्त्र’ बारे लामै चर्चा भए पनि त्यसको उद्धरण र सन्दर्भ उल्लेख छैन । किंवदन्तीहरूलाई पूजाआजा र जात्राहरूबाट ‘क्रसचेक’ गरिने विधि लेखकले अपनाए पनि नास्तिक विचारधाराका पाठकले हिन्दू मान्यतासँग जोडिएको ‘साहित्य’ लाई इतिहासको भरपर्दो साक्ष्य नमानिदिने सम्भावना पनि जिउँदै छ । कैलाशकुट र मानगृहको चर्चा गर्दा लेखककै पूर्ववर्ती पुस्तक ‘द एन्सिएन्ट सेटलमेन्ट्स अफ द काठमान्डौँ भ्याली’ का केही प्रसङ्ग पुनरावृत्त भएका छन् ।
पुस्तकमा सतीप्रथा, जात व्यवस्था र मातृकाप्रथाका केही प्रसङ्ग छन् भने नयाँ संवत् थालनी गर्दा राजाको जन्मोत्सवलाई सन्दर्भ पार्ने चलनको चर्चा चाखलाग्दो छ । साथै, दिइएका सङ्क्षिप्त पर्व–परिचय, तिथिमिति र शब्दावलीले पुस्तकलाई थप पठनीय पारेका छन् । मन्दिर, बाटो, भवनको वास्तुविधान आदिबारे लेखकको बोध र विश्लेषण क्षमताबाट पाठक नतमस्तक हुन्छन् नै ।
यस पुस्तकले सुदर्शनराज तिवारीसँग भएको संस्कृति, कला र इतिहाससम्बन्धी ज्ञानको गहिराइ मात्रै देखाउँदैन, भावी अध्येताका लागि सम्भावित अनेक पाटा र बाटाहरूसम्म पुग्ने एउटा उज्यालो ढोका खोलिदिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *