यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
यथार्थवादका बारेमा सबभन्दा बढी भ्रान्त धारणा त्यसलाई अन्तर्वस्तुको सट्टा रूपको सवाल ठान्नुमा रहेको छ । रूपवादको यस प्रवृत्तिले यथार्थवादको प्रश्नलाई जति दिग्भ्रमित पारेको छ, त्यति अरू केहीले पनि पारेको छैन । यस गलत दृष्टिका कारणले यथार्थको सम्पूर्ण धारणालाई विकृत बनाएको छ । झट्ट हेर्दा कुनै कृति यथार्थवादी लाग्न सक्छ तर त्यसको यथार्थसित गहिरो सम्बन्ध रहेकै हुन्छ भन्ने केही छैन । यथार्थवादको मानदण्ड लेखकद्वारा चयन गरिएको विशिष्ट शैली वा रूप नभएर सामान्य वा विशिष्ट रूपमा गहिरोसित वस्तुगत सत्य पत्ता लगाउनु हो । सतहमा लगाइएको चमकले पाठकलाई धोखा दिन सक्छ तापनि त्यो सहायक नभएर बाधक नै हुन्छ ।
ध्वनिसङ्केतलाई बुझ्न सक्षम कान पनि यथार्थवादको प्रकृतिलाई बुझ्न सक्ने साधन हुन सक्तैन । उदाहरणका लागि – अमेरिकी साहित्यमा ध्वनिसङ्केतलाई बुझ्ने क्षमतामा जेरोम वीडम्यानलाई कसैले उछिन्न सक्तैन । आफूले सुनेको कुराकानीको वेग मात्र होइन, त्यसको अन्तर्वस्तुलाई पनि जस्ताको तस्तै पुनरुत्पादन गर्ने खुबी उनमा असाध्यै छ । तर, उनी यथार्थवादी भने होइनन् । उनको लेखन मानवप्रतिको गहिरो घृणाबाट परिचालित नकारवाद र निम्न स्तरको निराशावादबाट ग्रस्त छ । उनको पुस्तक म तिमीलाई यो थोकमा दिन सक्तछु यहुदीविरोधी छ र मजदुरवर्गप्रति एकदमै घृणाले भरिपूर्ण छ । त्यसमा वर्णन गरिएको न्युयोर्कको वस्त्र उद्योगको चित्र पनि सत्त्न्दा धेरै टाढाको छ ।
यस्तै खालको सतही ‘यथार्थवाद’ बड्ड शलबर्गको सेमी किन दगुर्यो ? ‘तिनीहरू झन् जोडले पछारिन्छन्’ शीर्षकका पुस्तकमा फेला पर्दछ । दुवै किताबमध्ये कुनैमा पनि लेखकले आफ्नो विषयको सत्यतालाई जान्ने र परीक्षण गर्ने वास्तविक प्रयत्न नै गरेको छैन । पहिलो पुस्तकमा वीडम्यानले जस्तै उनले पनि यहुदीविरोधी सडेगलेको बाटो अपनाए । तर, उनले अलिकति आंशिक रूपमा पनि हलिउडका ती सामाजिक तथा आर्थिक शक्तिहरूलाई समात्न सकेनन्, जसको राम्रो चित्रण एफ. स्कट फिजेराल्डको अपूर्ण पुस्तक ‘अन्तिम उद्योगपति’ मा भएको छ । फिजेराल्डले यी शक्तिहरूको चित्रणमा शलबर्गको जस्तो कुनै चालबाजीको आड लिएनन् । उनको प्रक्रिया दमनको होइन, प्रगतिको थियो र यसअघिका रचनाहरूभन्दा अघि बढेर उनले विकास गरे तथा स्वयम्मा परिवर्तन ल्याए । यहुदीको चित्रण चलनचल्तीको परिपाटीमा नगरेर एक मानवको रूपमा गरे । आफ्नो अर्को उपन्यासमा शलबर्गले लडाइँका विषयमा लेखे । तर, फेरि पनि उनी सतहमा नै बगे र सरल र प्रस्ट रूपलाई मात्र पक्रन सके । पुँजीवादको कुनै पनि अभिव्यक्तिमा सबै मानिसहरूलाई प्रभावित गर्ने मूल शक्तिहरू र तिनको द्वन्द्व सामेल हुन्छ भन्ने तथ्यलाई उनले बुझ्न सकेनन् ।
यहाँ के भन्नु आवश्यक छ भने खोक्रोपनलाई ढाक्ने उपायका रूपमा तथा अन्तर्वस्तु र समझको विकल्पको रूपमा जहाँ पनि रूप वा प्रविधि वा शैली आदिको प्रयोग भएको छ त्यहाँ स्वयम् रूप विघटित भएको हुन्छ । इर्विन शाको लेखनमा यस कुरालाई प्रस्ट रूपमा देख्न सकिन्छ । इर्विन त्यस्ता लेखक हुन् जसले लामो समयसम्म पर्याप्त मात्रामा लेखेका छन् र जसले कहिल्यै पनि यथार्थलाई बुझ्न नसकेको एउटा रिकर्ड नै स्थापित गरेका छन् । सत्यता र इमानदारीको नाटक ‘मरेकालाई जलाइदेऊ’ बाट प्रारम्भ गरेर ‘ब्रेमनपारिको माफी’ कथासम्म पाशविक खतराहरू र फासीवादी यथार्थको सामना गर्दा पनि शाले के आविष्कार गरे भने रित्तोपनमा उनका सतर्क कान र उनको शैलीगत शक्तिले धेरै नै काम दिन्छन् । उनको कलमबाट धेरै–धेरै कथाहरू, धेरै–धेरै नाटकहरू र अन्तमा युद्धका बारेमा एउटा ठुलो उपन्यास लेखियो । तर, अन्तर्वस्तु जति जति बढी नै खोक्रो हुँदै गयो त्यत्ति नै तीव्रताका साथ शैलीको कवच पनि भाँचियो । आम जनताका बारेमा कुनै गहिरो समझदारीबाट नलेखेको कारणले शाका लागि वास्तविक जनताको कुराकानी, तिनका आशाहरू र डरलाई ग्रहण गर्न पाउनु अधिकाधिक कठिन भयो । यो ज्यादै दुःखदायी र लज्जाजनक कुरो किन हो भने अल्बर्ट माल्जले चर्चा गरेजस्तै शासित महान् प्रतिभा, अनुभूति र सक्षम संवेदनशीलता छ । यत्ति मात्र होइन, यदि शाले आफ्नो संसारको यथार्थलाई समाएनन् भने उनी पनि स्टेनब्याक हिँडिरहेकै बाँझो बाटोमा लम्कनेछन् ।
अन्तर्वस्तु र शैलीको एकताको सवाल यथार्थवादको सबभन्दा गा¥हो पक्ष हो । यसमा विकृतिकरणको पर्याप्त सम्भावना छ किनभने अन्तर्वस्तुले आफसेआफ शैली वा रूप प्रदान गर्दछ भन्ने कुरा सही होइन । त्यसो त इर्बिन शा भाषाका मर्मज्ञ हुन् । तर, प्राविधिक कुशलता कला होइन र केवल त्यसबाट राम्रो रचनाको निर्माण हुन सक्तैन । तर, यो पनि त्यत्तिकै साँचो हो, प्राविधिक कुशलताको अभावमा राम्रो लेखन सम्भव हुँदैन । के पनि साँचो हो भने समझको जस्तै प्रविधिको पनि अनेक स्तर हुन्छन् । दुवैको उच्चतम सम्मिश्रणलाई नै प्रतिभा भनिन्छ ।
माक्र्सवादी रूपलाई अस्वीकार गर्दैनन् किनभने त्यसो गर्नु भनेको कलाकै अस्वीकार हुनेछ । हामी केवल अन्तर्वस्तुको विरोधमा रूपलाई उभ्याउने, रूपको आदर्शीकरण गर्ने, असमजदारीका कारण त्यसलाई पुज्ने र रूपवादी सम्प्रदायको निर्माण गर्ने कुराको विरोध गर्दछौँ । यी सबैलाई हामी पूर्णतः र प्रस्ट रूपले अस्वीकार गर्दछौँ । हाम्रो मान्यता के छ भने अन्तर्वस्तुबाट अलग रूप त्यसरी नै वैध हुन सक्तैन जसरी मानिसको अन्तरको अभावमा मानिसको छालाले जीवित रहेर सास फेर्न सक्तैन ।
पुँजीवादी साहित्यले सधैँ नै रूपको पृथक अस्तित्व हुन्छ भन्ने विचारलाई सम्मान गरेको छ । पुँजीवादी साहित्य प्रारम्भदेखि नै रूपलाई अन्तर्वस्तुबाट अलग मान्ने दिशामा हिँडेको छ । यस्तो नभएको भए विगत दुई सय वर्षहरूको अवधिमा पुँजीवादी साहित्य ¥हासको अवस्थाबाट गुज्रने थिएन । जुन सचेत लेखकले यथास्थितिबाट बाहिर निस्केर आफ्नो समयको यथार्थलाई समाते केवल उनीहरू नै यो ¥हाससित लड्न सके र यसबाट बच्न सके । पुँजीवादी कला तथा साहित्यमा शास्त्रीयताको सम्पूर्ण अवधारणा र परम्परा त्यसको निरन्तर रूपवादतिर बढ्नुको प्रमाण हो । यसमा सदा शासकवर्गबाट प्रेरणा र सहायता मिलेको छ । शास्त्रीयताविरोधी थुप्रै आन्दोलनहरूको परिणति रूपवादमा भएको तथ्यबाट यस सत्यलाई नकार्न सकिँदैन । आजको ‘यथार्थवादी धारा’ को प्रारम्भ दोस्रो दशकमा रूपवादविरोधी विद्रोहबाट भयो । यसको यति व्यापक रूपमा रूपवादी हुनु प्रतिक्रियावादको दबाब धेरै बढी थियो भन्ने कुराको प्रमाण हो । फेरि पनि गत दस वर्षहरूमा अङ्ग्रेजी र अमेरिकी साहित्यको जति तीव्र पतन भएको छ, त्यति इतिहासमा पहिले कहिल्यै भएको थिएन† यति त स्वीकार गर्नै पर्दछ ।
प्रतिक्रियावादीहरूको कुनै सांस्कृतिक मन्त्रिमण्डल रूपवादका प्रवृत्तिहरूका बारेमा बैठक गरेर निर्णय लिन्छ भनेर कल्पना गर्नु केटाकेटीपन हुन्छ वा प्रतिक्रियावादीहरूको ठुलो सङ्ख्याले रूपवादका समस्याहरूलाई बुझ्दछ होला भन्ने कल्पना गर्नु । रूपवादको स्वागत गर्न र यथार्थवादसित घृणा गर्नका लागि यस्तो कुनै समजझदारीको आवश्यकता छैन । स्वयम् जीवनले नै यसका लागि पर्याप्त शक्ति र समज्दारी जुटाइदिन्छ । एकपटक पुँजीपतिवर्ग सत्तामा आएपछि रूपवाद उनीहरूका निम्ति खतरा बनेन । तर, त्यो सत्तामा आएपछि एउटा त्यस्तो सर्वहारावर्गको निर्माण भयो, जसले त्यसको विनाश गर्नेछ । त्यसैले यथार्थवाद उसका निम्ति खतरनाक भयो । जति–जति समाजवादका शक्तिहरू बढ्छन् त्यति त्यति यथार्थवादको खतरा गम्भीर हुँदै जान्छ । त्यसैले, यसमाथि प्रतिबन्ध लगाउनु पनि आवश्यक हुन्छ । ‘नयाँ कविता’ मा होस् कि सबभन्दा बढी बिक्ने नयाँ पुस्तकमा होस् वा हलिउडका फिल्महरूमा रूपवादले गतिलाई मन्द बनाउने कार्य गर्दछ । रूपवाद निरन्तर जीवनबाट टाढा जान्छ, जनताको प्रतिरोधलाई कम बनाउँछ† उसलाई दिग्भ्रमित गर्दछ र कलालाई नष्ट गरेर सत्यको प्रवृत्तिलाई जान्ने जनताका प्रयासहरूका प्रमुख हतियारलाई नै नष्ट पार्दछ । फासीवादको बाफ ओकल्ने कलाको बन्द पोखरीका बारेमा रबर्ट हिलयेरको आश्चर्यको उत्तर यही हो ।
यथार्थवाद केवल साहित्यिक गतिविधिको मात्रै मामिला होइन । यदि त्यस्तो हुन्थ्यो भने कलाकार र नागरिक दुई अलग–अलग वृत्तमा रहन्थे र त्यतिखेर यथार्थवादको सम्पूर्ण सवाल एकदमै अर्थहीन बन्न पुग्थ्यो । कलाकार थोरोलाई नागरिक थोरोभन्दा पृथक कल्पना गर्न सकिन्न किनभने एक अर्काको समीकरण हो । ब्रियन्ट, एमर्सन, हिटम्यान, लन्डन, युवा सिन्क्लेयर, फ्राङ्क नोरिस, वाचेल लिन्डसे आदिका बारेमा यही भन्न सकिन्छ । रूपवादको प्रकृति नै कस्तो छ भने यो निश्चित रूपमा कलाकारलाई नागरिकबाट पृथक गर्दछ । नागरिकका नैतिक वा शारीरिक समर्पणबाट अर्काको मृत्यु पनि अनिवार्य हुन्छ ।
तेस्रो दशकका एरस्किन कडवेलका बारेमा गर्वका साथ कुरा गर्न सकिन्छ । आफ्ना केही कमीकमजोरीका बाबजुद ईश्वरको सानो एकड एउटा अद्भूत पुस्तक हो । कडवेल सर्वहारा सङ्घर्षमा पूर्णतया सहभागी थिए । प्रगतिशील आन्दोलनबाट पृथक रहेर यस्तो पुस्तक लेख्नु सम्भव नै थिएन । यसमा कलाकार र नागरिकमा एकता थियो र दुवैको यथार्थवादमाथि नियन्त्रण थियो र यसैको कारणले गर्दा अन्तर्वस्तु र रूपको सुन्दर सम्मिश्रण भयो । झन्डै त्यही समयमा कडवेलले हाम्रो साहित्यको सबभन्दा प्रभावशाली कथा ‘क्यान्डीम्यान बिचम’ लेखे । यो एक हब्सी मजदुरको कथा हो, ऊ साप्ताहिक वेतन पाएपछि आफ्नी प्रेमिकासित रमाउन र एक–दुई घुट्को रक्सी धोक्न दक्षिणको एउटा सहरमा आउँछ । कडवेल एकदमै दक्षताका साथ यस मानिसको ओजस्विता र जीवनका खुसीहरूको वर्णन गर्दछन् । ऊ सहरमा आउँछ, एक पेग रक्सी किन्छ तर बिना कुनै कारण सहरको मार्शलले उसमाथि गोली हान्दछ । क्यान्डीम्यान बिचमा भुइँमा भयानक र कालबिनाको मरणमा पल्टिरहेको अवस्थामा ऊभित्रबाट जीवनको शक्ति अन्तिम विजयको विश्वासबाट छानिएर बाहिर आउँछ । आफ्ना मानिसहरूको बढ्दो शक्तिबाट एकात्मकता, आशाहीनतामा पनि आशा । यो यथार्थवादको सचेतन र प्रतिभाशाली प्रयोग हो । बिना कुनै उपदेशात्मकता वा रूढि, यहाँ थोरै पङ्क्तिहरूमा नै हब्सीको दमनको वरिपरि कडवेल एक महान् प्रतिभाका लेखक बनिरहे र उनले शैली र रूपको महानतम शिखर चुमे । आज सहज प्रसन्न हुने पुँजीवादी आलोचक उनको शैली तथा रूपको प्रशंसा गरेर थाक्तैनन् । कडवेलको लेखनक्षमता टिन ठटाउनुको सट्टा महत्वपूर्ण लेखन चाहन्छन् भने उनले आजको नयाँ यथार्थलाई समाउनुपर्नेछ ।
यथार्थवाद र सतही यथार्थवादका बिचको एउटा मुख्य अन्तर के हो भने पहिलो सङ्घर्षको परिणाम हो भने दोस्रो सङ्घर्षबाट पलायनको परिणाम हो । राम्रोभन्दा राम्रो समयमा पनि सत्य कुनै पाकेको फलजस्तो जोसुकैले टिपोस् भनेर प्रतीक्षा गर्दै झुन्डिएर रहेको वस्तु होइन । सत्यका लागि जुनसुकै समाजमा सदा सङ्घर्ष गर्नुपर्ने हुन्छ । मात्र सङ्घर्षका रूप बदलिने हुन् । आज एक लेखकले यथार्थसित सही अर्थमा द्वन्द्व गर्ने पर्दछ । किनभने बुर्जुवा यथार्थवाद केही समयअघिसम्म सम्भव थियो, अब त्यो अत्यन्त सीमित हुँदै गएको छ । समाजवादी यथार्थवादको एउटा नयाँ साहित्यिक शक्ति आज विश्वमा अस्तित्वमा छ । यसको अवश्यम्भावी परिणाम हुनेछ एउटा त्यस्तो नयाँ साहित्य, जुन एक नयाँ विश्वदृष्टिबाट जन्मनेछ र नयाँ मानदण्डहरूबाट परीक्षण गरिनेछ ।
अहिले समाजवादी यथार्थवाद प्रारम्भिक चरणमा छ । सबै कुराजस्तै जन्मने प्रक्रियामा यस नयाँ बिरुवाको एउटा सानो टुसो पलाएको मात्र देखिएको छ । तर, फेरि पनि यसको परीक्षण आवश्यक छ, किनभने यो बीउमा आगामी भोलिको विशाल वृक्ष लुकेको छ ।
+++
नयाँ युग आउनासाथ यथार्थवादका सीमाहरू विस्तारित हुन्छन् । स्वयम् जीवन मात्र समृद्ध र व्यापक नभएर साहित्यले पनि आफूलाई हरेक उपायले गहिरो र फराकिलो बनाउँछ । तर, अतीतका हरेक युगमा गहिराइ र व्यापकताको यो प्रक्रिया ती विशेष समाजहरूका सीमाहरूबाट प्रतिबन्धित भएको छ । अतीतमा जुन आर्थिक बन्धनहरूले मानिसलाई बाँधेका थिए (र धेरैलाई आज पनि बाँधेकै छ) तिनै बन्धनहरूले साहित्यिक उत्पादनलाई पनि बाँधेका थिए ।
केही मात्र सरल उदाहरणबाट यो कुरो प्रस्ट हुनेछ । जहिलेसम्म मानिसको खानाको खोजी त्यो बिन्दुसम्म पुग्न सकेन, जहाँ केही अतिरिक्त जोगिन्थ्यो, जहाँ वर्गहरूको निर्माण हुन सक्थ्यो, जहाँ अरूहरूको श्रमको भरमा केही मानिसले आराम लिन सक्थे, त्यतिखेरसम्म अक्षरको निर्माण हुनु सम्भव नै थिएन । त्यसैले कुनै लिखित साहित्यको सम्भावना पनि थिएन । हामीले आर्थिक र राजनीतिक विकासका साथै साहित्यिक रूपहरूको जन्म भएको देखेका छौँ । नाटक अस्तित्वमा आउनका लागि एउटा उच्च स्तरको समाज अस्तित्वमा आउनु आवश्यक थियो, किनभने यो एउटा त्यस्तो जटिल साहित्यको रूप थियो, जुन यसअघिको सरल समाजको सट्टा बढी जटिल सामाजिक संरचनामा निर्भर थियो । उपन्यासले त पुँजीवादकै प्रतीक्षा गर्नुप¥यो किनभने यसका लागि आवश्यक साधन अरू कुनै व्यवस्थाले उपलब्ध गराउनै सक्तैनथ्यो । यसका लागि आवश्यक थियो ठुलो सङ्ख्यामा पुस्तकहरू छाप्ने छापाखाना, त्यसलाई पढ्ने हजारौँ सङ्ख्यामा शिक्षित मानिसहरू, मानिसको स्वतन्त्र, आत्मनिर्भर र संसारकै मालिक हुने धारणा, जो त्यसको नायक बन्न सकोस् ।
त्यसैले कलाकारको अस्तित्व पनि कहिल्यै समाजका सीमाहरूबाट पृथक रहेन । होमरको सम्पूर्ण प्रतिभाले नाटकको रूप लिनै सक्तैनथ्यो किनभने रङ्गमञ्च सम्भव नै नभएको समयमा उनी जन्मेका थिए । उनको सोचलाई, उनको विश्वदृष्टिलाई, यथार्थको प्रकृतिलाई बुझ्ने उनका साधनहरूलाई उनको समयले सीमित बनाएको थियो । उनी कल्पनाको उडान त भर्न सक्थे, तर त्यो पनि यही सीमाभित्र मात्र ।
बुर्जुवा यथार्थवाद र समाजवादी यथार्थवादमा मूल अन्तर पनि यसैको कारणले छ । एउटा कठोर सीमाहरूमा आबद्ध छ भने अर्को अनन्त सम्भावनापूर्ण छ । फेरि के कुरो दोहो¥याउनु आवश्यक छ भने यो पार्टी वा राजनीतिक प्रतिबद्धताको सवाल होइन, बरु व्यापक अर्थमा दृष्टिकोण र प्रत्यक्ष ज्ञानको सवाल हो ।
एक अमेरिकी त्रासदीमा ड्रेजरले अमेरिकाको दोस्रो दशकमा मध्यवर्गीय जीवन र नैतिकताको विश्लेषण गरेका थिए । यो पुस्तक उनले अनन्त धैर्यका साथ लेखे, यो उनका रचनाहरूको विशेषता नै हो । एक सतर्क दृष्टिले विस्तृत वर्णन गरे, यस्तो अन्य कुनै अमेरिकी लेखकमा पाइँदैन । यसमा जनताप्रति गहिरो निष्ठापूर्ण प्रेम छ र तिनका कमजोरीप्रति सहानुभूति पनि प्रस्ट छ । तर, यी सबै गुण भएर पनि ड्रेजर आफ्नो मूल प्रत्ययवादी दृष्टिकोणका बन्धनहरूबाट मुक्त हुन सकेनन् । उनले मध्यमवर्गको चित्रण गरे, त्यसको परीक्षण गरे, तिनको आत्मालाई ढाकछोप गर्ने धनलोलुपताका क्षुद्र तहहरूलाई पनि अनावरण गरे, तिनका जीवनको दुःखकष्टहरूको कारणलाई पनि उल्लेख गरे । तर, उनले तिनलाई ऐतिहासिक रूपले चित्रित गर्न सकेनन्, तिनलाई एउटा वर्गको रूपमा स्थापित गर्न सकेनन्† उनी अतीत र भविष्यको व्यापक सत्यलाई आफ्नो समकालिक यथार्थसित गाँस्न असमर्थ भए । यसरी उनको रचना सीमाबद्ध हुन पुगे ।
तर, यसबाट उनको महत्ता कम नभएर बढ्छ नै । वर्गीय समाजमा सबै महान् कलाकारहरूलाई प्रमिथससित दाँज्न सकिन्छ । बन्धनहरू हुँदाहुँदै पनि उनीहरूले सङ्घर्ष गरे र विषयासक्तिमा बाँध्ने सीमाहरूका विरुद्ध आफ्नो प्रतिभालाई लगाए । स्पार्टाकसको अनुगमन गर्ने स्वतन्त्रताका भोका दासहरूसरह निरन्तर उनीहरूले आफ्ना समयका साँघुरा सीमाहरूलाई भत्काए । तर, पटक–पटक उनीहरूले जुन भविष्यको सपना देखेको हो त्यो अझै अपरिभाषित छ भन्ने मात्र पत्ता लगाए ।
तर, आज त्यो भविष्य अस्तित्वमान छ र समाजवादी यथार्थवादको थालनीलाई देख्न सकिन्छ । हरेक थालनीको जस्तै तिनको सङ्ख्या अहिले कम नै छ र अझै सही तरिकाले सङ्गठित पनि छैन । यस भारीलाई बोक्न पुराना वाहन उपयुक्त छैनन् । तर, तत्काल अर्को वाहन नभएकाले पुरानो वाहनलाई उपयोग गर्नुपर्ने बाध्यता छ ।
आज समाजवादी यथार्थवादलाई अँगाल्ने लेखकहरूले संसारलाई त्यसको परिवर्तनको सम्पूर्ण प्रक्रियामा हेर्दछन् । मानव आज वर्गसमाजको उत्पादन मात्र होइन, समाजवादी समाजको पनि उपज हो । भूत, वर्तमान र भविष्य केवल एक संसारमा मात्र उपस्थित छैन, त्यो एउटै राष्ट्रमा पनि उपस्थित छ । देश र कालको अन्तर्सम्बन्धले सम्पूर्ण जीवनलाई क्रिया–प्रतिक्रियाको एकाइमा गाँसिदिन्छ । यसको कुनै अपवाद छैन र यसको कुनै यान्त्रिक परिभाषाहरू पनि छैनन् । सर्वहारा साहित्यले केबल सर्वहारालाई मात्र विषयवस्तुका रूपमा चयन गर्दैन (यस्तो प्रस्ताव तेस्रो दशकमा केही सङ्कीर्णतावादीहरूले राखेका थिए), बरु सर्वहारा विश्वदृष्टिले समग्र संसार र त्यसका सम्पूर्ण अनुभवलाई आफ्नो साहित्यको सामग्री मान्दछ ।
लेखनको सामग्रीले कुनै बन्धनलाई स्वीकार गर्दैन । समाजवादी यथार्थवाद नयाँ मानदण्डहरूको प्रयोग गर्दछ र यी नयाँ मानदण्डहरू नयाँ नैतिकताका आधारमा निर्माण गरिन्छन् । यसले मानिसलाई समुन्नत जीवनतिर उन्मुख गराउँछ, मानवका दुःखहरू कम गराउँछ । समस्त कष्टहरूबाट मुक्तिको कामना गर्दछ । यसले डर, असुरक्षा, निर्दयता, जनहत्या, भोक, रोग र शोषणबाट मुक्ति चाहन्छ । तर, यी कुराको समाप्ति गर्ने आकाङ्क्षाबाट जुन नीतिशास्त्र निर्माण हुन्छ, त्यो कुनै आदर्शवादी, मानवतावादी शुभाकाङ्क्षा होइन, बरु कारबाहीका लागि एउटा व्यावहारिक खाका हो । मानवताको उद्धार कुनै अर्को संसारमा होइन, तर यही संसारमा नै हुनेछ ।
यी कुराहरूबाट सम्पूर्ण अस्तित्वको पुनर्परीक्षा गरिन्छ । सम्पूर्ण अतीत एवं इतिहासको पुनर्मूल्याङ्कन र पुनर्परीक्षण हुनु आवश्यक छ । कसाईलाई नायक, मूर्खलाई सन्त, दलाललाई पूज्य, कायर वर्ग–नोकरलाई दार्शनिक बनाउने पुरानो पद्धतिलाई आज पटक–पटक ध्वस्त पार्नु आवश्यक छ । जुन अन्धराष्ट्रियताबाट हाम्रो सम्पूर्ण संस्कृति ओतप्रोत छ, त्यसलाई अवश्य नै अनावरण गर्नुपर्दछ । यो मानवमाथि मानवको शोषणको विचारधारात्मक हतियार हो ।
एउटा नयाँ किसिमको मानवतावादको आधारमा नयाँ मानदण्डहरू विकसित गरिनुपर्दछ । म्याक्सिम गोर्कीका गगनभेदी शब्दहरूमा ः
‘क्रान्तिकारी सर्वहाराको मानवतावाद एकदमै प्रस्ट छ । यसले मानवताप्रति प्रेमका सुन्दर शब्दहरूको वाग्जाल निर्माण गर्दैन । यसको लक्ष्य सम्पूर्ण संसारका सर्वहारालाई पुँजीवादको लज्जाजनक, रक्तरञ्जित, उन्मादपूर्ण दासत्वबाट मुक्त गर्नु हो र मानिसलाई आफूलाई खरिदबिक्री गरिने माल वा भोगविलासमा लिप्त मानिसहरूको विलासको कच्चा माल नठान्न शिक्षा दिनु हो । पुँजीवादले संसारलाई त्यसरी नै बिगार्दछ जसरी कुनै असमर्थ बूढो मानिसले कुनै युवा स्वस्थ महिलालाई बिगार्छ र सट्टामा गर्भाधान होइन, वृद्धत्वको रोग दिन्छ । सर्वहारा मानवतावादले प्रेमको सङ्गीतमय घोषणाहरूको माग गर्दैन, त्यसले प्रत्येक मजदुरबाट आफ्नो ऐतिहासिक दायित्वप्रति, सत्तामाथि उसको अधिकारप्रति सचेतताको अपेक्षा गर्दछ । … विषयलोलुप, परजीवी, फासिस्ट, हत्यारा र सर्वहारावर्गलाई धोका दिनेहरूप्रति तीव्र घृणाको अपेक्षा गर्दछ । यसले ती मानिसहरूप्रति घृणाको अपेक्षा गर्दछ, जो दुःखकष्टका कारण हुन् र जो हजारौँ–लाखौँ मानिसहरूका दुःखकष्टमा पल्लवित भएका छन् ।’
नयाँ मानदण्डहरूको यही कसी हो, आजको संसारमा यथार्थवादलाई अँगाल्ने लेखकहरूले यसलाई अवलम्बन गर्नुपर्ने हुन्छ ।
+++
साहित्यको वर्गआधारलाई नकार्नु एकदमै वाहियात कुरो हो । तर, आज अमेरिकाका अधिकांश आलोचकहरू यही काम गरिरहेका छन् । यसलाई बुझ्न गा¥हो छैन । किनभने, आजको अमेरिकी प्रतिक्रियावादको मुख्य प्रचारको दिशा सामान्यतः समाजको वर्गीय आधारलाई र विशेषतः अमेरिकाको मजदुरवर्गको अस्तित्वलाई नकार्नु रहेको हामी देखिरहेका छौँ । आफ्नो यस अशिष्ट समाजमा हाम्रा आलोचकहरूले कहिल्यै पनि स्वतन्त्र विचारलाई अँगालेनन् । आज उनीहरूले त्यसो गरेको खण्डमा त्यो अचम्मको कुरो हुनेछ ।
अमेरिकाको आलोचना–साहित्यले स्वीकार गरोस् कि नगरोस्, अमेरिकी साहित्य वर्गसाहित्य हो । अमेरिकी साहित्यको सम्पूर्ण इतिहासमा सर्वहारावर्गबाट आएका दुई जनामात्र महत्वपूर्ण लेखकहरूलाई म जान्दछु । यी दुई लेखक पनि प्रयास र महत्वाकाङ्क्षाहरूका चमत्कार हुन् । कुलमा आम अमेरिकी लेखक मध्यमवर्ग वा निम्न–मध्यमवर्गबाट आउँछ र आफ्नो वर्ग र संस्कृतिबाट नियन्त्रित हुन्छ । उसको निजी रचनाको अर्थनीति ऊ जुन समाजबाट आएको हो त्यसैको भागका लागि निर्माण गर्दछ । सचेत रूपले सर्वहारावर्गमा सामेल भएका केही अपवादलाई छाड्ने हो भने यी तथ्य यति प्रस्ट छन् कि तिनको पुनरावृत्ति गर्नु केटाकेटीपन हुनेछ । तर, यो कुरो जति प्रस्ट भए तापनि यसलाई अस्वीकार गरिन्छ । यस अस्वीकारको कारण यथार्थवादको सबै मामिला धमिलो र अन्योलपूर्ण हुन पुग्छ ।
यसलाई प्रस्ट पार्न ब्रिटिस प्रकाशन ‘दि मोडर्न क्वार्टर्ली’ मा प्रकाशित प्रा. जे.डी. बर्नालको लेखको उद्धरण दिन चाहन्छु । प्रा. बर्नाल भन्दछन् ः
‘विज्ञान आन्तरिक राजनीतिक रूपले निरपेक्ष हुन्छ र जुनसुकै उद्देश्यले अन्वेषण गरे तापनि तथ्य तथ्यहरू नै हुन् भन्ने कुरो गएगुजे्रको भनाइ हो । तर, विज्ञानको इतिहासले हामीलाई के भन्दछ भने यो विज्ञानको विस्तृत कार्यनीतिमा मात्र सत्य हो । तथ्यहरूका माझको अन्तर्सम्बन्ध, तिनको महत्व र प्रवृत्तिलाई नियन्त्रित गर्नका लागि तिनको सम्भावित उपयोग विज्ञानका सिद्धान्तहरूमाथि निर्भर हुन्छ । यी प्रायः पूर्ववर्ती युगका दार्शनिक र धार्मिक परम्पराहरूबाट सामग्री लिएर विद्यमान आर्थिक तथा राजनीतिक स्थितिको सङ्गतिमा अचेतन रूपले ढालिन्छन् । स्वयम् वैज्ञानिक कि शासक वर्गबाट आउँछन् कि त ती शिक्षा प्राप्त गरेर त्यसैमा समावेश भएका हुन्छन् । आज पनि इङ्ग्ल्यान्डमा प्रमुख शोधकर्ताहरूको सानो हिस्सा मात्र मजदुर परिवारबाट आउँछ । तर, महादेश र क्रान्तिपूर्वको रूसमा विज्ञान र संस्कृतिबाट सुसज्जित बुद्धिजीवीहरूको एउटा त्यस्तो बन्द वर्ग थियो, जो आफूवरिपरिका मानिसहरू र तिनको जीवनबाट पूर्णतया काटिएको थियो ।’
यो जति विज्ञानका बारेमा सत्य छ त्यत्तिकै साहित्यका बारेमा पनि । इङ्ल्यान्डको तुलनामा अमेरिकाको स्थिति अलिक उदार भए तापनि बर्नालको निष्कर्षहरूमा यसले धेरै फरक पार्दैन । यथार्थको बाटो खुला वा आकर्षक, ठीकसित रेखाङ्कित गर्दा झलमल राजमार्ग होइन । यो मनका लागि एउटा नयाँ सीमान्त हो, एउटा त्यस्तो रोमाञ्चक र चमत्कारपूर्ण सीमान्त, यस्तो संसारले यसअघि कहिले पनि जानेकै थिएन । यसका साथै यो एउटा त्यस्तो सीमान्त हो, जसको माझबाट सङ्घर्ष गर्दै लेखकले आफ्नो बाटो निर्माण गर्नुपर्ने हुन्छ । यस्तो उसले दृढ साहस र विश्वासले मात्रै गर्न सक्तछ ।
सन्दर्भ र टिप्पणीहरू
१. ह्यारी हेउड : निग्रो लिबरेसन, न्युयोर्क, १९४८
२. भी.जे. जेरोम : कल्चर इन ए चेन्जिङ वल्र्ड, न्युयोर्क, १९४७
३. दि न्युयोर्क टाइम्स बुक रिभ्यु, १७ जुलाई १९४९
४. उही
५. म्याक्सिम गोर्की : कल्चर एन्ड दि पीपुल, न्युयोर्क, १९३९
६. दि मोडर्न क्वार्टर्ली, लन्डन, ग्रीष्म, १९४९
लिटरेचर एन्ड रियालिटीबाट
इतिहास कथाका अप्रतिम अमेरिकी आख्यानकार हावर्ड फास्ट (१९१४–२००३) उपन्यासकार, कथाकार, समालोचक, कवि र पत्रकार थिए ।
समाप्त
साभार : माक्र्सवादी साहित्य चिन्तन
Leave a Reply