भर्खरै :

सिकाइका लागि डर, कर र रहरको दार्शनिक चेतना

सिकाइका लागि डर, कर र रहरको दार्शनिक चेतना

संसारमा जन्मिएदेखि मृत्युपर्यन्त अविराम चलिरहने एउटा सार्वभौम प्रक्रिया हो – सिकाइ । मानिसले जानेर वा नजानेर, हाँसेर वा रोएर, सचेत वा अचेत रूपमा हरेक क्षण केही न केही सिकिरहेको हुन्छ । औपचारिक विद्यालयको चारकुने कोठा होस् वा खुला प्रकृति, जीवनको हरेक मोड एउटा खुला पाठशाला हो । तर, जब हामी विद्यालयीय शिक्षा, ज्ञानको प्राप्ति र सीपको आर्जनका कुरा गर्छौँ, तब एउटा सनातन प्रश्न हाम्रो मस्तिष्कमा उभिन्छ – मानिस वास्तवमा कसरी सिक्छ ? सिकाइका सम्बन्धमा अनगिन्ती शैक्षिक सिद्धान्त, नियम, सूत्र र विधिहरू प्रतिपादन भएका छन् । जोन लकको ‘टाबुला रासा’ को दार्शनिक अवधारणाले मानव मस्तिष्कलाई जन्मका समयमा कोरा कागजसरह मानेको छ भने, स्किनरको कार्यपरक अनुबन्धन र पाभ्लोभको शास्त्रीय अनुबन्धनले सिकाइका मनोवैज्ञानिक तथा वैज्ञानिक आधारहरू प्रस्तुत गरेका छन् । यी विभिन्न प्राज्ञिक अवधारणाको सार के हो भने, प्रभावकारी सिकाइका लागि अनुकूल वातावरण, प्रेरणा, अनुभव र सुदृढीकरण आवश्यक हुन्छन् । तर, यी जटिल शैक्षिक सिद्धान्तहरूलाई एकछिन पर राखेर सिकाइको मर्मलाई अत्यन्त सरल र जीवनोपयोगी ढङ्गले अभिव्यक्त गर्ने हो भने भन्न सकिन्छ, “सिकाइका लागि खासगरी डर, कर र रहर भए पुग्छ ।” यो छोटो तर अर्थपूर्ण अभिव्यक्तिले मानव मनोविज्ञानका तीनवटा महत्वपूर्ण आयामलाई उजागर गर्छ । बालकदेखि प्रौढसम्मको सिकाइ यात्रामा यी तीन तत्वको भूमिका कस्तो हुन्छ भन्ने कुराको चर्चा नै यस लेखको मूल अभीष्ट हो ।
डर मानिसको सबैभन्दा आधारभूत जैविक तथा मनोवैज्ञानिक संवेगमध्ये एक हो । विकासवादी दृष्टिकोणबाट हेर्दा डरले मानव अस्तित्वको रक्षामा महत्वपूर्ण भूमिका खेलेको छ । यदि हाम्रा पुर्खाहरूमा जङ्गली जनावर, प्राकृतिक विपत्ति र प्रतिकूल परिस्थितिसँग डराउने प्रवृत्ति नभएको भए मानव जातिको अस्तित्व नै सङ्कटमा पर्न सक्थ्यो । यही डर जीवनका अन्य क्षेत्रमा जस्तै शिक्षाको क्षेत्रमा पनि प्रवेश गर्छ र अनुशासन तथा तात्कालिक उत्प्रेरणाको माध्यम बन्छ । एउटा सानो बालकले आगोमा हात हाल्दा पोल्छ भन्ने अनुभव गर्छ । त्यसपछि उसमा आगोसँग सावधान रहनुपर्ने चेतना विकास हुन्छ । यो अनुभवबाट प्राप्त सिकाइ हो, जसलाई शिक्षाशास्त्रमा एडवर्ड थोन्र्डाइकको ‘प्रभावको नियम’ सँग जोडेर बुझ्न सकिन्छ । थोन्र्डाइकका अनुसार सन्तोषजनक परिणाम दिने व्यवहार दोहोरिने सम्भावना बढी हुन्छ भने असन्तोषजनक परिणाम दिने व्यवहार कमजोर हुनसक्छ । विद्यालयमा गृहकार्य नगर्दा शिक्षकको गाली खानुपर्छ वा परीक्षामा अनुत्तीर्ण हुँदा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्छ भन्ने डरले पनि विद्यार्थीलाई पढ्न र काम पूरा गर्न प्रेरित गर्न सक्छ । प्रारम्भिक अवस्थामा डरले विद्यार्थीलाई लापरबाही गर्नबाट रोक्न, समयमै काम गर्न र बाह्य अनुशासन कायम राख्न सहयोग पु¥याउन सक्छ । तर, डरले बाटो देखाउन त सक्छ, गन्तव्यसम्म पु¥याउन सक्दैन । डरका कारण विद्यार्थीले केही समयका लागि पाठ कण्ठ गर्न वा गृहकार्य पूरा गर्न त सक्छ, तर त्यसबाट दिगो ज्ञान र स्वतन्त्र चिन्तनको विकास हुन्छ नै भन्ने छैन । बरु, अत्यधिक डरले विद्यार्थीभित्र रहेको जिज्ञासा र सिर्जनात्मकतालाई कुण्ठित बनाउन सक्छ । जब विद्यार्थी शिक्षकको गाली, दण्ड वा परीक्षाको त्रासका कारण मात्र पढ्छ, तब उसको सिकाइ यान्त्रिक र क्षणिक बन्न पुग्छ । परीक्षा सकिएपछि बिर्सिने ज्ञानले जीवनलाई खासै समृद्ध बनाउन सक्दैन । त्यसैले डरलाई सिकाइको स्थायी आधार होइन, आवश्यक सतर्कता र अनुशासनको सीमित माध्यमका रूपमा मात्र लिनु उपयुक्त हुन्छ ।
डरको अर्को सामाजिक तथा व्यावहारिक रूप हो – कर अर्थात् बाध्यता । जीवनका हरेक मोडमा मानिसले आफ्नो इच्छाविपरीत पनि केही यस्ता कुरा सिक्नुपर्ने हुन्छ, जुन उसका लागि अपरिहार्य हुन्छन् । आधुनिक समाजको संरचना र प्रतिस्पर्धालाई हेर्दा शिक्षा रुचि वा रहरको विषय मात्र रहेन† यो जीवनयापन, आत्मनिर्भरता र सामाजिक अस्तित्वको आवश्यकता पनि बनेको छ । “आज मैले केही सिकिनँ भने भोलि जीवनमा अगाडि बढ्न सक्दिनँ, रोजगारी पाउन सक्दिनँ र परिवारको जिम्मेवारी पूरा गर्न सक्दिनँ” भन्ने सोचले मानिसलाई सिकाइतर्फ धकेल्छ । यही हो कर, अर्थात् परिस्थितिले सिर्जना गरेको बाध्यता । भोक मेट्न अन्न उत्पादन गर्न सिक्नुपर्छ, आधुनिक समाजमा प्रतिस्पर्धा गर्न प्रविधि र भाषा सिक्नुपर्छ अनि परिवारको लालनपालन गर्न कुनै न कुनै पेसा वा सीपमा दक्ष हुनुपर्छ । यहाँ सिकाइको सुरुआत रहरले भन्दा पनि आवश्यकताले गराएको हुन्छ । फ्रान्सेली दार्शनिक जाँ–जाक रुसोले प्राकृतिक र स्वतन्त्र वातावरणमा बालबालिकाको सिकाइलाई महत्व दिएका थिए । तर, आधुनिक समाजको जटिलताले मानिसलाई अनेकौँ कुरा आवश्यकताका कारण सिक्न बाध्य बनाएको छ । कतिपय अवस्थामा सुरुमा बाध्यता वा आवश्यकताले सुरु गरिएको सिकाइ पछि गएर रुचि, दक्षता, पेसा र स्थायी बानीमा रूपान्तरण हुन्छ । सुरुमा गणित वा विज्ञान गा¥हो लागेर बाध्यताले अध्ययन गरेको विद्यार्थी पछि त्यही विषयमा रुचि बढाउँदै उत्कृष्ट वैज्ञानिक वा प्राविधिक बन्न सक्छ । यसरी करले मानिसलाई निष्क्रियताबाट बाहिर निकालेर कर्मशील बन्न प्रेरित गर्छ । त्यसैले, जीवनका कतिपय आवश्यक सिकाइमा करको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
यसरी डर र करले मानिसलाई सिकाइको प्रक्रियामा प्रवेश गराउन सक्छन्, तर सिकाइलाई जीवनको अभिन्न अङ्ग बनाउन भने रहर आवश्यक हुन्छ । जबसम्म मानिसभित्र कुनै विषयप्रति स्वाभाविक जिज्ञासा, रुचि र आन्तरिक चाहना जाग्दैन, तबसम्म मौलिक आविष्कार, उच्चस्तरको कला, दर्शन, साहित्य र सिर्जनात्मक चिन्तनको विकास कठिन हुन्छ । जसरी नाच्ने रहर जागेपछि नर्तकी आफ्नै ताल र लयमा रमाउन थाल्छिन्, जसरी सङ्गीतप्रति अनुराग भएको कलाकार अभ्यासमा घण्टौँ बिताउँदा पनि थाकेको अनुभव गर्दैन, त्यसैगरी जब सिकाइ मानिसको रहर, चाहना र जीवनको अभिन्न हिस्सा बन्छ, तब त्यो बोझ नभएर आनन्दको स्रोत बन्न पुग्छ । मनोवैज्ञानिक अब्राहम मास्लोको आवश्यकताको पदानुक्रमसम्बन्धी सिद्धान्तमा आत्मसाक्षात्कारलाई मानवीय विकासको उच्चतम तहका रूपमा प्रस्तुत गरिएको छ । आफ्नो रुचि, क्षमता र सम्भावनाको पूर्ण विकास गर्ने चाहनाले मानिसलाई निरन्तर सिकाइतर्फ प्रेरित गर्छ । महाभारतका पात्र एकलव्यको कथा यस सन्दर्भमा एउटा ज्वलन्त उदाहरण हो । गुरु द्रोणाचार्यले उनलाई धनुर्विद्या सिकाउन अस्वीकार गरेपछि पनि एकलव्यले आफ्नो सिक्ने चाहना त्यागेनन् । उनले द्रोणाचार्यको माटोको मूर्ति स्थापना गरी त्यसैलाई गुरु मानेर निरन्तर अभ्यास गरे । कसैले प्रत्यक्ष रूपमा सिकाइ नदिए पनि उनको दृढ इच्छाशक्ति, एकाग्रता र अथक अभ्यासले उनलाई असाधारण धनुर्धरका रूपमा स्थापित ग¥यो । एकलव्यको कथाले एउटा गहिरो सन्देश दिन्छ– सिक्ने रहर र निरन्तर अभ्यास भएमा प्रतिकूल परिस्थितिले पनि मानिसको प्रतिभा र सम्भावनालाई पूर्ण रूपमा रोक्न सक्दैन । वास्तवमा रहर नै सिकाइको सबैभन्दा शक्तिशाली आन्तरिक प्रेरणा हो ।
आधुनिक शिक्षाशास्त्रले पनि विद्यार्थीको आन्तरिक अभिप्रेरणा, स्वतन्त्रता र अनुभवमा आधारित सिकाइलाई विशेष महत्व दिएको छ । बालमनोवैज्ञानिक मारिया मोन्टेसरीको शिक्षण दर्शनले बालबालिकालाई जबरजस्ती सिकाउनुभन्दा उनीहरूलाई आफ्नै गतिमा सिक्ने अनुकूल वातावरण उपलब्ध गराउनुपर्ने कुरामा जोड दिन्छ । मोन्टेसरी पद्धतिमा दण्ड, त्रास र अनावश्यक दबाबभन्दा स्वतन्त्र अभ्यास, खोज र अनुभवलाई प्राथमिकता दिइन्छ । बालबालिकाले आफ्नै रुचि र गतिअनुसार सामग्रीसँग अन्तरक्रिया गर्दै सिक्दा उनीहरूको सिकाइ बढी अर्थपूर्ण र आनन्ददायक हुन्छ । प्रसिद्ध अमेरिकी शिक्षाविद् जोन डेवीले शिक्षालाई भविष्यको तयारी मात्र नभई जीवनकै अभिन्न अङ्ग मानेका छन् । उनका विचारमा विद्यार्थीले निष्क्रिय श्रोता भएर होइन, आफ्नै अनुभव, प्रयोग र क्रियाकलापमार्फत सिक्नुपर्छ । जब कक्षाकोठामा पाठ्यपुस्तकका कुरा कण्ठ गराउने र परीक्षा उत्तीर्ण गराउने काममा मात्र जोड दिइन्छ, तब विद्यार्थीमा विषयप्रति वितृष्णा उत्पन्न हुनसक्छ । तर, प्रयोगात्मक, अनुसन्धानात्मक र सिर्जनात्मक विधि अपनाउँदा विद्यार्थीमा जिज्ञासा र सिक्ने रहर जाग्छ । मानवतावादी मनोवैज्ञानिक कार्ल रोजर्सको मान्यताअनुसार वास्तविक सिकाइ व्यक्तिको आफ्नै अनुभव, सहभागिता र आत्मअनुभूतिबाट विकसित हुन्छ । शिक्षकको काम ज्ञान थोपर्ने वा विद्यार्थीलाई जबरजस्ती घोकाउने होइन, उनीहरूलाई खोज्न, प्रश्न गर्न, प्रयोग गर्न र आफ्नै अनुभवबाट निष्कर्ष निकाल्न सक्ने भयमुक्त तथा अनुकूल वातावरण तयार गर्नु हो । यसरी आधुनिक शिक्षाले सिकाइलाई बाह्य दबाबबाट आन्तरिक अभिप्रेरणातर्फ लैजाने प्रयास गरेको छ ।
माथि उल्लिखित शैक्षिक तथा मनोवैज्ञानिक विमर्शको निचोड के हो भने, सफल शिक्षकको प्रमुख जिम्मेवारी विद्यार्थीमा सिकाइप्रतिको रहर जगाउनु हो । साधारण शिक्षकले पाठ्यपुस्तकका पाना पढाउँछ, गृहकार्य दिन्छ र परीक्षा लिन्छ । यस्तो प्रक्रियामा कहिलेकाहीँ डर र करको मात्रा बढी हुन सक्छ । तर, एक कुशल, अनुसन्धानशील र दूरदर्शी शिक्षकले पाठ्यपुस्तकको सीमाभन्दा बाहिर गएर विद्यार्थीमा जिज्ञासा पैदा गर्छ, कक्षाकोठालाई भयमुक्त बनाउँछ, विषयवस्तुलाई जीवनसँग जोड्छ र विद्यार्थीको मौलिक चिन्तन तथा सिर्जनात्मकताको सम्मान गर्छ । उसले विद्यार्थीलाई केवल सही उत्तर दिन सिकाउँदैन, सही प्रश्न गर्न पनि प्रेरित गर्छ । विद्यार्थीले किन, कसरी र केका लागि भन्ने प्रश्न गर्न थालेपछि वास्तविक सिकाइको ढोका खुल्छ । शिक्षकले सबै कुरा आफैँले जानेको छु भन्ने अहङ्कार त्यागेर विद्यार्थीबाट पनि सिक्न तयार हुनुपर्छ । किनकि सिकाइ एकतर्फी प्रक्रिया होइन, यो शिक्षक र विद्यार्थी दुवैको निरन्तर विकासको यात्रा हो । विद्यार्थीलाई डर देखाएर चुप लगाउनु सजिलो छ, बाध्य बनाएर काम गराउनु पनि सम्भव छ† तर उसमा सिक्ने रहर जगाउनु नै शिक्षकको वास्तविक सफलता हो ।
सङ्क्षेपमा भन्नुपर्दा, जीवनको प्रारम्भिक चरणमा बालबालिकालाई जोखिमबाट जोगाउन, आधारभूत अनुशासन सिकाउन र आवश्यक जिम्मेवारीबोध गराउन डर र करको सीमित भूमिका हुन सक्छ । डरले सम्भावित हानिबाट सतर्क गराउँछ भने करले आवश्यक काम गर्न प्रेरित गर्छ । तर यी दुवै सिकाइका अन्तिम गन्तव्य होइनन् । डरले सिक्न बाध्य बनाउँछ, करले सिक्न आवश्यक बनाउँछ र रहरले सिक्न आनन्दित बनाउँछ । जीवनको सिकाइ यात्रामा डर र करले मानिसलाई प्रारम्भिक गति दिन सक्छन्, तर त्यसलाई निरन्तरता दिने वास्तविक ऊर्जा रहर नै हो । जब सिकाइ बाह्य दबाबबाट मुक्त भएर आन्तरिक चाहना र जिज्ञासामा रूपान्तरण हुन्छ, तब परीक्षा केवल अङ्क प्राप्त गर्ने माध्यम रहँदैन, ज्ञान केवल प्रमाणपत्रमा सीमित हुँदैन र शिक्षा केवल रोजगारी प्राप्त गर्ने साधनमा खुम्चिँदैन । विद्यालयका चारकुने भित्ताभित्र विद्यार्थीलाई केवल अङ्क र ग्रेडका लागि होइन, जीवन बुझ्न, संसार चिन्न र आफूभित्रका सम्भावना पहिचान गर्न सिकाउने रहरको दियो बाल्नुपर्छ । आजका विद्यार्थीमा त्यही दियो बाल्न सक्नु नै सच्चा शिक्षा, सफल शिक्षक र समृद्ध राष्ट्र निर्माणको महत्वपूर्ण आधार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *