श्रमिक, किसान र जनताको मुक्तिका लागि वैचारिक सङ्घर्ष आवश्यक
- मंसिर ७, २०८३
आठबिस–९ मा नेमकिपाको चौथो वडा सम्मेलन सम्पन्न
दैलेख, ६ मङ्सिर । नेपाल मजदुर किसान पार्टी आठबिस नगरपालिका वडा नं. ९ को चौथो वडा सम्मेलन सम्पन्न भयो । सम्मेलनको उद्घाटन नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले गर्नुभयो ।
सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि शाहीले नयाँ सत्ता र शक्तिको भ्रम सिर्जना गरेर जनतालाई झुक्याउने प्रवृत्तिको आलोचना गर्नुभयो । उहाँले सत्ता र शक्तिको स्थायित्वको दाबी गर्नेहरूले आफ्नो सत्ता ५०–१०० वर्षसम्म टिकाउन सक्नुपर्ने भन्दै जनतालाई बेइमानी र बदमासी गरेर धोका दिनेहरू जनतासामु आत्मालोचित हुनुपर्ने र कान समातेर उठबस गर्नुपर्ने टिप्पणी गर्नुभयो ।
उहाँले नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ तथा पुराना सत्तासीन दलहरूले चुनावी नारा र घोषणापत्रमार्फत जनतालाई आकर्षक सपना बाँडे पनि व्यवहारमा जनताका मौलिक अधिकारमाथि क्रमशः हस्तक्षेप भइरहेको बताउनुभयो । २०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ को जनआन्दोलनसम्मका सङ्घर्षबाट प्राप्त अधिकारसमेत कुण्ठित गर्ने र सरकारका गलत कामविरुद्ध बोल्न पाउने नागरिकको अधिकारमाथि बन्देज लगाउने प्रवृत्ति जनमतविपरीत रहेको उहाँको भनाइ थियो ।
नयाँ भनिएको रास्वपा नेतृत्वको सरकारसमेत आफ्ना चुनावी नारा र प्रतिबद्धताविपरीत अघि बढेको उल्लेख गर्दै सामान्य रूपमा सरकारविरुद्ध गीत गाएको निहुँमा नागरिकलाई पक्राउ गर्ने र जेल हाल्ने प्रवृत्ति सरकारको नालायकीपन भएको उहाँले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बखतबहादुर थापाले समाज र देशको भविष्यप्रति सबै नागरिक सचेत र चिन्तित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले देश विकास गर्नु, जनतालाई गाँस, बास र कपासको सुनिश्चितता गर्नुका साथै स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवा सहज रूपमा उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व भएको बताउनुभयो । नागरिकलाई अनुशासित, योग्य, दक्ष र सक्षम बनाउने जिम्मेवारीबाट सरकार विमुख हुन नहुने उहाँको भनाइ थियो ।
सरकारले जनताका आधारभूत आवश्यकता र जनजीविकाका सवाललाई बेवास्ता गरेका कारण नागरिकमा राजनीतिक दलहरूप्रति वितृष्णा बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो । नेपालमा सत्तासीन दलहरूले राजनीतिलाई व्यापार र व्यक्तिगत लाभको माध्यम बनाएको आरोप लगाउँदै उहाँले पुँजीवादको विकल्प समाजवाद भएको बताउनुभयो ।
सम्मेलनमा नेमकिपा दैलेख जिल्ला समितिका अध्यक्ष खगेन्द्रबहादुर शाही, नेमकिपा बाँके जिल्ला अध्यक्ष शेरबहादुर विक, नेमकिपा दैलेख जिल्ला समितिका उपाध्यक्ष मानबहादुर सिजापती, नेमकिपा जिल्ला समिति सदस्य तथा चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. ७ का निर्वाचित वडाध्यक्ष इन्द्र चौलागाईं, नेमकिपा जिल्ला समिति सदस्य सौरे कामी, नेमकिपा चामुण्डा विन्द्रासैनी नगर समिति अध्यक्ष दीपक शाही, नेमकिपा दैलेखका पूर्वजिल्ला समिति सदस्य लालबहादुर सिजापती, नेमकिपा आठबिस नगर समिति अध्यक्ष जयबहादुर बडुवाल तथा नेमकिपा आठबिस नगरपालिका वडा नं. १ एकाइ समिति अध्यक्ष मोतीराम सुनारलगायतले सम्मेलनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
चौथो वडा सम्मेलन तयारी समिति संयोजक तेजबहादुर सिजापतीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन बलबहादुर विश्वकर्माले गर्नुभएको थियो भने मानबहादुर सिजापतीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नवीन कठायतले गजल प्रस्तुत गर्नुभएको थियो ।
११ सदस्यीय नेमकिपाको आठबिस नगरपालिका वडा नं. ९ समिति चयन
नेपाल मजदुर किसान पार्टीको आठबिस नगरपालिका वडा नं. ९ को वडा सम्मेलनको बन्दसत्रले नयाँ समिति चयन गरेको छ । बन्दसत्रबाट तेजबहादुर सिजापतिको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा विष्णुबहादुर कठायत, सचिवमा बलबहादुर बि.क., सहसचिवमा नवीन कठायत र कोषाध्यक्षमा नवीन सिजापति चयन हुनुभएको छ ।
बन्दसत्रमा नेमकिपा केन्द्रीय सदस्य बखतबहादुर थापाको अध्यक्षतामा अध्यक्षमण्डल गठन गरिएको थियो । अध्यक्षमण्डलका सदस्यहरूमा मानबहादुर सिजापति र दीपकबहादुर शाही रहनुभएको थियो ।
बन्दसत्रमा नेमकिपा केन्द्रीय सदस्य बखतबहादुर थापाले नेपालमा सत्ता सञ्चालन गर्ने जुनसुकै पार्टी आए पनि विचार र सिद्धान्तको अनुयायी बन्नुभन्दा अवसरका लागि पार्टीको आवरण धारण गर्ने, जालझेल र षड्यन्त्रमा संलग्न हुने प्रवृत्ति देखिएको बताउनुभयो । यस्ता प्रवृत्तिले ‘दुखी, गरीब र कमजोर जनतामाथि शासन गर’ भन्ने नियतअनुसार काम गरिरहेको उल्लेख गर्दै उहाँले त्यसको विकल्पमा बहुमत जनताको शासन व्यवस्था स्थापनाका लागि नेमकिपाले सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका उपाध्यक्ष मानबहादुर सिजापतिले नेपाललाई विकासको मोडेलमा युरोप र अमेरिकाको स्तरमा पु¥याउने दाबी गर्ने नयाँ भनिएको सरकारले पनि विगतका काङ्ग्रेस, एमाले र माओवादीकै शैली अपनाएको आरोप लगाउनुभयो ।
अध्यक्षमण्डलका सदस्य तथा नेमकिपा चामुण्डा विन्द्रासैनी नगर समितिका अध्यक्ष दीपकबहादुर शाहीले नेमकिपाका प्रत्येक कार्यकर्ता कर्मठ र सङ्घर्षशील भई निःस्वार्थ सेवाभावका साथ जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
बन्दसत्रमा सहभागी कार्यकर्ताहरूबाट समिति चयन तथा समसामयिक राजनीतिक विषयमा विचार व्यक्त गर्ने काम भएको थियो ।
Leave a Reply