भर्खरै :

“जनताका समस्या समाधान गर्न जनप्रतिनिधिहरू निरन्तर लागिरहेका छन्”

“जनताका समस्या समाधान गर्न जनप्रतिनिधिहरू निरन्तर लागिरहेका छन्”

भक्तपुर, ६ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताका राय, सल्लाह र सुझावअनुसार भक्तपुर नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ कार्यालयको आयोजनामा सम्पन्न स्थानीय जनतासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले जनप्रतिनिधिहरू जनताको सेवाकै निम्ति निर्वाचित भएको र जनताको समस्या समाधान गर्न नै आफूहरू निरन्तर प्रयासरत रहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरको सन्तुलित विकासको निम्ति योजनाबद्ध काम गरिरहेको बताउँदै सम्पदा पुनः निर्माणमा मात्र होइन हरेक विकास निर्माणमा जनतासँग समन्वय र सहकार्य गरी अगाडि बढिरहेको जानकारी दिनुभयो ।
जनताको इमानदारीपूर्वक सेवा गर्ने भावनाले राजनीतिमा लागेको बताउँदै प्रमुख प्रजापतिले जनभावनाअनुसार नगरवासीहरूको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
सल्लाघारीको १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल सञ्चालन गर्न विभिन्न पार्टीका सरकारहरूसँग पटक–पटक माग गरेको र जनताका छोराछोरीलाई सस्तोमा गुणस्तरीय चिकित्सक उत्पादन गर्ने योजना रहेकोमा सरकारको असहयोगको कारण त्यो सफल हुन नसकेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइलगायतमा भक्तपुरले गरेको कार्यबारे बुझ्न देश–विदेशबाट पनि विभिन्न तहका सरकारका प्रतिनिधिहरू र उच्चपदस्थ पदाधिकारीहरू आउने गरेको चर्चा गर्दै उहाँले जनता र जनप्रतिनिधिहरूले झन् जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो ।
नपली सिर्जना सेवा समाजका अध्यक्ष नारायणप्रसाद कोइरालाले सल्लाघारी सिर्जनानगर खोलामा रिटेनिङवाल (टेवा पर्खाल) बनाइसकेपछि केही राहत महसुस भए पनि त्रासमुक्त नभएको बताउँदै खोला किनारामा सडक निर्माण गर्नुपर्ने, त्यसको लागि आफूहरूको तर्फबाट आवश्यक सहयोग गर्न तयार भएको बताउनुभयो ।
स्थानीय बासुदेव गौतम, ठाकुर पण्डित, बालकृष्ण दाहाल, अर्जुन गुरुङ, रुद्र सापकोटा, विनय ढकाल, नरमाया श्रेष्ठलगायतले स्थानीय समस्याहरूबारे नगर प्रमुखसमक्ष जिज्ञासाहरू राख्नुभएको थियो ।
सिर्जनानगर क्षेत्रमा खोलाको करिडोर निर्माण गर्नुपर्ने, धुलो धुवाँमुक्त सडक बनाउनुपर्ने, हनुमन्ते खोला सुधार गर्नुपर्ने, सडकहरूको नामकरण गर्नुपर्ने, सडक मापदण्डको व्यवस्थापन गर्नुपर्ने, ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने, कल कारखानाबाट निस्कने धुवाँको न्यूनीकरणका उपायहरू अवलम्बन गर्नुपर्नेलगायतका सुझाव स्थानीयवासीहरूले दिएका थिए ।
वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर सभासद सूर्यप्रसाद श्रेष्ठले स्थानीय समस्या जनतासँग मिलेर समाधान गरिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *