भर्खरै :

सकिमाङा पुन्हीको अवसरमा भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा

सकिमाङा पुन्हीको अवसरमा भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा

भक्तपुर, ८ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा सकिमाङा पुन्हीको अवसरमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको पहिचान देश तथा विदेशमा फैलिँदै गएको बताउँदै यहाँका मौलिक चाडपर्वको प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले भक्तपुरलाई काठमाडौँ उपत्यकाकै सफा नगरको रूपमा विकास गर्न नगरपालिका सफल हुँदै गएको उल्लेख गर्दै उहाँले सम्पदा संरक्षण, विकास र सरसफाइप्रति सबैको ध्यान केन्द्रित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो काम भक्तपुरको विकासका लागि मात्र होइन, संसारकै निम्ति हो ।” भक्तपुरले शिक्षा र स्वास्थ्य क्षेत्रमा हासिल गरेको प्रगतिबाट सबै आश्चर्यचकित भएको उल्लेख गर्दै जनताको जीवनस्तरसमेत माथि उठेको बताउनुभयो । यसमा जनताको साथ र सहयोग महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
सकिमाङा पुन्हीको महत्वबारे विद्यालयका विद्यार्थीहरूलाई जानकारी गराउने उद्देश्यले विद्यालय–विद्यालयमा अध्ययन तथा जानकारीमूलक गतिविधि सञ्चालन भइरहेको बताउँदै उहाँले सकिमना पुन्ही भक्तपुरको महत्वपूर्ण मौलिक पर्व भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले अग्रजहरूले जीवन्तता दिँदै आएको संस्कृतिलाई नयाँ पुस्ता तथा पर्यटकमाझ परिचित गराउने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन हुँदै आएको बताउनुभयो । सांस्कृतिक सम्पदा पदयात्रा पनि सोही अभियानको निरन्तरता भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पर्यटन सूचना केन्द्रका गौतमप्रसाद लासिवाले सकिमाङा पुन्हीको परिचय तथा यस पर्वले बोकेको सांस्कृतिक सन्देशबारे जानकारी गराउनुभयो ।
पदयात्राको क्रममा सहभागीहरूलाई पाँचवटा समूहमा विभाजन गरी नगरका विभिन्न स्थानमा परिक्रमा गराइएको थियो । प्रत्येक समूहले विभिन्न सांस्कृतिक गतिविधि तथा परम्परागत बाजागाजाको अवलोकन गर्दै विज्ञहरूबाट आवश्यक जानकारी तथा प्रशिक्षण प्राप्त गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *