भर्खरै :

मेडिकलसहितको ख्वप विश्वविद्यालयको स्वीकृति कहिले ?

मेडिकलसहितको ख्वप विश्वविद्यालयको स्वीकृति कहिले ?

काठमाडौँ, ७ मङ्सिर । भक्तपुर नगरपालिकाले मेडिकल कलेजसहित ख्वप विश्वविद्यालयको स्वीकृत माग गर्दै आएको एक दशकभन्दा बढी भयो । भक्तपुर नगरपालिकाको प्रस्तावलाई सरकारले अहिलेसम्म स्वीकृति दिने प्रक्रिया अघि बढाएको छैन । ख्वप विश्वविद्यालय खोल्ने सम्बन्धमा सदनमा पनि धेरै पटक कुरो उठ्यो । सरकारमा नरहेको बेला विपक्षमा रहेका दलका नेता र सांसदहरूले पनि कुरा उठाए । आफू विपक्षमा रहँदा ख्वप विश्वविद्यालय खोल्न माग गर्ने ती नै नेता, सांसदहरू सरकारमा पुग्दा भुसुक्कै बिर्सन्छन् । सस्तोमा गुणस्तरीय शिक्षा दिएर डाक्टर तयार गर्ने भनपाको प्रस्तावप्रति सरकारको ध्यान गएको देखिँदैन । मङ्सिर ४ गतेको अन्नपूर्ण पोस्टमा ‘एमबीबीएस पढ्न १०,३२२ योग्य, सीट २,७४५ मात्रै’ शीर्षकको समाचार छापियो । डाक्टर पढ्ने शैक्षिक स्तर या योग्यता भए पनि सबैले पढ्न पाएका छैनन् । शैक्षिक स्तर र क्षमता भए पनि विद्यार्थीले डाक्टरी शिक्षा पाउन सकिरहेको छैन । यसको कारण चिकित्सा शिक्षा अध्ययन गर्न विद्यार्थी विदेश जान बाध्य छन् ।
सरकारले एकातिर डाक्टरी पढ्ने सीट सङ्ख्या बढाउनु आवश्यक छ भने अर्कोतिर त्यो शिक्षा स्तरीय र सस्तो हुनुपर्छ । भक्तपुर नगरपालिकाको प्रस्तावअनुसार सरकारले मेडिकल कलेज खोल्न स्वकिृति गरेको भए डाक्टरी शिक्षा पढ्ने सीट सङ्ख्या बढ्नेछ र सस्तोमा सो शिक्षा पढ्न पाउनेछ । नेपालमा डाक्टरी शिक्षाको आकर्षण बढेको छ† विद्यार्थीहरू पढ्न चाहन्छन् । तर, यहाँ पर्याप्त सीट सङ्ख्या हुँदैन ।
चिकित्सा शिक्षा आयोगले हरेक वर्ष निर्धारित मापदण्डको आधारमा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा मेडिकल कलेजको लागि सीट सङ्ख्या तोक्छ । तर, त्यो सङ्ख्या सीमित छ । एमबीबीएस अध्ययनको लागि उपत्यकाभित्र र उपत्यकाबाहिरको शिक्षण संस्थाको शुल्क फरक फरक छ । गत वर्ष आयोगले एमबीबीएस पढ्न (उपत्यकाभित्र) ४१ लाख ६८ हजार ८० रूपैयाँ र उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७ सय २० रूपैयाँ शुल्क तोकेको थियो । तर, भक्तपुर नगरपालिकाले रु. १५ लाखमा डाक्टरी शिक्षा दिने बताएको थियो । निजी क्षेत्रद्वारा सञ्चालित मेडिकल कलेजमा त त्योभन्दा बढी शुल्क तिर्नुपथ्र्यो । सस्तोमा स्तरीय शिक्षा दिने प्रतिबद्धतालाई अनेक बहानामा सरकार पन्छिरहेको छ ।
सक्षम भएर पनि स्वदेशमा एमबीबीएस अध्ययन गर्ने अवसर नपाएपछि उनीहरू विदेश जानु स्वाभाविक हो । स्वदेशमा चाहेर पनि पढ्न नपाएका विद्यार्थीहरू रुस, चीन, फिलिपिन्स, बङ्गलादेशलगायतका मुलुकमा पुगेका छन् । सक्षम भएका विद्यार्थीहरू विदेशमा पढ्न बाध्य भएपछि एकातिर उनीहरूको सेवा शुल्क बढ्छ भने अर्कोतिर विदेशमा अध्ययन गर्न पुगेका विद्यार्थीहरू देशबाहिर नै कार्य गरिरहेका हुन्छन् । नेपालको जनशक्ति बिदेसिएपछि देशमा आवश्यक जनशक्ति कसरी प्राप्त हुन्छ ? डाक्टरको कमीले सरकारले देशको कुना काप्चामा पर्याप्त डाक्टर पु¥याउन सकेको छैन । कति अस्पतालमा अझै विशेषज्ञ डाक्टर पु¥याउन सकेको छैन । साना–तिना अपरेसन गर्न, औषधि उपचार गर्न ठुलठुला सहरमा जानुपर्ने बाध्यता अहिले पनि हटेको छैन । हरेक जिल्ला, नगरपालिका र गाउँपालिकामा अस्पताल खोलेर आवश्यक दक्ष चिकित्सक पु¥याउन सकेको भए तत्तत् स्थानमा चिकित्सकहरूको सेवा सुविधा दिन सकिन्छ र अनावश्यक खर्च व्यहोर्नुपर्ने छैन । कति बिरामी चिरफार गर्न र औषधि उपचार गर्न अन्यत्र लान्दा लान्दै या समयमा उपचार गर्न नपाएर बिचमै निधन भएको हुन्छ । ठीक समयमा ठीक ढङ्गले रोग परीक्षण गर्न र उचित औषधि उपचार गर्न हरेक विषयका विज्ञ डाक्टरको आवश्यकता हुन्छ ।
देशमा भएको जनशक्ति बिदेसिंँदै गयो भने देशमा जनशक्तिको अभाव हुन्छ । यसकारण, सरकारले नै देशको लागि आवश्यक जनशक्ति तयार गर्नुपर्छ । आवश्यक जनशक्ति तयार गर्न सरकारले पूर्वाधार तयार गर्नुपर्छ । यसरी नै राज्यले विज्ञान र प्रविधिमा पनि जोड दिनुपर्छ । नयाँ नयाँ विषयवस्तुको खोज, अध्ययन, अनुसन्धान गरेर नयाँ नयाँ विज्ञानको आविष्कार गर्न र गराउन वैज्ञानिकहरूलाई प्रोत्साहित गर्नुपर्छ । त्यसतर्फ राज्यको ध्यान नपुग्दा विज्ञान र प्रविधिमा देश पछि परेको हो । देशका वैज्ञानिकहरूलाई उत्साहित गर्नुपर्छ । अध्ययन र अनुसन्धानको निम्ति पर्याप्त बजेट छुट्याउनुपर्छ† आवश्यक स्रोत र साधन जुटाउनुपर्छ । नेपालजस्तै सानो देश प्रजग कोरियाले विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । विश्वका अरु विकसित देशसँग प्रतिस्पर्धा गर्दै छ । तर, नेपाल अहिलेसम्म पूर्ण साक्षर देश बनेको छैन । के यो देशको विडम्बना होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *