भर्खरै :

“सरकारहरूले आफ्नो कर्तव्य निर्वाह नगरेको हुँदा देशको सार्वभौमिकतामाथि विदेशी थिचोमिचो बढ्यो”

“सरकारहरूले आफ्नो कर्तव्य निर्वाह नगरेको हुँदा देशको सार्वभौमिकतामाथि विदेशी थिचोमिचो बढ्यो”

भक्तपुर, ६ मङ्सिर  । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिको आयोजनामा आइतबार नगरस्तरीय कार्यकर्ता भेला भयो ।
कार्यक्रममा पार्टी सचिव प्रेम सुवालले नेमकिपाको उद्देश्य देश र जनताको सेवा गर्ने भएकोले यही उद्देश्य पूरा गर्न पार्टी कार्यकर्ताहरू लागिपर्नु जरूरी छ भन्नुभयो ।
पार्टी कार्यकर्ताहरूले पार्टी प्रकाशन नियमित अध्ययन गरी आफ्नो राजनीतिक र सांस्कृतिक स्तर माथि उठाउनु जरूरी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनता राजनीतिक र सांस्कृतिक रूपले सचेत तथा सङ्गठित भएपछि मानव जातिबिचको वर्गीय र जातीय विभेद अन्त्य हुने विषय पनि बुझ्ने छन् ।”
सचिव सुवालले भन्नुभयो, “नेपालका सरकारहरूले लिम्पियाधुरासम्मको नेपालको नक्सा संसद्बाट पारित भए पनि छिमेकी देश र संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय संस्थाहरूलाई जानकारी दिएनन् । सरकारहरूले आफ्नो कर्तव्य निर्वाह नगरेको हुँदा देशको सार्वभौमिकतामाथि विदेशी थिचोमिचो बढ्यो ।”
पार्टी जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले सङ्गठन निर्माण र सिद्धान्तलाई जोड नदिए चुनावी जित क्षणिक मात्र हुने स्पष्ट पार्दै नेमकिपाबाहेक अन्य वामपन्थी पार्टीहरूले वामपन्थीको कर्तव्य पूरा नगरेको बताउनुभयो ।
‘जनता नै देश र देश नै जनता’ भन्ने नाराका साथ चीन अगाडि बढिरहेको र ‘जनता प्रथम’ को सिद्धान्तअनुसार पार्टी अघि बढेकै कारण चीनमा गरिबी उन्मूलन र भ्रष्टाचार निर्मूल हुन सकेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “१४ वटा देशले उपनिवेश बनाएको र युवाहरूलाई अफिमको लतले ध्वस्त बनाएको चीनले हार नमानी निरन्तर सङ्घर्षलाई जोड दिएकै कारण आज विश्वको महाशक्ति बन्न सकेको छ । लड्ने र सङ्घर्ष गर्नेको मात्र इज्जत हुन्छ, आत्मसमर्पण गर्नेहरूको इज्जत हुनेछैन, उनीहरू कायरमा गनिनेछन् ।”
बन्दुकको गोलीले जित्न नसक्ने व्यक्तिलाई गुलियो पोतेको गोलीले सिध्याउने शिक्षाबारे कार्यकर्ताहरू सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
माओवादी र एमालेलाई फरक पार्टी भएकै कारण विरोध नगरेको स्पष्ट पार्दै उहाँले ती पार्टीहरूले मित्रराष्ट्रहरूले सहयोगस्वरूप दिएका उद्योगसमेत बेचेर निजीकरण गराएको कारण विरोध गरेको उल्लेख गर्नुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ज्ञानुमैयाँ राजथला र महेन्द्र बखुन्छेलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *