भर्खरै :

किशोर उपन्यास ‘देवी’ सहित पाँच पुस्तक विमोचित

किशोर उपन्यास ‘देवी’ सहित पाँच पुस्तक विमोचित

भक्तपुर, ११ मङ्सिर । बालसाहित्य सर्जक विजयराज आचार्यले देवकुमार सुनुवारको जीवनसङ्घर्षमा आधारित रही लेखेको उपन्यास ‘देवी’ सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा सुनुवारको जीवनभोगाइ समेटिएको उपन्याससहित पाँच पुस्तक विमोचन गरिएको हो ।
उपन्यास ‘देवी’ मा देवकुमारको बाल्यकाल, किशोरावस्था, पारिवारिक परिवेश र जीवनमा आइपरेका सङ्घर्षलाई समेटिएको छ ।
पुस्तकमाथि टिप्पणी गर्दै लेखक तथा सामाजिक अध्येता कैलाश राईले सरल भाषामा लेखिएको उपन्यासमा सङ्घर्षले खारिएको मानिसको जीवनकथा समेटिएको बताइन् । पारिवारिक जटिलताबिच पर्याप्त माया र हेरचाह नपाएका देवकुमारले शिक्षा तथा सीप विकासका लागि गरेको सङ्घर्ष उपन्यासमा आएको उहाँको भनाइ थियो ।
राईले भने, “शिल्प, कल्पना र विषयवस्तुका हिसाबले उपन्यास निकै माथि छ । यसमा हाम्रै वरपर सङ्घर्ष गरेर अघि बढेका मानिसको कथा छ । सामान्य जीवनका भोगाइलाई पनि उपन्यास र कृतिका रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने यसले देखाएको छ ।”
वरिष्ठ बालसाहित्य सर्जक तथा इतिहासकार प्रमोद प्रधानले देवकुमारले उपन्यासमा वर्णन गरिएभन्दा पनि कठिन जीवन बाँचेको बताउनुभयो । देवकुमारको गाउँमा बालसाहित्यिक कार्यक्रम र अभियानका क्रममा उनीसित नजिकिँदा उनका सङ्घर्ष र कर्मबारे थाहा पाएको उहाँले बताउनुभयो । आत्मकथामा मानिसले आफूलाई राम्रो देखाउने प्रवृत्ति रहे पनि ‘देवी’ मा उहाँले जीवनमा जे भोगेका थिए, त्यही प्रस्तुत गरिएको उहाँको टिप्पणी थियो ।
बाल्यकालमा बिरामी परी बाँच्ने आशासमेत मारिएको अवस्थाबाट सङ्घर्ष गर्दै अघि बढेका देवकुमारको जीवनले किशोरहरूलाई प्रेरणा दिने प्रधानले बताउनुभयो । दुई बुबासँग बाल्यकाल बिताएका देवकुमारले किशोरकालमा सहरमा काम गर्दै अङ्ग्रेजी भाषा र ड्राइभिङलगायत सीप सिकेको प्रसङ्गले दुःख र पीडा पार गरेर अघि बढ्न चाहनेलाई प्रेरित गर्ने उहाँको भनाइ थियो । उहाँले देवकुमारको जीवनभोगाइ आत्मकथाका रूपमा पनि आउनुपर्ने बताउनुभयो ।
सञ्चारकर्मी जगत दोङ तामाङले देवकुमारको जीवनकथा सुन्दा आफू भावुक भएको स्मरण गर्दै उपन्यासले पाठकलाई पनि त्यस्तै अनुभूति गराउने विश्वास व्यक्त गरे ।
‘देवी’ उपन्यासलाई क्रान्ति पाण्डेले सम्पादन गरेका हुन् भने भाषा सम्पादन प्रमोद प्रधानले गरेका हुन् । उपन्यासमा रवीन्द्र मानन्धरका चित्र छन् भने बियोन्ड स्टोरीज प्रकाशनले छापेको हो । आचार्य नेपाल बालसाहित्य समाजका अध्यक्ष हुन् ।
कार्यक्रममा ‘नीलो साइकल’, ‘रातको पाहुना’, ‘विष्णु केसीको बालसाहित्यकारिता ः विश्लेषण र मूल्याङ्कन’ र ‘सारस र मानिस’ पनि विमोचन गरिएका थिए ।
नेपाल बालसाहित्य समाजका महासचिव विष्णु केसीले ‘नीलो साइकल’ र ‘रातको पाहुना’ को समीक्षा गर्दै ती पुस्तकले बङ्गलादेशको कथा र संस्कृति नेपाली पाठकसमक्ष ल्याएको बताए । ‘नीलो साइकल’ बङ्गलादेशकी १३ वर्षीया शराना ताज्रियनले लेखेकी हुन् । ‘रातको पाहुना’ शरानासहित उनका बुबा प्राडा मिजानुर रहमान कल्लोल र आमा डा. वनाइजा रहमान कल्लोलको संयुक्त कथासङ्ग्रह हो । दुवै पुस्तकको अनुवाद विजयराज आचार्यले गरेका हुन् भने चित्र रवीन्द्र मानन्धरले बनाएका छन् । विवेक सिर्जनशील प्रकाशनले यी पुस्तक बजारमा ल्याएको हो ।
त्यस्तै, तीर्थकुमारी लामा (रोजिना) ले लेखेको ‘विष्णु केसीको बालसाहित्यकारिता ः विश्लेषण र मूल्याङ्कन’ पुस्तकमा केसीको बालसाहित्यिक योगदान र सिर्जनामाथिको अध्ययन समेटिएको छ । बालसाहित्यकारमाथि गरिएको अनुसन्धानलाई पुस्तकका रूपमा प्रकाशन गर्ने अभ्यास कम रहेको उल्लेख गर्दै प्रमोद प्रधानले दुई दशकदेखि बालसाहित्यमा सक्रिय केसीको कामबारे पुस्तकले जानकारी दिने बताउनुभयो ।
‘सारस र मानिस’ मा विजयराज आचार्यका नेपाली बालकथालाई ओडिया भाषामा अनुवाद गरी समेटिएको छ । भारतीय साहित्यकार अजित पात्रले अनुवाद गरेको पुस्तक ओडिशाबाट प्रकाशित भएको हो । नेपाली र ओडिया समाजको संस्कृति, माटो र कलाबिच समानता रहेकाले नेपाली कथा ओडिया भाषाका पाठकसम्म पुग्दा लाभ हुनेमा आफू आशावादी रहेको पात्रले बताउनुभयो । पुस्तकमा समेटिएका केही कथा प्रकाशन हुनुअघि पत्रिकामा छापिँदा पाठकबाट सकारात्मक प्रतिक्रिया पाएको पनि उहाँले सुनाउनुभयो । पुस्तक प्रकाशित भएपछि झन् धेरै प्रतिक्रिया आउनेमा आफू आशावादी रहेको उहाँले सुनाउनुभयो ।
कार्यक्रममा आगामी मङ्सिर ११ र १२ गते कपिलवस्तुको तौलिहवामा हुने ३१ औँ बालसाहित्य सम्मेलनमा सहभागी हुन नेपाल आएका बङ्गलादेशी साहित्यकार प्राडा मिजानुर रहमान कल्लोल र डा. वनाइजा रहमान कल्लोलले पनि मन्तव्य राख्नुभएको थियो । बारम्बार नेपाल आइरहन पाउँदा खुसी लागेको मिजानुरले बताउनुभयो । वनाइजाले छोरी शरानाको कथाले नेपाली भाषामा नयाँ घर पाएकोमा खुसी व्यक्त गर्नुभयो । शरानाले आफ्नो पुस्तक नेपालीमा प्रकाशित भएकोमा खुसी व्यक्त गर्दै पठाएको भिडियो सन्देश पनि कार्यक्रममा देखाइएको थियो ।
सम्मेलनमा सहभागी हुन दक्षिण कोरियाबाट आएका साहित्यकार मुन चाङ–गिलले साहित्यको कुनै भौगोलिक सीमा नहुने बताउनुभयो ।
कार्यक्रमको सभापतित्व गरेका सञ्चारकर्मी कुमार यात्रुले विभिन्न भाषामा पाँच पुस्तक एकैसाथ प्रकाशन र विमोचन हुनु अन्तर्राष्ट्रिय साहित्यिक सहकार्यको उदाहरण भएको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन तीर्थकुमारी लामा (रोजिना) ले गर्नुभएको थियो । प्रमुख अतिथि बङ्गलादेशी साहित्यकार रतनचन्द्र पाल हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *