भर्खरै :

सीमाका जनतालाई डुबाउँदै भारतीय बाँध

– विमला
जसको घर चुहिन्छ ? र पनि पानी परोस् भनी प्रार्थना गर्छ, वर्षायामसँगै सपनाहरू सजाउँछ त्यो हो, किसान । अहिले वर्षाको लागि प्रार्थना पनि गर्नु परेन क्यारे ! विगतका वर्षहरूमा भन्दा पहिलेदेखि नै वर्षा सुरु भएको थियो । वर्षात्सँगै किसानहरू निकै हर्षित भएका थिए । यिनै हर्षित किसानहरूमध्ये पर्छन् कपिलवस्तु यशोधरा गाउँपालिका ५ भगवानपुरका किसानहरू पनि, समयमै पानी परेपछि निकै खुसी भएका किसानहरूले, सपनाहरू सजाउँदै रोपाइँ सकाएका थिए । उनीहरूलाई के थाहा रोपेको धानले माटोमा आफनो जरा राम्रोसँग फैलाउन नपाउँदै अत्यधिक वर्षाबाट बगेको भेल ठ्याम्मै बन्द हुनेछ अनि जमेको पानीकै कारण श्वास लिन छोड्नेछन् । मरेका धानका बोटहरूसँगै आफना सपनाहरू पनि मार्नुपर्नेछ । नेपाली कथन छ नि “सास रहेसम्म आश लाग्छ ।क” ती किसानहरूमा पनि आशा जाग्यो र फेरि पनि धेरै टाढा पुगेर बीउ किनेर ल्याई दोस्रोपटक रोपाइँ गर्नुपर्याे । रोपाइँ त गरे तर हरियाली हुँदै गएको नेपाली किसानहरूको खेत देखेर हो वा के कारण चित्त दुख्यो भारत सरकारको ? बाँधमा काठका पट्राहरू राखेर प्राकृतिक बहाव थुनिदियो । जसका कारण दोस्रोपटक रोपेको धान पनि डुबानमा पर्दैछ । नेपालका तर्फबाट अधिकारीहरू जति पटक अवलोकन गरेको खबर पाउँछ पट्रा थप्दै गएको छ, स्थानीय अनिस खानले गुनासो गरे । पहिले २ वटा मात्रै पट्रा राखेको थियोे अहिले ५ वटा राखेको छ । यदि त्यो पट्रा हटाउन सरकारले कुनै पहल गर्न सकेन भने ६० घरपरिवारसँगै ७०० बिगाहा जमिन डुबानमा पर्ने खतरामा छ, खानले सुनाए ।
प्रसङ्ग हो साउन १२ शनिबारको ।
सामान्यतया, कहींकतै यात्रामा निस्कँदा मन सा¥है खुसी हुन्छ । खुसी हुँदै यात्रा गरिन्छ, अनि मनमा हर्षोल्लासका साथ यात्राका यादहरू सम्झँदै, आनन्दित हुँदै फर्कने गर्छाैं । शनिबारको यात्रा पनि रमाइलो लाग्नेछ भन्ने लागेको थियो । यात्रा थियो सीमावर्ती जिल्ला कपिलवस्तुसम्मको । यात्रा त रमाइलो नै भयो । पानीसँग जुध्दै र पानीलाई कुल्चँदै पुगेका थियौं लुम्बिनीसम्म । साथीहरूसँगको जमघट यसै पनि आनन्दित हुन्छ, अझै यात्रामा थियौं । मन यसै चङ्गाजस्तो माथि माथि पर–पर पुगिरहन्थ्यो । लुम्बिनीमा नास्तापछि तौलिहवातिर लाग्यौं । हामीलाई ठ्याक्कै लोकेसन थाहा नभएको कारण पहिले नै पुगिसकेका साथीहरूलाई फोन गर्दै अगाडि बढ्यौं । तौलिहवादेखि १० किलोमिटर जति दक्षिण गएपछि खुनुवा पुग्यौं । हाम्रो टोलीको नेत्तृत्व गर्नुभएका हरिसुन्दर वासीले प्रहरी प्रशासनमा कुरा गर्नुभयो ।
हामीलाई बाटो देखाउँदै अगाडि लाग्नुभएको थियोे सइ. चुमबहादुर कार्की । नजिकै पुग्न लाग्दा मन झनै फुरुङ्ग परेको थियोे । खेत खलियानहरूको बीच रहेको सानो गोरेटो हुँदै जब हामी भगवानपुर गाउँ पुग्यौं । किसानहरूले आफनो कथा, व्यथा सुनाउन थाले । अचानक मन भारी भयो । उनीहरू निकै उदास देखिन्थे । मनमा निकै पीडा थियोे । नेपाली किसानहरूले बाँध भत्काउन नपाओस् भनी भारत सरकारले सशस्त्र सीमा सुरक्षा बलको चौकी राखेको छ । गत वर्ष सप्तरीको तिलाठीमा भारतीय पक्षले एकतर्फी बनाएको बाँधका कारण आफनो गाउँ नै डुबानमा परेपछि सबै गाउँवासी मिलेर जुन साहसका साथ बाँध भत्काएका थिए, अहिले त्यसो हुन नदिनको लागि हतियारधारीहरू बाँधमै खटाइएको छ । भगवानपुर गाउँका किसानहरूले दशगजा पनि पार नगरेको तर बाँध भत्काउन आउने तयारीमा रहेको भनी केही किसानहरूको नाम लेखिएको गुनासो स्थानीयले बताए ।
हामी पनि दशगजासम्म पुगेर फर्केका थियौं । भारतीय सशस्त्र चौकीका इन्चार्ज शम्भुनाथ साहनी आइपुगे र कहाँबाट किन आउनुभएको भनी हामीलाई परिचय माग्न थाले । नेपाली किसानहरूलाई अप्ठ्यारोमा परेको खबर सुनेर हामी बुझ्न आएको भनी जवाफ दियौं । कुन संस्थाबाट, कुन पदको, पत्रकार हो आदि प्रश्न गरे । हामी सबैको ठेगाना माग्न थाले । हामी नेपाली भूमिमै घुमेका छौं । सबै किन सबैको नाम वतन दिनुपर्यो र ? अझै आनाकानी गर्दै थिए ।
शम्भुनाथले भन्दै थिए कि डुबानमा परेका नेपाली सबैको भूमि सरकारी हुन् भन्ने खबर छ । यो सुनेपछि स्थानीय किसान अनिस खानले लालपुर्जा देखाए ।
साँच्चिकै कत्ति उदेकलाग्दो थियोे त्यो विषय जसको आम्दानीको स्रोत भनेकै त्यही खेत छ, र भर्नुपर्ने पेट छ १० र १२ वटा, शिक्षा, स्वास्थ्य सबै खर्च त्यहींबाट गुजारा चलाउनुपर्नेछ । त्यही खेतमा पानीको ताल परेको छ । धानका केही पातहरूमात्रै देख्न सकिन्छ । जब हामी खेत अवलोकन गर्न गयौं डुब्न लागेका बोटहरूले मलाई बचाउ भनी हार गुहार गरेजस्तो लाग्यो । पहिलेका सबै खुसी, उमङ्ग त्यही पानीसँगै डुबेर गयो । बाँकी रह्यो बेचैनी र हाम्रा भाग्य विधाता सरकारप्रति आक्रोश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *