जारशाही संसद्मा बोल्शेभिक सांसद – ६
- कार्तिक २४, २०८२
गौरीबहादुर कार्की
भक्तपुरमा रानीपोखरी बनेको ४० वर्षपछि कान्तिपुरमा राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी निर्माण गराएका थिए । यो आजभन्दा ३४८ वर्ष पहिले हो ।
उनले छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युशोकमा डुबेकी रानीलाई सान्त्वना दिन र मन बहलाउन रानीपोखरी निर्माण गराएका थिए भनिन्छ ।
२०७२ वैशाख १२ को भुइँचालोले रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर भत्कियो । यो भाइटीकाको दिनमात्र खुला हुन्थ्यो । यसको पुनःनिर्माण टुङ्गो लाग्न सकेको छैन । पुनःनिर्माणमा विवाद आइरहेको छ ।
बालगोपालेश्वर मन्दिर कस्तो बनाउने ?
मन्दिर र रानीपोखरी पुनःनिर्माण सम्बन्धमा पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा काठमाडौं महानगरपालिका, पुनःनिर्माण प्राधिकरण र पुरातत्व विभागसमेतका ११ सदस्यीय विज्ञ टोली गठन भएको थियो । टोलीले बीचको मन्दिर प्रताप मल्लकै पालाको स्वरुपमा ग्रन्थकुट (शिखर) शैलीमा निर्माण गर्नुपर्ने सुझाव दियो । विभागका विज्ञले भने सहमति जनाएनन् ।
जङ्गबहादुरका पालामा नयाँ स्वरुपमा बनेको यो मन्दिर १९९० सालको भुइँचालोमा भत्केपछि जुद्धशमशेरले अहिलेको गुम्बज शैलीमा पुनःनिर्माण गराएका थिए । यसमा प्यागोडा वा छत्रे शैलीमा छानाको तहैतह बनाएर लगिन्छ । शिखर शैलीमा भने तलबाट माथितिर क्रमशः सानो हुँदै चुच्चो पारेर बनाइन्छ । दुवैको टुप्पामा गजुर हालेर टुङ्ग्याइन्छ ।
अहिले सबभन्दा पुरानो प्रताप मल्ल पालामा बनेको शिखर शैलीको रानीपोखरीको मन्दिरसहित चित्र देखिन आयो । सन् १८४५ (विसं १९०२) फेब्रअरीमा तत्कालीन प्रसियाका राजकुमार वाल्डमार तिब्बत भई नेपाल घुम्न आएका थिए । उनका साथ आएका कलाकारले बनाएको चित्रमा शिखर शैली देखिन्छ । उक्त चित्रमा रानीपोखरीको स्वरुप र मन्दिरमात्र होइन, पृष्ठभूमिमा स्वयम्भु र नागार्जुन डाँडोसमेत हालकै अवस्थाको देखिन्छ ।
त्यस चित्रलाई उनीभन्दा १ सय २४ वर्षअगाडि नेपाल आएका इटालीका जेस्विट्इपोलिटो डेसिडेरीले तिब्बतबाट भारत फर्कने क्रममा गरेको यात्रा विवरणले पनि पुष्टि गर्छ भन्ने उनै विभागका पूर्वमहानिर्देशक कार्कीले भनेका छन् ।
भारतपछि नेपालको बेलायती रेसिडेन्सीमा सर्जन भएर हेनरी एम्ब्रोस ओल्डफिल्ड आएका थिए । उनी सन् १८५० देखि १८६३ सम्म १४ वर्ष नेपाल बसे । सर्जन भए पनि उनलाई भारत आउनुअघि नै चित्रकलामा पारङ्गत पारेर पठाइएको रहेछ । त्यतिबेला क्यामरा आविष्कार भइनसकेकाले उनले नेपालका सम्पदाहरूको धेरै चित्र आफैंले बनाए । अन्य कलाकारलाई पनि बनाउन लगाए ।
नेपालका सम्पदा बिगार्नमा उनले टिप्पणी गरेको पाइन्छ । काठमाडौंको रानीपोखरीबीचको त्यो अत्यन्तै सुरम्य वस्तुलाई जङ्गबहादुरले सन् १८५१ मा भत्काई इँटा र सिमेन्टको कुरुप संरचना बनाए । जङ्गबहादुरले बनाएको मन्दिरको तस्बिर वा चित्र पाइएको छैन । तर डा.डिल्लीरमण रेग्मीले तीनतले छाने शैलीको भनेका छन् भने मेरी स्लसरले पनि परम्परागत छाने शैलीको मन्दिर भनेकी छन् । ९० सालको भुइँचालो अगाडिको एउटा तस्बिर फेला परेको छ । डा. रेग्मीले भनेजस्तो छत्रे शैलीको चित्र भने फेला परेको छैन ।
काठमाडौंको रानीपोखरीजस्तै भक्तपुर दरबार परिसरको सिंहध्वाका वा सिंह ढोका पूर्वको लाल बैठक भवन पनि कुन शैलीमा बनाउने भन्नेमा विवाद छ ।
विसं १९१३ मा तत्कालीन गभर्नर धीरशमशेरले भक्तपुर दरबार परिसर मूल चोकको परम्परागत शैलीको आधा भाग भत्काएर बेलायती शैलीमा लाल बैठक भवन बनाए । दरबार परिसरमै त्यो भवन अमिल्दो छ । तर यो बेलायती शैली १०० वर्ष पुरानो भएकोले सोही शैलीमा बनाइनुपर्छ भन्ने पुरातत्व विभागको भनाइ छ । भक्तपुर नगरपालिका भने पुराना भेटिएका तस्बिरका आधारमा नेपाली शैलीमै बनाइनुपर्छ भन्ने अडानमा छ ।
नयाँ रुपमा बनाउनुपूर्व यिनै ओल्डफिल्डले बनाएका सन् १९१० र ११ को चित्र हेर्नु उपयुक्त हुन्छ, जसमा परम्परागत शैलीको इँटाको गारो र बुट्टे झ्याल देखिन्छन् । यी अन्य पुराना चित्रमा पनि देखिन्छन् ।
यसरी जङ्गबहादुरको बेलायत यात्रापछि नेपाली परम्परागत शैलीका मन्दिर, भवन आदि भत्काएर बेलायती शैलीमा निर्माण गरियो ।
अहिले आएर रानीपोखरीमा धरहराझैं कफी सपलगायत व्यापारिक प्रयोजनमा प्रयोग गर्न खोजिंदै छ । पहिले धरहरामा व्यापारिक काम दिइयो, जसबाट धरहराको सौन्दर्य बढाउने, सुन्धारा संरक्षण गर्ने काम भएन । व्यापारिक रुपमा दुहुने काममात्र भयो । त्यस्तै उद्देश्य रानीपोखरीमा पनि देखिन्छ । निर्माण कार्यमा परम्परागत विधि, शैली, निर्माण सामग्री प्रयोग गर्नेतिर हाम्रा महानगरपालिका र पुरातत्व विभागले ध्यान दिन सकेनन् ।
पुरातत्व विभाग स्वयं पोखरीबीचको मन्दिर जुद्धशमशेर पालाको गुम्बज शैलीमा निर्माण गर्न तम्सिएको छ । जङ्गबहादुरले बनाएकोलाई १०० वर्ष पुरानो भनी पुरातात्विक महत्व दिने हो भने पनि १९९० सालपछिको गुम्बज शैली पुरातात्विक होइन । पुरातात्विक महत्वको हुन सय वर्ष पुगेको छैन ।
पुरातात्विक महत्वका मन्दिर र सम्पदा पुनःनिर्माण भनेको संस्थापक निर्माताले जस्तो रुपमा बनाएको हो त्यस्तै रुपमा बनाउने हो । मूल रुपमा निर्माण गर्नमा कुनै कठिनाइ भएमात्र नयाँ स्वरुपमा बनाइनुपर्छ । त्यो पनि विज्ञहरूको सर्वसम्मतिबाट विवाद नआउने गरी परम्परागत शैलीमै निर्माण गर्नुपर्छ । रानीपोखरीबीचको मन्दिरस्वरुप भनेको सबभन्दा पहिलो पुरानो चित्र नै हो । अहिले त्यो चित्र सार्वजनिक भइसकेको अवस्थामा पुनःनिर्माणमा दसथरी विचार ल्याउनु उचित होइन ।
नयाँ राजनीतिक परिवर्तनपछि युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको काठमाडौंको रानीपोखरी निर्माणमा विवादै विवाद आएको छ भन्छन् । यो कुरा डेभिड एन गेलनरले आफ्नो लेख ‘अ हेरिटेज फ्लासपोइन्ट’ मा उल्लेख गरेका छन् । उनी बेलायतको अक्सफोर्ड विश्वविद्यालय, समाज तथा मानवशास्त्र विभागका प्राध्यापक हुन् ।
रानीपोखरीमा विभिन्न ५१ तीर्थस्थलको जल ल्याएको ठ्यासफूमा उल्लेख छ । राजा प्रतापमल्लले पोखरीमा पानी खन्याउनु अगाडि तीर्थयात्रा गरेका थिए । उनको तीर्थयात्रा ई.सं. १६६९ मा भन्ने ठ्यासफू भक्तपुरको राष्ट्रिय कला सङ्ग्रहालयमा फेला परेको छ ।
पोखरीबीचको विमलेश्वर वा बालगोपालेश्वरको मन्दिर पुरातत्व विभागले बनाउने र अरु काम महानगरपालिकाले बनाउन थालेका थिए । दुवै काममा विवाद आयो । विभागले मन्दिर सिमेन्टको पिलरमा बनाउन थालेको थियो भने महानगरले पोखरी किनाराबाट १५ फिटमा आरसीसी ढलान गरेर पर्खाल लगाउन थालेका थिए ।
दुवै काम पुरातात्विक हिसाबले गलत थिए । पानी चुहिन नदिन कङ्क्रिट प्रयोग गरेको भन्ने महानगरको भनाइ छ ।
३४८ वर्षभन्दा अगाडि प्रताप मल्लको पालामा जुन विधि प्रयोग गरेर पोखरी निर्माण गरियो, त्यो विधिमा पानी अडिरहेकै थियो । त्यही विधिमा अहिले पनि पुनःनिर्माण गरिनुपर्ने संस्कृतिविद्हरूको भनाइ छ । भुइँचालोपछि पुनःनिर्माण सुरु नगर्दासम्म पनि पोखरीमा पानी थियो । मौसमअनुसार पानी घटबढ हुनु स्वाभाविक हो ।
मल्लकालीन प्रविधिबाट पानीको मुहान कहाँ थियो ? पानी के कारणले अडिइरहेको थियो ? किन चुहावट भएन भन्नेतिर कसैको ध्यान गएन । महानगरले त स्विमिङ पुलजस्तो बनाउन लागेको थियो ।
पोखरीमा सबभन्दामाथि कालोमाटोको सतह बनाइन्छ । त्यहाँमुनि बालुवा हुन्छ । पोखरीमा पानी आउने र पानी जाने फरक–फरक इनार हुन्छन् । पुरात्वविद् सुदर्शनराज तिवारीका अनुसार पोखरीमा विभिन्न सातवटा इनार छन् । पानी आउने इनार पनि छन् । पोखरी सफा गर्ने इनार पनि छन् । पोखरीबाट पानी वितरण गर्ने पनि इनार छन् । तीनधारा संस्कृत छात्रावास, सुनधारा र भोटाहिटीमा यहाँबाट पानी जान्थ्यो ।
कालोमाटो थलथले हुन्छ । थलथले माटो पानी परेपछि ढाडिन्छ । ढाडिएपछि पानी कतै जाँदैन । रोकिन्छ ।
‘पानी भएन भने पटपटी फुट्छ’, पुल्चोक इन्जिनियरिङ कलेजमा ऐतिहासिक आर्किटेक्टका प्राध्यापक तिवारी भन्छन, ‘पानी हाल्यो भने फुल्छ । यही बुझेर ढुङ्गेधारा, पोखरी, इनार बनाउँदा कालोमाटो प्रयोग गरिएको हो ।’
यो कुरा नबुझेर वा बुझ्न नचाहेर रानीपोखरीमा आधुनिक प्रविधि प्रयोग गरियो । आधुनिक निर्माण सामग्री राखियो । अब संरक्षणको नियमअनुसार जानुपर्छ । संरक्षणको नियम भनेको प्राचीन प्रविधि भए त्यही प्रयोग गर्नुपर्छ । प्राचीन निर्माण सामग्री प्रयोग भएको छ भने त्यही प्रयोग गर्नुपर्छ र आकार पनि प्राचीन नै हुनुपर्छ ।
वरिष्ठ योजनाविद् हार्वार्ड विज्ञ प्रा.डा. भरत शर्मा रानीपोखरी पुनःनिर्माण विवादलाई सम्पदामाथिको उपहास भएको बताउँछन् । नेपाली ज्ञान, सीप र क्षमता प्रयोग गरेरै सम्पदा निर्माण गर्न सकिने बताउँछन् ।
रानीपोखरी…
भक्तपुरको सिद्धपोखरी जमिन वा सडक सतहभन्दा १२–१५ फिट उचाइमा छ । दुई दशकअगाडि त्यो पोखरी सुकेपछि भक्तपुर नगरपालिकाले मर्मत गरेको थियो । अहिले पानीले भरिएको छ । माछा पालिएको छ । अति सुन्दर छ ।
त्यहाँ कङ्क्रिट ढलान नगरिकनै जमिन सतहभन्दा माथिको पोखरीमा पानी अडेको छ भने रानीपोखरीमा किन अडाउन सकिंदैन ?
रानीपोखरी निर्माणकै सन्दर्भमा मूल ढोकामा ताल्चा लगाउने र ताल्चा फुटाउने काम भए । विवाद ल्याउने, गर्ने दुवैथरीको उद्देश्य त रानीपोखरीलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने नै होला । तर राजनीतिक र अन्य आर्थिक स्वार्थले यस्ता विवाद प्रकाशमा आएर छताछुल्ल हुन्छन् । सरसल्लाह, सहमतिबाट विवाद अन्त्य गर्न सकिनेतिर कमै लागिन्छ ।
बालगोपालेश्वर मन्दिरबाहेक रानीपोखरीको अन्य निर्माण
हाल रानीपोखरी जुन रुपमा बचेको छ, त्यो रुपमा नै पुनःनिर्माण गरिनुपर्छ । हात्तीपाटी र पोखरीको चारैतिरको सरकारी र सार्वजनिक परिवेशलाई पोखरीकै गुरुयोजनामा चरणबद्ध रुपमा काम गर्नुपर्छ । रानीपोखरीको पानीस्रोत विभिन्न कारणले सुकेकोले अब पुरानै स्रोत फेला पार्न सकिंदैन । पानी राखेपछि चुहिन नदिन परम्परागत शैली र विधि अपनाउनुपर्छ ।
पोखरीमा आकाशे पानी र सतहको सफा पानी जम्मा गर्ने प्रबन्ध गरिनुपर्छ । २०३३ सालतिर वर्षामा रानीपोखरीको पानीको सतह बढेकाले निकास फेला पार्न सकिएन । त्यसपछि त्यतिबेलाको नगर विकास समितिले बढी भएको पानी बाहिर पठाउन दक्षिण पश्चिमा कुना अर्थात् सो¥हहाते गणेशको पूर्वपट्टिबाट ह्युम पाइपको ढलबाट रत्नपार्कको हालको भूमिगत मार्गको पूर्वपट्टि पुरानो ढलमा जोडेको छ ।
त्यो बेला ढल निर्माणमा संलग्नहरू इञ्जिनियर हेमन्त अज्र्याललगायत हुनुहुन्छ । मुख्यतः पानी जमिनमुनि चुहिएर पनि नजाने, चारैतिरबाट पनि नचुहिने प्रविधि अपनाइनुपर्छ । कति तहमा कालो माटोलगायत कस्तो माटो प्रयोग भएको थियो भन्ने अझै पनि हेर्न सकिन्छ । रानीपोखरी एउटा संरचनामात्र होइन, यो पोखरीसँग मल्लकालीन पोखरी निर्माण शैली र काठमाडौंको पानी वितरण प्रणालीको पहिचान जोडिएको छ ।
रानीपोखरीको अन्य भाग निर्माण गर्दा कफी सप र व्यापारिक पसल बनाउनेतिर सम्बन्धितको ध्यान केन्द्रित भएको देखिन्छ । उनीहरूले बुझ्नुप¥यो, पुनःनिर्माणपछि प्रवेश टिकट लगाए आम्दानी भइहाल्छ । आम्दानी नाममा सम्पदालाई भद्दा व्यापारिक प्रयोग गरेर मौलिकता नष्ट गर्नु उचित हुँदैन ।
रानीपोखरी निर्माण सेनालाई दिने विवाद
सम्पदा निर्माण सेनालाई दिने भनी महानगरका मेयर, मन्त्रीहरूसमेतको बैठकबाट सुझाएको देखिन आयो । भुइँचालोको तीन वर्षपछि पनि रानीपोखरी, धरहरालगायत सम्पदा पुनःनिर्माण गर्न नसकेपछि लाज पचाउन यस्तो सोचाइ आएको हो । ९० सालको भुइँचालोपछि राणकालमा २ वर्षमै धरहरा खडा गरिएको थियो । गणतन्त्रमा भने झगडा गर्दैमा समय बितिरहेको छ । यही झगडाले सेनालाई सुम्पने विचार प्रवाह भयो ।
रानीपोखरी निर्माणमा ३ करोड दस लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । सम्पदा पुनःनिर्माणमा हानथापमै ३ वर्ष बितिसकेको छ । यो विवादै विवादबीच सेनालाई जिम्मा लगाउन पाए रानीपोखरी समयमै निर्माण गर्न सकिने र विवादबाट बचिने भन्ने पदाधिकारीहरूको सोच छ ।
यो पनि हेर्नुहोस् के सेनाले रानीपोखरी जोगाउला ?
बाढी, पहिरो, भुइँचालोलगायत दैवी प्रकोप वा सड्ढट पर्दा, सामान्य रुपमा सरकारी यन्त्र प्रयोग हुन नसक्दा सेना र सशस्त्र प्रहरीलाई प्रयोग गर्ने हो । त्यसका लागि ती संस्थालाई डोजर, एक्स्काभेटर आदि हेभी इक्विपमेन्ट र जनशक्तिका लागि देशका विभिन्न स्थानमा केन्द्र राख्न पर्याप्त बजेट सरकारले दिनुपर्छ । ०७२ को भुइँचालो र जुरेको पहिरोपछि कोदारी राजमार्ग खोल्न नसकिएकोतर्फ सरकारको ध्यान जानुपर्ने हो । यी निकाय दैवीप्रकोप उद्धार गर्न सक्षम हुन सरकारकै पूर्ण सहयोग र संलग्नता हुनुपर्छ । सेनालाई रानीपोखरी निर्माणमा सहभागिता गराउने सम्बन्धमा केही विवाद सतहमा आइसकेको छ । अझ त्योभन्दा पनि महत्वको प्रश्न राजधानीकै भक्तपुरमा पुरातात्विक महत्वको रानीपोखरी नै सेनाको कब्जामा छ । त्यतातिर न सरकार, न स्थानीय सरकारकै ध्यान गएको छ ।
भक्तपुरका राजा जगज्योर्ति मल्लले ने.सं.७५० अर्थात् १६८७ सालमा (३८८ वर्ष पहिले) भक्तपुर टुँडिखेलको पश्चिममा न्हु पुखु अर्थात् रानीपोखरी तयार पारेका थिए । सिद्धपोखरीभन्दा पश्चिमपट्टि ठूलो फराकिलो टुँडिखेल रहे पनि पुछारमा यो पोखरी बनाइयो । खुला ठाउँ टँुडिखेल अतिक्रमण नगरिकन मल्ल राजाले कति बुद्धि पु¥याएर यो पोखरी बनाएछन् ।
जबकि अहिले पोखरीको पूर्वपट्टि टुँडिखेलमै सेनाले स्वीमिङ पुल, बास्केट बल, भलिबल आदि कोर्ट बनाएको छ । सैनिक महाविद्यालयका भवनले सार्वजनिक खुला ठाउँ भरिएका छन् । ०७ सालपछि सैनिक ब्यारेक र हाल सेनाको उच्च माध्यमिक विद्यालय भवन, कार्यालय, विद्यार्थी र शिक्षक आवास भवन, खेल मैदान, पौडीपोखरी आदिमा परिणत गरी यो पुरातात्विक पोखरीसमेत कब्जामा छ । हामीले केटाकेटीमा खेल्ने गरेको भक्तपुरको टुँडिखेलमा नागरिक प्रवेश निषेध छ ।
काठमाडौंभन्दा ४० वर्ष जेठो भक्तपुरको पुरातात्विक रानीपोखरीकै बिजोग पार्ने सेनालाई काठमाडौंको रानीपोखरी निर्माण गर्न दिनु कहाँसम्म उचित होला विचारणीय छ । सम्पदा निर्माणमा सेनाको कुनै अनुभव छैन, ठेकेदारबाट नै बनाउन लगाउने हो । आफ्नो कमजोरी लुकाउन सेना गुहार्नु उचित होइन ।
भक्तपुर नगरपालिका सम्पदा निर्माणमा सक्षम
उपत्यकाका नगरपालिकामध्ये सम्पदा पुनर्निर्माणमा भक्तपुर नगरपालिका उम्दा छ । यो कुरा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले नै स्वीकार्नु भएको छ ।
भक्तपुरले उपभोक्ता समितिबाट पहिले नै पाँचतले मन्दिर, भैरव मन्दिर र ५५ झ्याले दरबार अमानतमा निर्माण गराइसकेको छ । जुन अनुमानभन्दा धेरै कम लागतमा सकियो ।
परम्परागत शैली र निर्माण सामग्री प्रयोग र उच्चकोटीको कामका कारण काठमाडौंको पशुपतिनाथ, महिन्द्र मल्लको पालामा बनेको तलेजु भवानी, वसन्तपुरको श्रीखण्ड तरमुल विहार, पञ्चदानबाट जीर्णोद्धार गरिएको बज्रश्री महाविहार, भक्तपुरको पाँचतले, दत्तात्रय र पशुपति मन्दिरका साथै ५५ झ्याले दरबार २०७२ को भुइँचालोमा पनि बचे । अहिले पनि सिद्धीलक्ष्मीको ढुङ्गे मन्दिर, वत्सला, केदारनाथ आदि पुरानै शैली र परम्परागत निर्माण सामग्री प्रयोग गरेर भक्तपुर नगरपालिकाले पुनःनिर्माण गरिरहेको छ ।
काठमाडौं महानगर र पुरातत्व विभागले रानीपोखरी र बालगोपालेश्वर मन्दिर परम्परागत शैली र निर्माण सामग्री प्रयोग गरेर बनाउन नसक्ने हो भने भक्तपुर नगरपालिकालाई जिम्मा लगाइदिए हुन्छ । निर्धारित समयमा काम पनि सकिनेछ । नभए काठमाडौंको सम्पदा रानीपोखरी र बालगोपालेश्वर मन्दिर परम्परागत शैली र तरिकामा छिटो निर्माण सक्न सबै एकजुट हुने बेला आएको छ ।
(लेखक सम्पदाका अध्येता र पूर्वन्यायाधीश हुन् ।)
लेखकको सहमतिमा सेतोपाटी अनलाइनबाट साभार
Leave a Reply