पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
राजन
संरा अमेरिकामा एउटा भनाइ प्रचलित छ, ‘राम्रो कलाकारले अरूको सृजना नक्कल गर्छन्, महान् कलाकारले अरूको सृजना नै चोर्छन् ।’ संरा अमेरिकी प्रविधि चोरेर चीनले विकास गरेको भनेर चिनियाँहरूलाई महान् कलाकार भन्दै अमेरिकीहरू व्यङ्ग्य गर्छन् ।
सन् २००१ मा चिनियाँ सरकारले ‘चाइना नेसनल टेक्नोलोजी ट्रान्सफर सेन्टर’ स्थापना गरेको थियो । यसको उद्देश्य सरकारी प्रणालीबाटै प्रविधिको विकास गरेर राज्यद्वारा सञ्चालित कम्पनी र निजी कम्पनीलाई उक्त प्रविधि हस्तान्तरण गर्ने हो । चीनभरि यस्ता सेन्टरहरू विश्वविद्यालयदेखि विभिन्न कम्पनीमा स्थापना गरिएका छन् । राज्यले नै यस्तो व्यवस्थित प्रविधि विकास गरेर छोटो समयमै चीन अहिलेको अवस्थामा आइपुगेको हो । तर अहिले संरा अमेरिकाले लगाइरहेको आरोप भनेको चिनियाँ जनमुक्ति सेनामा रहेको उच्च प्राविधिक टोलीले कम्प्युटर ह्याक र साइबर आक्रमण गरेर विदेशी कम्पनीको प्रविधि चोर्छ र ती प्रविधिलाई परिमार्जन गरेर चीनकै मौलिक प्रविधिको रूपमा विकास गर्ने गरिन्छ । अन्तमा उक्त प्रविधि विशेषगरी राज्य नियन्त्रित चिनियाँ कम्पनीलाई हस्तान्तरण गरिन्छ । पछि तिनै प्रविधि प्रयोग गरेर उत्पादन गरिएको वस्तुले विश्व बजार कब्जा गर्दै अमेरिकी कम्पनीलाई खर्बौं डलर नोक्सान पु¥याउँछ ।
हालैमात्र गुगलको चालकविहीन गाडीको प्रविधि चीनले चोरेको आरोप संरा अमेरिकाले लगाएको छ । वास्तविकता के हो भने गुगलमा काम गर्ने एक भूतपूर्व कामदार अहिले चिनियाँ कम्पनीमा काम गर्दारहेछन् । त्यसैको निहुँमा उक्त प्रविधि चोरेको आरोप लगाइएको रहेछ । वास्तवमा वी.एम.डब्लुको सहकार्यमा सन् २०१४ देखि नै चीनमा चालकविहीन गाडी निर्माण गर्ने परियोजना सुरू गरिसकिएको थियो । यदि संरा अमेरिकामा काम गर्ने कामदार चीनमा काम गरेकै आधारमा प्रविधि चोरेको आरोप लगाउने हो भने संरा अमेरिका संसारको सबैभन्दा ठूलो प्रविधि चोर हो किनकि विश्वका गरिब मुलुकका थुप्रै प्रतिभावान विद्यार्थीलाई विभिन्न प्रलोभनमा अमेरिका भित्याउँछ । तिनीहरूकै माध्यमबाट संरा अमेरिकाले विभिन्न आधुनिक प्रविधिको विकास गर्ने गरेको छ । यस कुराको पुष्टि हरेक वर्ष घोषणा हुने नोवेल पुरस्कार पाउने व्यक्तिहरूको सूचीबाट हुन्छ । थुप्रै नोवेल पुरस्कार विजेता संरा अमेरिकी नागरिक भए पनि तिनीहरूको मूल देश अर्कै हुन्छ । संरा अमेरिकाको यस्तो आरोप ‘जो चोर उसैको ठूलो स्व’ भनेजस्तै हो । काँचको घरमा बस्नेले अरूको घरमा ढुङ्गा हान्नु मूर्खता हो । यो सबै कुनै समयमा आफूले थिचोमिचो गरेका मुलुकले गरेको प्रगति सहन नसकेको कुण्ठाबाहेक अरू केही होइन ।
हावाबाट बिजुली निकाल्ने टर्वाइनको लागि चाहिने सुपर कन्डक्टर चिप संरा अमेरिकाको एउटा कम्पनीले आविष्कार गरेको थियो । त्यसको ठूलो बजार भनेको हावाबाट बिजुली निकाल्ने चीनको कम्पनी ‘चाइना सिनोभेल विण्ड ग्रुप’ थियो । तर अहिले चीन आफैंले सुपर कन्डक्टर चिपको विकास गरेपछि उसले संरा अमेरिकी कम्पनीसँग उक्त चिप किन्नु परेन, उल्टै विश्व बजारमा कम मूल्यमा उपलब्ध गरायो । संरा अमेरिकी कम्पनीले उत्पादन गरेको चिपको मागमा ह्वात्तै कमी आयो । फलस्वरूप संरा अमेरिकी कम्पनीको नाफामा पनि उल्लेखनीय कमी आउँदा उक्त कम्पनीको शेयर मूल्यमा ८० प्रतिशतले गिरावट आयो । एकाधिकार बजार बनाउँदै अधिक मूल्यमा बेचेर कमाएको प्रशस्त नाफा गुमाउनुपर्दा त्यसको रिस पोख्दै संरा अमेरिकाले उक्त सुपरकण्डक्टर प्रविधि चिनियाँ सेनाले चोरेको आरोप लगायो । यसबाट के पनि पुष्टि हुन्छ भने संरा अमेरिकाले विकास गरेको प्रविधि अरू मुलुकले गर्नै नहुने र हरेक प्रविधिको आविष्कारमा संरा अमेरिका आफ्नो एकाधिकार कायमै रहोस् भन्ने चाहन्छ ताकि विश्व बजारमा महँगोमा बेचेर अधिक नाफा कमाउन सकियोस् । ट्रम्पको ‘अमेरिका फष्ट’ को नाराको पछाडि लुकेको रहस्य यही नै हो । यस्तो नितान्त स्वार्थी नारा बोक्ने साम्राज्यवादी देश अमेरिकाको पहिलेदेखिको चरित्र हो । अर्कोतिर चीन आधुनिक प्रविधिको विकासको प्रतिफल सबै मुलुकले पाऊन् भन्ने मनसायले चीनले ‘एक मार्ग एक क्षेत्र’ र ‘पूर्वाधार विकास बैड्ढ’को अवधारणामार्फत गरिब मुलुकले पनि चिनियाँ प्रविधिबाट लाभ लिनसक्ने विश्व वातावरण तयार गर्दैछ ।
चीनको प्रविधि विकासबाट आत्तिएको संरा अमेरिकाले एउटा नाटक मञ्चन ग¥यो । संरा अमेरिकी व्यापार प्रतिनिधि रोवर्ट लाइथाइजरले ट्रम्पको निर्देशनमा ७ महिना लगाएर ‘चीनले अमेरिकी बौद्धिक सम्पत्ति चोरेको’ विषयमा अनुसन्धान गरे । आफैं बोक्सी र आफैं झाँक्रीको भूमिका खेल्दै चीनमा रहेको संरा अमेरिकी कम्पनीलाई ‘चिनियाँ कम्पनीलाई प्रविधि हस्तान्तरण गर्न बाध्य पारेको, साइबर आक्रमण गरेर संरा अमेरिकी कम्पनीका गोप्य दस्तावेज चोरेको’ लाइथाइजरले रिपोर्ट पेश गरे । चीनको यस्तो गतिविधिबाट संरा अमेरिकी कम्पनीलाई ५० अरब डलर घाटा भएको रिपोर्टमा उल्लेख गरे । यसरी चीनले विकास गरेको आधुनिक प्रविधिबाट छटपटिएको अमेरिकाले बौद्धिक सम्पत्ति चोरेको आरोप लगाउँदै त्यसको सजाय चीनले भोग्नुपर्ने भन्दै चीनबाट आयात हुने सामानमा अतिरिक्त कर लगाउने ट्रम्पले घोषणा ग¥यो । हो, यहीबाट चीन र संरा अमेरिकाबीच व्यापार युद्धको आरम्भ भयो ।
विश्व बौद्धिक सम्पत्ति सङ्घका अनुसार दिमागबाट हुने आविष्कार, कलात्मक कार्य, व्यवसायमा प्रयोग हुने लोगो, डिजाइनजस्ता सृजनालाई बौद्धिक सम्पत्तिको रूपमा लिइन्छ । पेटेन्ट, प्रतिलिपि अधिकार, टे«डमार्कबाट बौद्धिक सम्पत्तिको सुरक्षा हुन्छ जसले कुनै पनि व्यक्तिले गरेको आविष्कारबाट दोस्रो पक्षले मौद्रिक लाभ लियो भने त्यसको हकदार आविष्कारक पनि हुनेछ । बौद्धिक सम्पत्तिको व्यवस्था सृजना र आविष्कारको वातावरण बनोस् भन्ने हो ।
अहिलेको समयमा कुनै पनि प्रविधिको विकास एकै ठाउँमा धेरै वर्षसम्म खुम्चिएर बस्ने अवस्था छैन । सूचना र प्रविधिको जमानामा वस्तुको आयुसमेत छोटिंदै जाने गर्छ । प्रविधिलाई परिमार्जन गर्न सकेन भने नयाँप्रविधिले त्यसलाई प्रतिस्थापनमात्र होइन विस्थापनसमेत गर्नेछ । जति छिटो प्रविधिमा परिवर्तन हुँदै जान्छ त्यति नै बढी लाभ गरिब मुलुकका जनताले पाउन सक्छन् ।
संरा अमेरिकाको मन पोलेको चीनसँगको व्यापार घाटा भएरमात्र होइन, विश्वभरका विकासोन्मुख र अविकसित मुलुकसँग चीनको सुमधुर सम्बन्ध र संरा अमेरिकाको पुरानो विरासत गुम्दै गएको रिस पनि हो । यसैबाट तिल्मिलाएको अमेरिकाले अहिले अनेक निहुँ झिक्दै चीनमाथि दोषारोपण गर्ने क्रम जारी राखेको छ । त्यसैको पछिल्लो निहुँ हो, बौद्धिक सम्पत्ति अर्थात् प्रविधि चोरीको विवाद ।
Leave a Reply