भर्खरै :

वर्षौंदेखि भेरीको दूषित पानी पिउँछन् नाम्रावासी

काशीराम शर्मा
बाँके, १७ साउन । वर्षा होस् कि अन्य कुनै याम नाम्राबासीलाई दूषित पानी पिउनुपर्ने बाध्यता कायमै छ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका –१ नाम्रावासीका लागि पिउने पानी नै भेरीमा बग्ने पानी हो, चाहे त्यो धमिलो नै किन नहोस् । गाउँमा खानेपानीको योजना ल्याउन पानीका स्रोत भने नभएका होइनन् । तर, राजनीतिक पहुँच नभएकाले धमिलो पानी पिउन बाध्य भएको बताउँछन् स्थानीयवासी ।
गंगा प्राविका प्रधानाध्यापक रामप्रसाद शर्माका अनुसार नाम्रामा बस्ती बसेदेखि नै दूषित पानी पिउनुपर्ने बाध्यता छ । “आफूले जान्ने भएदेखि भेरीको पानी बोकेर पिउन थालेको हुँ बाबु, बाजेले पनि भेरी नदीको पानी बोकेरै पिएका हुन् ।” उहाँले भन्नुभयो ।
वर्षायाममा नदी धमिलो भएपछि हुनेले फिल्टर र नहुनेले कपडामा पानी छानेर खानुपर्छ । खानेपानीको सहज र सस्तो व्यवस्थापन भनेको भेरी नदीको पानीलाई तानेर प्रशोधन गरी वितरण गर्नु नै हो । तर विद्युत्को अभावमा त्यो सम्भव भएको छैन ।
खानेपानी लिन नदीमा जाने कतिपयले ज्यानसमेत गुमाउनु परेको छ । फोहोर पानी पिउनाले रुघाखोकी, झाडापखाला, शरीर चिलाउनेलगायतका रोगले सताउने गरेको छ ।
स्थानीयवासीले धेरै पटक केन्द्र, जिल्लास्तरका नेता तथा कर्मचारीलाई खानेपानीको समस्याको विषयमा जानकारी गराए पनि सबैले हुन्छ भन्ने आश्वासनमात्र दिएको स्थानीयको गुनासो छ । नाम्रामा करीब ५५ घरधुरी छन् ।
नजिक मुहान नभएकोले टाढाबाट ल्याउने पानी सानातिना रकमले नपुग्ने भएपछि वर्षौंदेखि नाम्रावासी खानेपानीको समस्याबाट वञ्चित हुँदै आएको स्थानीय युवा कृष्ण शर्माले बताउनुभयो । “दुई वटा मुहानमा सर्भे भएको छ, नजिकै रहेको बिउनारा भन्ने स्थानको मुहान करीब सुकिसकेकाले सम्भव छैन,” शर्माले भन्नुभयो ।
टाढाको चिउरी गौडा खोलाको मुहानबाट खानेपानी योजना सञ्चालनको सम्भावना छ । खर्चिलो भएकोले योजना सम्पन्न हुनेमा स्थानीयवासी विश्वस्त भने छैनन् ।
वर्सात्मा गाउँबाट पानी लिन झरेका महिला बालबालिकाको नदीले बगाएर ज्यानसमेत जान्छ र गाउँमाथिको बस्तीमा नदीमै शौचालयका पाइपबाट शौच पास हुने गरी चर्पी निर्माण गरिएका छन् । नदीमा फोहर फाल्ने कार्यले व्यापकता पाएको छ । नदी छेउछाउका स्थानीय बजारको लागि नदी फोहर फाल्ने डम्पिङ बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *