भर्खरै :

मुनामै चुडिदिंदा लोप हँुदै छन् हिमाली जडिबुटी

– नवीन लामिछाने
मनाङ, १८ साउन । जिल्लामा पाइने जडीबुटी परिपक्व नहुँदै उत्खनन् गर्न थालिएको छ । यार्सागुम्वा, वनलसुन, सतुवाजस्ता महत्वपूर्ण जडिबुटी परिपक्व नहँुदै निकाल्दा बीउ उत्पादन नहुने र जडिबुटी लोप हुनसक्नेमा सरोकारवालाहरूमा चिन्ता बढेको छ  ।
जुनसुकै बोट विरुवाको फूल फुलेर पाकेपछि बीउ उत्पादन हुने भएकोले फूल परिपक्व हुन नपाउँदै इजाजत लिएर जडिबुटी खोज्न जाने परम्पराले यस्ता जडिबुटीको उत्पादनमा कमी हुन थालेको जिल्ला वन कार्यालयका डिएफओ अजय कार्कीले बताउनुभयो ।
त्यस्तै जेठको अन्तिमदेखि आसारको दोस्रो सातासम्म यार्सा टिप्ने समय भए पनि हाल वैशाखको अन्तिम देखि नै इजाजत लिई यार्सा सङ्कलनमा लाग्नाले पनि यसो हुन गएको उहाँको भनाइ थियो ।
यी जडिबुटी जिल्लाभित्र र बाहिरका मानिसको आँखेतारो बनेको छ । जडिबुटी टिप्ने याममा लेकमा मात्र नभई सहरका गल्लीगल्लीमा समेत मानिसको भीड लाग्ने गर्छ । भरिया लगाएर यार्सागुम्बा, वनलसुनजस्ता जडिबुटी खोज्न यहाँका लेकमा स्थानीयका साथै बाहिरी जिल्ला गोर्खा, लमजुङ, रुकुम, रोल्पादेखिका मानिस आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ ।
जडिबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्रले जिल्लाभित्रका लागि सहुलियत दरमा र बाहिराका लागि बढी मूल्य र निश्चित समयावधि तोकेर इजाजत पत्र दिने गरेको उक्त क्षेत्रका कार्यालय प्रमुख बाबुलाल तिरुवाले जानकारी दिनुभयो ।
उहाँका अनुुसार यार्सागुम्बा सङ्कलनका लागि जिल्लाभित्रका मानिसलाई ठाउँ हेरी रु. १० हजारदेखि १२ हजारसम्मको शुल्क तोकिएको छ भने बाहिरी जिल्लाको हकमा रु. २० देखि २५ हजारसम्म रहेको छ ।
वनलसुनका लागि माथिल्लो मनाङको भ्राका, खांसार, पिसाङ, चामे गाउँपालिका र नासों गाउँपालिका छुट्टाछुट्टै दर रहेको प्रमुख तिरुवाले बताउनुभयो । प्रत्येक गाउँपालिकामा संरक्षण व्यवस्थापन समिति रहेको र उनीहरूकै नेतृत्वमा कामकाज हुँदै आएको छ ।
ताचै गाउँ व्यवस्थापन समितिका अध्यक्ष याद घलेका अनुसार स्थानीयलाई रु. पाँच हजार र बाहिरीयालाई रु. १० हजारका दरले शुल्क लिएर इजाजत दिइएको छ  ।
जडिबुटी सङ्कलन गर्ने क्रममा कलिला मुना अपरिपक्वमै टिपिने हुँदा लोप हुने अवस्थामा पुगेका छन् । अझ साना स्कूले विद्यार्थीसमेतलाई अभिभावकले सँगै लगेर जडिबुटी सङ्कलनमा लगाउने र उनीहरूले कलिला मुना पनि टिपिदिंदा यस्तो समस्या आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *