भर्खरै :

चरन क्षेत्र जोगाउन चिउरी रोप्दै किसान

रत्ननगर, १८ साउन  । मौरीको चरन क्षेत्र जोगाउन मौरीपालक किसानले चिउरीका विरुवा रोप्न थालेका छन् ।
भण्डारास्थित मौरीपालन विकास कार्यालयले उत्पादन गरेको बिरुवा विभिन्न जिल्लाका किसानले लगेर रोपेका हुन् ।
उहाँका अनुसार भण्डाराबाट अहिलेसम्म किसानले ३४ हजार चिउरीका बिरुवा लगिसकेका छन् । किसानले दाङमा १० हजार चितवनमा पाँच हजार, मकवानपुरमा पाँच हजार, रौतहटमा तीन हजार, सर्लाहीमा पाँच हजार, बाँकेमा दुई हजार ५००, भक्तपुरमा तीन हजार बिरुवा वितरण भएको कार्यालयकोे तथ्याड्ढमा उल्लेख छ ।
रुपन्देहीलगायत विभिन्न जिल्लाका किसानले छुट्टाछुट्टै रूपमा ५० हजार १०० चिउरीका बिरुवा लगेर रोपको कार्यालयले जनाएको छ ।
अधिकांश मौरीपालक किसानले स्थानीय पहाडी क्षेत्रका सामुदायिक वनसँग सहकार्य गरेर चिउरीका बिरुवा रोपेको नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
चितवनको चेपाङ गाउँ सिद्धिको बटौली सामुदायिक वनलगायत क्षेत्रमा मौरीपालक किसानको सहभागितामा वृक्षरोपण भइसकेको उहाँको भनाइ थियो । सो वृक्षरोपणमा चेपाङको समेत सहभागिता थियो ।
मह उत्पादनका लागि चिउरीको रस महत्वपूर्ण मानिन्छ । चिउरीको मह औषधिको रूपमा समेत प्रयोग हुने भएकोले उभोक्ताले बढी मन पराउँछन् । पछिल्लो समयमा मौरीको चरन क्षेत्र नास हँुदै गएकाले चरन क्षेत्र जोगाउन यसरी चिउरी रोप्न थालिएको सम्बद्ध किसानले बताए । राज्यले नै नीति ल्याएर चरन क्षेत्र जोगाउनुपर्ने उनीहरूको धारणा थियो ।
नेपाल मौरीपालक सङ्घ चितवन शाखाका अध्यक्ष रोशन पण्डितले पछिल्लो समयमा खेतीबालीमा बढ्दो विषादीका कारण मौरीको चरन प्रभावित भएको र उचित संरक्षण नहुँदा प्राकृतिकरूपमा रहेका चरन क्षेत्रसमेत घट्दो क्रममा रहेको बताउनुभयो ।
नेपालका पाँच हजार बढी मौरीपालक किसानले करीब दुई हजार चार सय मेट्रिक टन मह उत्पादन गर्छन् । चितवनमा करीब आठ सय मेट्रिक टन मह उत्पादन हुने नेपाल मौरीपालक महासङ्घले जनाएको छ ।
चितवनमा वि.सं. २०५१ बाट मौरीपालन सुरु भएको हो । अहिले ३५० भन्दा बढी किसान मौरीपालन व्यवसायमा लागेका छन् । विशेषगरी मेलिफेरा मौरी व्यावसायिकरूपमा पालिन्छ । नेपालमा मेलिफेरा ५० हजार र सेरेना मौरी एक लाख बढी गोला रहेको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *