भर्खरै :

समय बदलिएको छ तर शोषक वर्गको गिद्देदृष्टि बदलिएको छैन

रमेश प्रजापति, अध्यक्ष, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, भजिस
सर्वप्रथमतः माटोमा रगतपसिना चुहाई संसारलाई जोगाउने जिम्मेवारी काँधमा बोक्नुभएका सम्पूर्ण किसान मजदुरहरूमा यस छैठौं भक्तपुर जिल्ला सम्मेलनको पूर्ण सफलताको कामना गर्न चाहन्छु।
किसान वर्ग वास्तवमै मेहनती र परिश्रमी वर्ग हुन्। किसानहरूले माटोमा कुटो कोदालो चलाएर धर्तीलाई उर्वर भूमिमा परिणत गरिदिन्छन्। किसानहरूका परिश्रमी हातहरू शिथिल भइदिए भने संसारअघि बढ्न सक्दैन। हामी कारखानाहरूबाट चामल उत्पादन गर्न सकौंला तर धान उत्पादन गर्न किसान नै चाहिन्छ। पिठो बनाउन सक्छौं तर किसानको मेहनतविना गहुँ बनाउन सक्दैनौं। पैसाले माटो किन्न सकिएला तर माटोबाट अन्न उमार्ने कला किसानसँगै मात्र छ। किसानका मैला हातहरूमा नै हाम्रो जीवन गाँसिएको छ। त्यसकारण किसान दाजुभाइहरूको सङ्घर्षशील मेहनती जीवन साँचो अर्थमा  श्रद्धायोग्य छ।
तर सम्पूर्ण मानव जगतलाई जीवन दिने किसान आफ्नैको जीवन भने सधैं शोषण, अन्याय, अत्याचारले भरिएको तीतो यथार्थ हामीसँग छ। किसान वर्गलाई शिक्षाको ज्योतिबाट टाढै राख्ने, राजनीतिबाट परै राख्ने षड्यन्त्रहरू हिजोको सामन्ती समाजमा पनि थियो र आजको पूँजीवादी समाजमा पनि त्यसले निरन्तरता पाएको छ। पढेलेखेका मान्छेहरूले माटोमा हात मैल्याउनुहुन्न, मल बोक्नेले प्रशासन चलाउनुहुन्न भन्ने मान्यताहरूलाई नियोजित रुपमा प्रचारमा ल्याइएको छ। किसानहरूलाई अशिक्षित बनाइरहने, राजनीतिक गतिविधिहरूबाट टाढै राख्ने र त्यसैको आडमा उनीहरूमाथि शोषण दमन गरिरहने यो एक षड्यन्त्र हो। किसानहरू शिक्षित भए भने उनीहरूमाथि शोषण गर्न पाइँदैन, उनीहरूका हक अधिकारहरू खोस्न पाइँदैन भन्ने डरले शोषक वर्गलाई सधैं पिरोलिरहेको हुन्छ। तर हत्केलाले छेक्दैमा सूर्य छेकिन्न, उज्यालोलाई सधैं छोप्न सकिन्न। किसानहरूमाथि भइरहेका शोषण दमनको पर्दा एक न एक दिन च्यातिनु नै थियो र यसमा सधैं किसान, मजदुर र व्यापक गरिब जनताको पक्षमा सङ्घर्ष गर्दै आएको नेपाल क्रान्तिकारी किसान सङ्घले ठूलो भूमिका खेल्दै आएको छ।
इतिहासमा धेरै किसान सङ्गठनहरू आए, गए अझै कति छन् पनि तर तिनीहरूले कहिले पनि किसानहरूका वास्तविक समस्याहरूलाई सम्बोधन गरेनन् जति नेपाल क्रान्तिकारी किसान सङ्घले गरेको छ। तिनीहरू केवल किसानकै भेषमा किसानलाई शोषण गर्ने सामन्तवादीहरूको हतियारमात्र बन्न सके। नेपाल क्रान्तिकारी किसान सङ्घका सङ्घर्षशील योद्धाहरूले विगतका पञ्चायती व्यवस्थासमेत आफ्नो ज्यानको बाजी थापी किसानहरूको पक्षमा सम्झौताहिन सङ्घर्ष गरे। भक्तपुरको इतिहासमा साँढे धपाउने आन्दोलन, भर्पाइ आन्दोलन, मोहियानी हक दिलाउने आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलनले विशेष महत्त्व राखेको छ। यी आन्दोलनहरूको परिणामस्वरुप आज भक्तपुरका किसानहरूको जीवन केही सहज भएको छ। हाम्रा अग्रजहरूले आफ्नो ज्यानको पर्वाह नगरी गर्नुभएका सङ्घर्षले नै आज भक्तपुर यति समृद्ध बन्न सकेको हो। यहाँहरूले रच्नुभएको गर्विलो इतिहासले नै आज हामी आफ्नो शिर ठाडो पारी हिँड्न सकेका छौं।
समयसँगै नयाँ पुस्ताका साथीहरूको जीवनयापन फेरिएको छ। आज हामीले केही सुखको अनुभूतिमा बाँचिरहेका छौं र यससँगै नयाँ पुस्ताका साथीहरूले हिजोको सङ्घर्षशील इतिहास बिर्सदै पो गएको हो कि भन्ने चिन्ताले आज हामीलाई पनि पिरोलेको छ। नयाँ पुस्ताले हिजोका तपाईंहरूलाई बुझ्न सकेन भने भोलि फेरि पनि देशले अन्धकार समयको सामना गर्नुपर्ने हुन सक्छ। त्यसकारण नयाँ पुस्ताका हामी युवा विद्यार्थीहरूलाई तपाईले हिजोका सङ्घर्षशील इतिहास बुझाउने र सङ्घर्षशील भावनालाई जीवित राख्ने जिम्मेवारी पनि हाम्रो हो। हामी यी कुराहरू सुनाउन, सिकाउन पछि पर्‍यौं भने भविष्यमा नयाँ पुस्ताले यसको ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ। त्यसकारण यहाँहरूले आफ्ना सङ्घर्षका कथाहरू लिपिबद्ध गर्नुहुन अथवा आफ्ना छोराछोरीलाई सुनाउनु हुन म यसै मञ्चबाट विनम्र अनुरोध गर्दछु।
समय बदलिएको छ तर शोषक वर्गको गिद्देदृष्टि बदलिएको छैन। नेपाल कृषिप्रधान देश हुँदा पनि नेपालमा अहिलेसम्म  रसायनिक मल कारखाना नखोलिनु, किसानहरूलाई सहुलियतमा कृषि सामान र बीउबिजनहरू उपलब्ध नगराउनु देशलाई फेरि पनि खाद्यान्न र कृषिमा भारतमा परनिर्भर बनाइ राख्ने षड्यन्त्र हुन्। आज देश निर्यातभन्दा बढी खाद्यान्न आयातको मारमा पिल्सिएको छ। केही वर्ष अगाडि पनि दलाल पूँजीपतिहरूले सोझासिधा किसानहरूलाई ठगेका छन्। नाफा खानकै निम्ति म्याद नाघेका, प्रशोधन नगरिएका धानका बीउहरू बिक्री गरेर हजारौं किसानहरूको धानबाली नष्ट तुल्याएका छन्। किसान सङ्घले निरन्तर सो अन्याय र ठगीको विरुद्ध सङ्घर्ष गर्दै आएको छ। तर सरकारले किसानहरूको माग र आन्दोलनलाई आजसम्म सम्बोधन गरेको छैन। यसर्थ पनि वर्तमान सरकार पूँजीपतिहरूको कठपूतली सरकार सावित भएको छ। सँगै अहिले त देश जोगाउने आन्दोलन पनि जोडिएको छ।
आज हामीमा आफ्नो हक अधिकारसँगै देश जोगाउने अभिभारा पनि पर्न आएको छ। आफ्नो हक अधिकारसँगै देश जोगाउने यो आन्दोलनमा यहाँहरूसँगै सङ्घर्षको मोर्चामा अघि बढ्ने आशा एवम् विश्वास व्यक्त गर्दै अन्त्यमा पुनः एकपटक यस नेपाल क्रान्तिकारी किसान सङ्घका छैठौं  भक्तपुर जिल्ला सम्मेलनको पूर्ण सफलताको कामना गर्दै बिदा हुन चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *