भर्खरै :

पत्रपत्रिका प्रकाशनबारे का. रोहित

समृद्धि हुँदैमा, धेरै पैसा हुँदैमा, आर्थिक सम्पन्नता हुँदैमा हामी सुसंस्कृत हुन्छौं भन्ने कुरा होइन । एउटा उदाहरण दिऊँ, २०११ सालतिर, बीए उत्तीर्ण गरेका एक शिक्षकले दिनको चार वटा दैनिक पत्रिका हेर्थे । ती पत्रिका हुन– बिहारको सबभन्दा ठूलो पत्रिका ‘आर्यावर्त’, त्यसको अङ्ग्रेजी प्रकाशन ‘इण्डियन नेशन’, अर्को सरकारविरोधी पत्रिका ‘प्रदीप’ र त्यसको अङ्ग्रेजी प्रकाशन ‘सर्चलाइट’ । २०११ सालको यो कुरालाई हामीले एउटा कस्सी वा उदाहरणको रुपमा लिएर हाम्रा बीए र एमए पास गरेका साथीहरूले दिनको कतिवटा पत्रिका पढ्छन् भनी हेर्दा त्यसको तुलना हुनसक्दैन । किन त्यस्तो हुन्छ ? किनभने हाम्रा साथीहरूमा म सांस्कृतिक सचेतता देख्दिनँ ।
यसको निम्ति हाम्रा शिक्षक, प्राध्यापक र बुद्धिजीवी साथीहरूले घच्घचाउनुपर्ने अवस्था छ । २०१५ देखि २०२० सालसम्म ‘गोरखापत्र’ केही बुद्धिजीवीले र सरकारी कार्यालयमा मात्र हेरिन्थ्यो । विशेषगरी केही शिक्षकहरूले मात्र पत्रिका हेर्थे । शिक्षकहरूले पनि राशिफल र बिदा कति दिन छ भन्ने विषय बढी हेर्थे । अन्तर्राष्ट्रिय समाचार अखबारमा निकै कम हुन्थ्यो । २०१५ सालपछिको अवस्था हेर्ने हो भने दैनिक अखबार थिएनन् । पछि हालखबर पत्रिका निस्कियो । हालखबर पत्रिकामा ‘हाँस्नु हुन्छ ’ भन्ने स्तम्भ थियो । हास्य–व्यङ्ग्य छापिन्थ्यो । धेरैले त्यो स्तम्भमात्र हेर्थे । त्यसले हाम्रो सांस्कृतिक स्तर देखाउँथ्यो ।
काठमाडांैमा नयाँ सडकको रञ्जना सिनेमाघर अघिल्तिर एउटा पसलमा टाइम्स अफ इण्डिया, स्टेसम्यान, इण्डियन एक्सप्रेस आदि हिन्दुस्तानी पत्रिका आउँथे । तीन जना मानिसले एक घण्टासम्म दुवै हातले पत्रिका बाँड्ने गर्थे । त्यसको तुलनामा भक्तपुरमा पत्रिका हेर्ने मानिस निकै कम थिए । २०१९ सालपछि मात्र ‘मातृभूमि’ जस्ता पत्रिका भक्तपुरमा हाम्रै साथीहरूले ल्याएका हुन् । त्यसबेला दुई–तीन सयसम्म ग्राहक थिए । यसरी हामीले त्यत्तिबेलाको काठमाण्डौ र भक्तपुरको तुलना गर्दा हामी धेरै पछि थियौं भन्ने थाहा पाउँछौं । राजनीतिक कार्यकर्ताले मानिसले सास फेरेजस्तै पत्रपत्रिकाहरू हेर्नुपर्ने र जानकारी राख्नुपर्ने हुन्छ । हामीमा समाचार पढ्ने कमी देख्छु ।
साप्ताहिक पत्रिकामा ‘हिन्दुस्तान’, ‘धर्मयुग’ आदि पत्रिका आउँथे । पछिमात्र ‘दिनमान’ आएको हो । त्यसबाहेक जनज्योति पुस्तकालयमा अङ्ग्रेजी पत्रिका ‘अमेरिकन रिपोर्टर’ अङ्ग्रेजी र हिन्दी दुवै भाषामा आउँथ्यो । अमेरिकाबाटै ‘प्रोब्लेम अफ कम्युनिज्म’ भन्ने पत्रिका पनि आउँथ्यो । त्यो मोटो म्यागाजिन हो, रिसर्च म्यागाजिन । सोभियत भूमि हिन्दीबाट आउँथ्यो । सचित्र चीन आउँथ्यो । महत्वपूर्ण पत्रपत्रिका यिनै थिए । ‘सोभियत न्युज एण्ड भ्युज’ भन्ने पत्रिका भक्तपुरमा आउँदैनथ्यो । मुख्य–मुख्य बुद्धिजीवीहरूको बीचमा मात्र पुगेको हुन्थ्यो । २०१९ सालमा हामी नगर पञ्चायतमा निर्वाचित भएपछि हामीले ‘पञ्चायत’ भन्ने पत्रिका निकाल्न सुरुआत ग¥यौं । पछि त्यो पत्रिका नगरपालिकाकै ‘भक्तपुर’ मासिकको रुपमा निरन्तरता दिइयो । जिल्ला विकास समितिमा हाम्रा साथीहरू पुगेपछि त्यहाँबाट पनि केही पत्रिका प्रकाशनको थालनी भयो । तर पछि बन्द भयो । यसरी हेर्दा विचारको हिसाबले भक्तपुर सा¥है पछि थियो भन्न हामीलाई करै लाग्छ । पत्रिका बिक्दैनथ्यो । यो अवस्थाले हामी सधैं चिन्तित र पीडित थियौं । त्यस्तो अवस्थालाई हामीले सधैं फेर्ने काम गथ्र्यौं । हामीले लिथोबाट पनि पत्रिका निकाल्थ्यौं । भूमिगत कालमा पनि हाम्रा साथीहरूले पत्रिका प्रकाशन गर्नुभयो । ती पत्रिकाहरू तपाईंहरूले विभिन्न समयमा हुने प्रदर्शनहरूमा देख्नुभएको हुनुपर्दछ ।
हिन्दुस्तानमा निर्वासनमा बस्दा हामीले विभिन्न चार वटा राजनीतिक समूह मिलेर ‘मजदुर–किसान’ भन्ने पत्रिकाको प्रकाशन सुरु ग¥यौं । भारतीय प्रहरी र गुप्तचर विभागले त्यो पत्रिका निकाल्न दिएनन् । त्यसलाई स्थगित गर्नुप¥यो । पछि नेपालमा आएपछि हामीले ‘आधार’ भन्ने पत्रिका निकाल्यौं । त्योभन्दा अघि हामी हिन्दुस्तानमै बस्दा हिन्दी भाषामै ‘आधार’ भन्ने पत्रिका प्रकाशन गरेका थियौं । त्यो पनि बन्द गर्न लगाइयो । ‘समाचार संसद’ भन्ने पत्रिका थियो । त्यसलाई पनि बन्द गरियो । हिन्दी भाषामै ‘ध्रुवतारा’ भन्ने पत्रिका प्रकाशन ग¥यौं । त्यो पनि बन्द गर्नुप¥यो । त्यसपछि ‘नेपाल–तराई’ का केही अङ्क प्रकाशन भए । अनि नेपालमा जनमतसङ्ग्रह भयो । हामी नेपाल फक्यौँ । यता आएर हामीले ‘आधार’ भन्ने पत्रिका चलायौं । एक वर्ष चल्यो । पछि प्रेसले छाप्न मानेन । अञ्चलाधीशको दबाब गयो । ‘साकार’ भन्ने पत्रिका बनेपाबाट निस्कन्थ्यो । त्यो पनि ठीक एक वर्ष प्रकाशन भयो । त्यसलाई पनि निरन्तरता दिन सकिएन । यसरी हामीले प्रकाशनलाई निरन्तरता दिन धेरै कोसिस ग¥यौं । सरकारले प्रेस, कागज र पैसा दिने प्रस्ताव गरेको थियो । हामीले त्यसलाई अस्वीकार ग¥यौं । ‘गोरखापत्र छँदैछ’, हामी यस्तो काम गर्दैनौं भनेपछि हाम्रा किताब र पत्रिकामा प्रतिबन्ध लगाइयो ।
लेवनान भन्ने एउटा सानो देश छ । त्यहाँ कुनै एउटा समाचारपत्र निस्किन्छ भने त्यो कुनै न कुनै देशको राजदूतावासको सहयोगमा निस्केको मानिन्छ । पत्रिका हेरेपछि कुन देशको विचार के हो भनी थाहा पाउने गर्थे । हाम्रो देशका अधिकांश नाम चलेका पत्रपत्रिका, टीभी च्यानल र एफएमहरूमा विदेशी पुँजी छ–प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ।
अचम्म लाग्ला, पहिले एउटा पार्टी बनाउन एउटा घोषणापत्र चाहिन्थ्यो, एउटा कार्यालय चाहिन्थ्यो, झण्डा चाहिन्थ्यो र एउटा छाप चाहिन्थ्यो । अहिले त्यस्तो होइन । अहिले राजनीतिक पार्टीको लागि साप्ताहिक र दैनिक समाचारपत्रका साथै रेडियो, टीभी आदिको आवश्यकता पर्दछ ।
माओवादीहरू बाहिर आउनुभन्दा अघि उनीहरूको प्रचार कसैले गर्दैनथे । ‘कान्तिपुर’ पत्रिकाले उनीहरूको प्रचार गथ्र्यो । यो सबै भारतकै पैसाले गरिएको थियो । साथै अरु कति पत्रपत्रिका पनि भारतकै भरले चलेका छन् । नेपाली बुद्धिजीवीहरूलाई एउटा लेख लेखेबापत पाँच हजार रुपैयाँसम्म दिन्छन् । हामी आफ्नो बाटोमा अघि बढ्यौं । यसमा अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छैन । सन् १८४५ तिर माक्र्स आफ्नो देशको प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभएको थियो । त्यसबेला ‘राइन समाचार’ भन्ने अखबार निस्कन्थ्यो । माक्र्स आफै त्यसको सम्पादक हुनुहुन्थ्यो । पछि सबै शेयरधनीहरू मिलेर यस्तो विचारको समाचारपत्र निकाल्दैनौं भने । त्यो समयमा पत्रपत्रिकाले प्रगतिशील विचारको समाचार छाप्थ्यो । फ्रान्सेली क्रान्तिको समयसम्म अनुभव बढिसकेको थियो । क्रान्तिताका ‘जनताको साथी’ भन्ने पत्रिका चल्थ्यो । आगोका फिलिङ्गाजस्ता समाचार छापिन्थे । मारात भन्ने नेता त्यसको सम्पादक थिए ।
पछि लेनिनहरूले भूमिगत ढङ्गले ‘इस्क्रा’ अर्थात् फिलिहो नामको पत्रिकाको प्रकाशन सुरु गरे । त्यो मजदुरहरूको घर–घरमा पु¥याइन्थ्यो । एउटा पत्रिका सयजना भन्दा बढी मजदुरहरूले पढ्थे । एक जनाले पढ्थ्यो, दस जनाले सुन्थे ।
आश्चर्यको कुरा, इजरायलजस्तो देशको कम्युनिष्ट पार्टीको समेत रेडियो र टीभी छ । कसरी राख्यो होला ? कसले राख्न दियो होला ? भनी बुझ्दा उनीहरूले त्यहाँका सञ्चारमाध्यमहरूप्रति समय किनेका रहेछन् । उनीहरूले त्यसरी सञ्चारमा काम गरिरहेका छन् । हाम्रो स्थिति भने अलि फरक छ ।
सांस्कृतिक स्तर उठाउन नै हामीले पत्रिका चलायौं । ३३ वर्षको एक पुस्ता मानिन्छ । दोस्रो पुस्ताले काम गरेपछि हाम्रो पत्रिका राम्ररी चल्दै जानेछ । भर्खर हामी एक चौथाइ शताब्दी काम गरेका छौं । यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन । अरु देशभन्दा हामी कति पछि छौं भनी बुझ्न जरुरी छ ।
पैसा भएरमात्र पत्रिका र सञ्चारमाध्यम व्यवस्थित रुपमा सङ्गठित हुन्छ भन्ने कुरा होइन । बीबीसीमा बरोबर हड्ताल हुने कुरा तपाईहरूले सुन्नुभएकै हुनुपर्दछ । विरोध हुन्छ, सम्पादकले राजीनामा दिन्छ । कुनै कुनै सम्पादक सरकारसँग सहमत हुँदैन । सरकारको विचारको घुमाएर विरोध गरिरहेको देखेपछि राजीनामा माग्छ, राजीनामा दिन्छ । जस्तोसुकै प्रतिक्रियावादी ठाउँमा पनि प्रगतिशील विचार उज्यालो हुने रहेछ । बीबीसीमा हडताल हुनु उनीहरू (बेलायती शासक वर्ग) को लागि ठूलो सङ्कटको समय हो । विचारको हडतालले उनीहरूलाई थर्कमान बनाउने रहेछ । पैसाले बजारमा किन्न सकिने धेरै वस्तु छन् तर विचार किन्न नसकिने रहेछ । त्यसै गरी हामीले ‘श्रमिक’ र ‘मजदुर’ लाई निरन्तर अघि बढाउनुपर्छ ।
हामीसँग लेखकहरू कम छन् । मजदुरले नयाँ–नयाँ लेखकहरू जन्माएको कुरा पूर्ववक्ता साथीहरूले भन्नुभयो । त्यो सकारात्मक कुरा हो । त्यसले हाम्रो नयाँ पुस्तालाई सांस्कृतिक रुपमा अगाडि बढ्न मद्दत गर्नेछ ।
पाठकहरूले ‘मजदुर’ र ‘श्रमिक’ मा गल्ती नै नहोस् भन्ने चाहना राख्नु स्वाभाविक हो । नेपालमा एउटा मात्र पत्रिका थियो ‘मातृभूमि’ जसमा भाषागत त्रुटी र प्रुफ गल्ती हुँदैनथ्यो । हेर्दा पत्याउनै नसकिने एक जना पुरानो पत्रकार त्यहाँ काम गर्थे । विषयवस्तुमा राम्रो दखल राख्ने गर्थे । सुरुसुरुमा हामी आफू धेरै जानेका छौं जस्तो लाग्ने तर हाम्रो लेखाइमा धेरै गल्ती हुने गथ्र्याे ।
(२०७२ साल माघ २ गते नगरकोटमा आयोजित मजदुर दैनिक र श्रमिक साप्ताहिकका सहयोगीहरूको भेलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंद्वारा व्यक्त मन्तव्य सान्दर्भिक भएकोले पहिलोपटक प्रकाशन गरिएको छ –सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *