भर्खरै :

ललितपुर मनपाका जनप्रतिनिधिहरू भनपामा

भक्तपुर, २१ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग आइतबार ललितपुर महानगरपालिकाका जनप्रतिनिधि एवं सामाजिक विकास समितिका पदाधिकारीहरुले नगरपालिका सभाकक्षमा भेटघाट गर्नुभयो । महानगरपालिकाका वडाध्यक्ष एवं समितिका संयोजक दिनेश कार्कीको नेतृत्वमा आएको टोलीलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित जनस्वाथ्य केन्द्रमार्फत दैनिक ३०० को हाराहारीमा बिरामीहरुले उपचार सेवा पाइरहेको बताउनुभयो ।
उहाँले केन्द्रमा ९ जना विशेषज्ञ डाक्टरसहित २३ जना डाक्टरहरुले विभिन्न रोगको उपचार गरिरहेको र अहिले आधुनिक सुविधासहितको इमर्जेन्सी सेवासँगै भिडियो एक्सरे सेवासमेत सञ्चालन गरिरहेको चर्चा गर्दै नगरपालिका आफैले ख्वप अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी गराउनुभयो ।
नगरवासी नयाँ पुस्तालाई पूर्व प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा भक्तपुरमै दिलाउन नगरपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएको प्रमुख प्रजापतिको भनाइ थियो ।
महानगरपालिकाको टोलीको नेतृत्वकर्ता वडाध्यक्ष कार्कीले भक्तपुर नगरपालिकाले वडा वडामा नर्स र स्वास्थ्य स्वयंसेविकाहरुमार्फत घरघरमा नर्सिङ सेवा प्रदान गरिरहेको अनुकरणीय भएको बताउनुभयो । जनस्वास्थ्य क्षेत्रमा भक्तपुरका सकारात्मक गतिविधिहरुबाट आपूmहरु सिक्न आएको उल्लेख गर्दै उहाँले ललितपुरमा एउटा अस्पताल मात्र सरकारी र बाँकी २२ वटा अस्पतालहरु निजी रुपमा सञ्चालन भएको तर नगरवासीहरुले सहज रुपमा स्वास्थ्य उपचार पाउन नसकेको बताउनुुभयो ।
टोलीका अर्का सदस्य स्वास्थ्य अधिकृत सरिता महर्जनले ललितपुरमा प्रत्येक वडामा वडा स्वास्थ्य कार्यान्वयन समितिमार्फत वडा दैनिक क्लिनिक सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
भेटमा नगरपालिकाका उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरु रवीन्द्र ज्याख्व, उकेश कवां र प्रेमगोपाल कर्माचार्य तथा कार्यपालिका सदस्य छोरीमैयाँ सुजखू उपस्थित हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *