रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
– गौरव प्रधान
कुनै पनि दलका नेता तथा कार्यकर्ताहरू पार्टीको सिद्धान्त र विचारबाट निर्देशित हुन्छन् । दलको सिद्धान्त र विचार छोडेर राजनीति गर्ने नेता तथा कार्यकर्ताहरू बफादार हुनेछैनन् । दलको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याउने काम नेता तथा कार्यकर्ताहरूको जिम्मेदारी हो । नेताहरूको निर्देशनमा कार्यकर्ताहरू जनतामाझ भिजिरहनुपर्छ, जनताको दुःख सुख बुझ्नुपर्छ । तर आफूलाई क्रान्तिकारी, गौरवशाली, जनवादी र प्रजातन्त्रवादी भन्ने दलका नेता तथा कार्यकर्ताहरू सिद्धान्त र विचारको राजनीति गर्दैनन् । सिद्धान्त र विचार बन्धक राखेर अवसर छोप्छन् । पदको दुरुपयोग गरी अकुत सम्पति कमाउँछन् । उनीहरू राजनीतिमा लागेर राजनीतिलाई लात मारेर सात पुस्ताको लागि पुग्ने धन सोहर्छन् । पार्टी, सिद्धान्त र विचारको कुनै ख्याल राख्दैनन् । आज देशले विकासमा कोल्टो फेर्न नसक्नुको कारण पनि सत्तासीन दलका नेता, मन्त्री, सांसद तथा कार्यकर्ताहरू व्यक्तिगत र दलगत स्वार्थमा लाग्नु हो ।
सत्तासीन र ठूला दलका नेता तथा कार्यकर्ताहरूले देश र जनताको निःस्वार्थ र इमानदारीपूर्वक सेवा गर्न होइन पैसाकै निम्ति राजनीति गरिरहेका छन् । साम, दाम, दण्ड र भेदको नीति अँगाली जसरी भए पनि निर्वाचन जित्ने र सरकारको नेतृत्व गर्ने नै उनीहरूको लक्ष्य रहेको छ । पैसाको खोलो बगाएर निर्वाचित सत्तासीन दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरू विकासको ध्वाङ फुकेर कमिसन बटुल्छन् । जनताको अगाडि विकासको लोभ देखाएर त्यही विकासको रकम झ्वाम्म पार्छन् । उनीहरूको विकासको पछाडि कमिसन खाने या विकासको नाउँमा पदमा दुरुपयोग गरी अकुत सम्पति कमाउने ध्येय रहेको छ । त्यसकारण ठूला दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरू सिद्धान्त र विचारको राजनीति गर्दैनन् या त्यसको वास्ता गर्दैनन् ।
तिनीहरू आफूलाई कम्युनिष्ट ठान्छन् । दलको पथ प्रदर्शक माक्र्सवाद लेनिनवाद ठान्छन् । तर माक्र्सवाद र लेनिनवादको सिद्धान्त र विचार मान्दैनन् या वर्गसङ्घर्षको बाटो छोड्छन् । उनीहरू आमूल परिवर्तनको निम्ति सिद्धान्त र विचार जनतामाझ पु¥याउँदैनन्, जनतालाई सचेत र सङ्गठित गरेर आमूल परिवर्तनभन्दा सरकारको नेतृत्व गर्छन्, राज्यकोषमा दाइँ गर्छन् । सरकारको नेतृत्व गरेर समृद्ध नेपाल र सुखी नेपाली बनाउने आशा बाँद्छन् र तड्नुसार नै सरकारले राज्य सञ्चालन गरिरहेको छ ।
Leave a Reply