भर्खरै :

पुनःनिर्माण सम्पन्न भएको महिना दिन नबित्दै पानी चुहिन थाल्यो

– पूर्णप्रसाद मिश्र
साँखु, काठमाडौं, २५ साउन । भूकम्पले भत्किएर पुनःनिर्माण सम्पन्न गरिएको लिच्छविकालीन दुई मन्दिरमा महिना दिन नबित्दै पानी चुहिन थालेको छ ।
ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण शङ्करापुर नगरपालिका–७ स्थित साँखु सहरको साल्खा टोलमा रहेको राम झुपडी कृष्ण मन्दिर पुनःनिर्माण गुणस्तरीय नभएको स्थानीयवासीको आरोप छ । जसका कारण मन्दिरका काठ लगायत संरचना मक्काएर जीर्ण हुने भएको छ ।
मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागले बोलपत्र आह्वान गरेको थियो । मन्दिर पुनःनिर्माणलगायत सूचना संलग्न गरी निर्माणस्थलमा राखिनुपर्ने सूचनापाटीसमेत नराखी मन्दिर बनाइँदा गुणस्तरहीन भएको हो । कानूनी व्यवस्थाअनुसार राखिनुपर्ने जानकारीमूलक तथ्य समेटिएको सूचना पाटी नराख्दा स्थानीयवासीले यससम्बन्धी जानकारी नपाएको पूर्व गाविस अध्यक्ष गोविन्दप्रसाद श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
“जानकारीमूलक बोर्ड नराखिएकाले कति लागतमा बनेको हो भन्ने तथ्य थाहा पाउनबाट पनि हामी वञ्चित भयौं, काम गुणस्तरीय नभएपछि हामीले बजेट रोक्न विभागका इञ्जिनियरलाई अनुरोध गरेका थियौं, हुन्छ भने पनि निर्माण व्यवसायीलाई पैसा दिएछन्”–उहाँले भन्नुभयो ।
पानी चुहिएर मन्दिरभित्रका काठ फुलेका छन् । मन्दिरभित्र चुहिएको पानी थाप्न स्टिलका बाटा राखिएको छ । निर्माण व्यवसायीले मन्दिरका लिच्छविकालीन काष्ठकलाले युक्त कलाकृति पनि लिएर गएको स्थानीय योगेन्द्रलाल वसीले बताउनुभयो ।
“मन्दिर छाइएको पुरातात्विक महत्वको २२ गेजको जस्ता पनि निर्माण व्यवसायीले लिएर गए, रेलिङ, फलाम, काठमा बुट्टाजस्ता सामग्री पनि यहाँबाट गायब छन्, ती सबै सामग्री निर्माण व्यवसायीले नै लिएर गएछन्”–उहाँले भन्नुभयो ।
गुप्ती गणेश कन्स्ट्रक्सनका विकास श्रेष्ठ भने वडाध्यक्षले नै पुरातात्विक महत्वका सामग्री मन्दिर परिसरमा राख्दा फोहर हुने भएकाले लैजान भनेको दाबी गर्नुहुन्छ । मन्दिरको पानी चुहिने समस्या समाधानका लागि आइतबार विभागका इञ्जिनियरसहितको समूह लिएर जाने उहाँको दावी छ ।
निर्माण व्यवसायीले पुराना सामग्री प्रयोग गरेर चुकुलसम्म लगाउन नमिल्ने गरी पुनःनिर्माण गरिएको नगरपालिकाका प्रमुख विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।
“मन्दिर छाउँदा तीन बाई चार पाता खप्ट्याउनुपर्नेमा एक इञ्च खप्ट्याइएको छ, यसले गर्दा वर्षात्मा धेरै ठाउँबाट पानी चुहिन थालेको छ, पुनःनिर्माणका क्रममा विभागका इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र निर्माण व्यवसायीलाई पटकपटक भन्दा पनि सुधारिएन”–उहाँले भन्नुभयो ।
विभागकी पुरातत्व अधिकृत सविता न्यौपानेलाई पनि पुनःनिर्माण गुणस्तरीय नभएकाले बजेट रोक्न पटकपटक खबर गरिएको वडा कार्यालयले जनाएको छ । विभागले निर्माण व्यवसायीलाई बीचमा सिलिकन राख्न लगाई पूरा बजेट दिएको थियो । सिलिकन ठोके पनि पानी ह्वाल मन्दिरभित्रै छिरेको छ ।
गुप्ती गणेश कन्स्ट्रसनले प्रायः सबै सामग्री पुरानै प्रयोग गरेर मन्दिरको पुनःनिर्माण गरेको हो । निर्माण व्यवसायीले १० वटा थाममात्र नयाँ ल्याएको स्थानीयवासीले बताएका छन् । मन्दिर पुनःनिर्माणका लागि रु. ३५ लाखमा ठेक्का दिइएको विभागकी पुरातत्व अधिकृत न्यौपानेले राससलाई जानकारी दिनुभयो ।
नगरपालिका–६ मा रहेको नारायण मन्दिरमा पनि पुनःनिर्माण सकिएलगत्तै पानी चुहिन थालेको छ । पुरातात्विक सम्पदा संरक्षण एवं सम्वद्र्धनका लागि काम गर्ने विभागले बोलपत्र आह्वान गरी बनाएका स्थल एक महिना पनि नटिक्दा शङ्का गर्नुपर्ने अवस्था रहेको स्थानीयवासीको भनाइ छ ।
नारायण मन्दिरको पुनःनिर्माणका लागि पनि रु. ३५ लाखमै मिलीजुली कन्स्ट्रक्सनलाई बोलपत्र दिइएको विभागकी पुरातत्व अधिकृत न्यौपानेले बताउनुभयो । निर्माणको जिम्मेवारी पाएका व्यवसायी राजेश श्रेष्ठ झिँगटी राख्न जान्ने मिस्त्री नपाएकाले नारायण मन्दिर छाउने काम सम्पन्न हुन नसकेको बताउनुहुन्छ । दक्ष मिस्त्री पाए तीन घण्टामा काम सकिने उहाँको दाबी छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले भूकम्प प्रतिरोधी एवं गुणस्तरीय संरचना बनाउनुपर्ने बताउनुभयो ।
भूकम्पले भत्किएका १८५ पुरातात्विक सम्पदा निर्माण सम्पन्न भइसक्दा पानी चुहिएको गुनासो पहिलोपटक आएको प्राधिकरणले जनाएको छ । यस्ता समस्या धेरै आए सुधारका लागि नीति निर्माण गरिने पुरातत्व अधिकृत बाँस्कोटाले बताउनुभयो ।
भूकम्पले भत्किएका ७५३ सम्पदा पुनःनिर्माण हुनुपर्नेमा ५०० भन्दा बढीको अझै काम सुरु हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *