भर्खरै :

व्यापार युद्ध होइन, अर्थ राजनीतिक युद्ध

राजन
चीन र अमेरिकाबीचको व्यापार युद्ध अर्थ राजनीतिक युद्धमा परिवर्तन हुने सम्भावना बढ्दै गएको छ । अमेरिकाले विभिन्न मुलुकसँग भइरहेको व्यापार विवादबाट पछि हटेर चीनसँग मात्र भिड्ने मनसाय बनाएको छ । भर्खरै अमेरिकी राष्ट्रपतिको युरोपमा भएको भ्रमणमा युरोपसँगको व्यापार विवादलाई हल गर्ने गरी युरोपेली मुलुकबाट आयात हुने स्टिललगायत अरू वस्तुमा लगाइएको कर फिर्ता लिएको छ भने पछिल्लो पटकको ‘उत्तर अमेरिका खुला व्यापार सम्झौता’ २४ वर्ष पुरानो नाफ्टा पुनर्लेखन हुने भएकोले मेक्सिको र क्यानाडासँग भएको व्यापार विवाद पनि हल हुने सड्ढेत देखिएको छ ।
विभिन्न मुलुकसँग व्यापारिक विवाद हल गर्ने ट्रम्पको मनसायको पछाडि अहिलेलाई चीनसँग मात्र भिड्ने नियत स्पष्ट देखिन्छ । चीनसँग व्यापारिक विवाद झनै चर्काउँदै लाने तयारीस्वरूप पछिल्लोपटक चीनबाट आयात हुने २०० अर्ब डलर बराबरको वस्तुमाथि लगाउने भनिएकोे करको दरलाई दोब्बर गर्ने ट्रम्प प्रशासनले घोषणा गरेको छ । प्रत्युत्तरमा चीनले पनि अमेरिकाबाट आयात हुने वस्तुमा त्यतिकै दरमा कर वृद्धि गर्ने घोषणा गरेको छ । ६० अर्ब बराबरको ५ हजार २ सय अमेरिकी वस्तुमा थप कर लगाउने घोषणा चीनले गरेको छ ।
हरेक कोणबाट चीनलाई अप्ठेरो पारेर चीनको आर्थिक प्रगतिलाई तहसनहस पार्ने सोच अमेरिकाले बनाएको देखिन्छ । व्यापारीबाट राजनीतिक व्यक्तित्व बनेका ट्रम्पले आफ्नो व्यापारिक रणनीतिलाई चीनसँग पनि लागू गर्न सकिन्छ कि भनेर चाल चालेका छन् । व्यापार घाटा कम गर्न चिनियाँ बजारमा अमेरिकी वस्तुको पहुँच अझ कसरी बढाउने भन्ने प्रयास ट्रम्पले अहिलेसम्म गरेको देखिंदैन । ट्रम्पको मनसाय चीनसँग व्यापार सन्तुलन बनाउने नै होइन, उनको नियत भनेको चीनको नवप्रवद्र्धन क्षमतालाई पङ्गु बनाउँदै चीनको आर्थिक विकासलाई रोक्ने, जसबाट विश्व मञ्चमा चीनको प्रभावलाई कम गर्नेमात्र हो, भलै त्यसको मूल्य बहुसङ्ख्यक अमेरिकी जनताले आफ्नो जीवनस्तर कष्टकर बनाएर चुकाउन किन नपरोेस् । थपएिको करले गर्दा औसत अमेरिकीहरूको जीवनस्तर कष्टकर हुने हुँदा अमेरिकी खुद्रा व्यापार सङ्घले हालैमात्र चीनबाट आयात हुने वस्तुमा बढाइएको करको विरोध गरेको छ ।
ट्रम्पले चीन अमेरिका व्यापार युद्धमा अमेरिकाको जीत हुने दम्भ देखाउँदै आएका छन् । चीनमा अमेरिकाको निर्यात १२९ अर्ब र ५०५ अर्ब डलर बराबर चीनबाट आयात हुने हिसाबको आधारमा यदि व्यापार ठप्प भएमा चीन बढी घाटामा हुने र अमेरिका थोरै घाटा हुने अवस्थालाई अमेरिकाको जीत हुने ट्रम्प ठान्छन् । व्यापार युद्धमा अमेरिकाले जित्ने ट्रम्पको यस्तो टिप्पणीको सन्दर्भमा पूर्व अमेरिकी राष्ट्रपति वाराक ओबामाका आर्थिक सल्लाहकार अष्टन गुलसवीले एक अन्तर्वार्तामा व्यङ्ग्य गर्दै भनेका छन् ‘‘अरूको ठूलो घर जलेको तर मेरो त सानो घरमात्र जलेको भनेर ट्रम्प मख्ख परेका छन् ।”
ट्रम्पको ईंटाको जवाफ पत्थरले दिने मनसाय चीनले बनाइसकेको चीनको पछिल्लो कदमबाट देखिन्छ । चीन अमेरिकालाई पञ्छाएर बाँकी विश्वसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउनतिर लागेको छ । यसको पछिल्लो उदाहरण अरब मुलुकसँग चीनको नयाँ सहकार्यलाई लिन सकिन्छ । भर्खरै चीनले अरब सहयोग मञ्च, भविष्यमुखी रणनीतिक साझेदारी विस्तृत सहयोग र साझा विकास गठन गरेको छ । यस मञ्चको माध्यमबाट दुबै पक्षलाई हित हुने किसिमले विभिन्न परियोजना अगाडि बढाउने घोषणा गरिएको छ । चीनको पकड रहेको ब्रिक्सलाई विस्तार गर्दैछ । टर्कीको आन्तरिक मामलामा अमेरिकी हस्तक्षेपबाट असन्तुष्ट रहेको टर्कीलाई हालैमात्र ब्रिक्समा आबद्ध हुन आग्रह गरेको छ । अमेरिकी नेतृत्वमा रहेको नाटोसँग आवद्ध टर्कीले आफ्नो प्रतिद्वन्द्वी ब्रिक्समा आबद्ध हुने कुरा अमेरिकाको लागि ठूलो झट्का हुनेछ ।
२० औं शताब्दीको अन्त्यतिर सोभियत रूसलाई प्रतिकार गर्ने हिसाबले चीन अमेरिकाको रणनीतिक साझेदार भएको थियो । तात्कालीन अमेरिकी राष्ट्रपति निक्सनले यसको लागि ठूलो प्रयास गरेका थिए । तर जर्ज बुसको पालासम्म आइपुग्दा चीन रणनीतिक साझेदारबाट रणनीतिक प्रतिद्वन्द्वीको रूपमा परिवर्तित भइसकेको थियो । यसबाट के प्रष्ट हुन्छ भने विश्वमा जुन देश प्रगतिउन्मुख हुन्छ त्यसलाई रोक्न जस्तोसुकै कदम चाल्न तयार हुने अमेरिकाको संस्कार रहेछ । अर्थात् विश्वमा शान्ति कायम भएको हेर्नै नचाहने अमेरिकी मानसिकता रहेछ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार ह्वाइट हाउसको व्यापार तथा म्यानुफ्याक्चर नीतिले चीनमाथि बौद्धिक सम्पत्ति अधिकार उल्लङ्घनको रिपोर्ट प्रस्तुत गरेको छ । चीनको वैदेशिक लगानी नीतिका ‘बजार प्रवेश स्वीकृति’ र ‘सरकारी अनुगमन’लाई बाध्यकारी प्रविधि हस्तान्तरणको रूपमा गलत व्याख्या गरेर उक्त रिपोर्टमा उल्लेख गरिएका अविश्वसनीय तर्कलाई पुष्टि गर्ने प्रयास गरेको छ । चीनले कहिल्यै पनि विदेशी कम्पनीलाई प्रविधि हस्तान्तरण गर्न बाध्य पारेको छैन र न कानुनले नै यस्तो प्रबन्ध गरेको छ । बौद्धिक सम्पत्ति अधिकारको विषयमा अरू मुलुकले जस्तै चिनियाँ सरकारले आफ्नो प्रभावकारी भूमिका खेलिरहेको छ । यदि चिनियाँ बजार कानुनी विधिमा आधारित नभएको भए विश्वका प्रमुख बहुराष्ट्रिय कम्पनीको लगानीको प्रमुख गन्तव्य हुने थिएन । त्यसैगरी विश्वका ठूला बहुराष्ट्रिय कम्पनीको लागि विश्वव्यापी औद्योगिक श्रृङ्खलाको लागि चीनलाई प्रमुख स्थानको रूपमा लिने थिएन । शब्दले भन्दा तथ्यले झनै राम्रो बोल्छ । चीनमा रहेको ‘अमेरिकी च्याम्बर कमर्स’को सर्भेक्षणअनुसार झण्डै सबै अमेरिकी कम्पनी के कुरामा सहमत छन् भने बौद्धिक सम्पत्ति अधिकारमा चीनले ठूलो प्रगति गरेको छ । ७४ प्रतिशत कम्पनीले आगामी वर्ष चीनमा लगानी बढाउने योजना रहेको बताएका छन् ।
दुर्भाग्यवस ट्रम्प प्रशासनले चीनको प्राविधिक नवप्रवद्र्धन र बौद्धिक सम्पत्ति अधिकारजस्ता विषयमा बासी आलोचना गरेर परिस्थितिलाई थप उत्तेजित बनाउँदै छ । जबकि आफैले चीनबाट आयात हुने वस्तुमा कर थप्दै विवादको सुरूवात गरेको थियो । व्यापार र उत्पादन सम्बन्धित नीतिबारे ह्वाइट हाउसद्वारा प्रस्तुत रिपोर्टले अझै पनि अमेरिका शीतयुद्धको धङधङीबाट मुक्त हुन सकेको छैन भन्ने कुरा पुष्टि भएको छ । अन्तर्राष्ट्रिय समुदायले अमेरिकाको आधारहीन र वास्तविकतालाई बङग्याइएको दाबीलाई विश्वास गरेको छैन भनेर सिन्ह्वा समाचारले दाबी गरेको छ । डब्लुटिओले पनि अमेरिकाको नाम नलिइकन चीन र अमेरिकाबीचको व्यापार विवादमा अमेरिकाको गल्ती रहेको वक्तव्य प्रकाशित गरेको छ । चिनियाँ अर्थतन्त्रलाई तहसनहस पार्ने ट्रम्पको प्रयास अव्यवहारिक हो भन्ने कुरालाई समयले पुष्टि गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *