भर्खरै :

कुखुरा र मासुको अवैध निकासी बन्द गर्नुपर्छ

नेपालगञ्जको रुपेडिया नाकामा अवैध रुपले भारतबाट कुखुरा र कुखुराको मासु आयात हुने गरेको छ । नेपालमा सीमापारिबाट कुखुरा वा अन्य पशुपन्छी भित्याउन क्वारेन्टाइन परीक्षण गर्नुपर्दछ । तर त्यहाँ यस्ता कुनै पनि प्रक्रिया पूरा नगरी कुखुरा र मासु भित्याइने गरेको छ । यसरी अवैध रुपमा मासुजन्य पशुपन्छी भित्याउनेमा प्रहरीको समेत मिलेमत्तो हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक–पटक प्रहरीले नै त्यहाँ घूस लिइरहेको अवस्थामा पक्राउ गर्नुले पनि यो कुरा सावित भएको छ । कुखुरा र अरु पशुपन्छी तथा तिनको मासु रोगका स्रोत पनि हुने गरेका छन् । बल्र्डफ्लु, स्वाइनफ्लुजस्ता घातक सङ्क्रामक रोग पशुपन्छी र मासुबाटै फैलिने गर्दछ । ती रोगका कारण धेरै मानवीय क्षतिसमेत हुने गरेको छ । अफ्रिकाका विभिन्न देशमा फैलिएको इबोला ज्वरोको कारण मानिसको ज्यान गएको थियो, जुन रोगको कारक पशुपन्छी नै थियो । त्यसकारण संसारका सबै विकसित र विकासशील देशले आफ्नो सीमाभित्र कुनै पनि पशुपन्छी वा मासु भित्रयाउन कडा वैज्ञानिक जाँच गर्ने गरिन्छ, किनभने यो आफ्नो नागरिकको सुरक्षासँग जोडिएको विषय हो ।
तर नेपालगञ्ज भन्सारमा जनताको जीवनरक्षाको जिम्मेवारी लिएका प्रहरीकै संलग्नतामा जनस्वास्थ्यमा घातक असर पर्ने यस्ता काम हुनु विडम्बनापूर्ण कुरा हो । राज्यले सिमानामा यो विषयमा थोरैमात्र पनि खेलाँची गरे त्यसको दुष्प्रभावको मूल्य निकै चर्को हुनसक्छ । एक जना प्रहरीले केही सय रुपैंयाँको लोभमा गर्ने सानो गल्ती देश र नेपाली जनताको निम्ति भारी हुनसक्छ । त्यसकारण राज्यले यो विषयमा विशेष सावधानी अपनाउनुपर्दछ । दोषी प्रहरीलाई कडा कारबाही हुनुपर्दछ ।
सिमाना नाकामा यस्ता विषयको परीक्षण गर्न सुविधासम्पन्न चौकीको बन्दोबस्त हुनुपर्दछ । तर अधिकांश नेपाली सीमा चौकीमा न्यूनतम पूर्वाधारको बन्दोबस्त पनि छैन । क्वारेन्टाइन परीक्षणको लागि आवश्यक वैज्ञानिक मेसिनको बन्दोबस्त हुन सकेको छैन । त्यसकारण पनि नेपाल–भारतको खुला सिमानाको फाइदा लिने तस्करहरूले यस्ता काम गर्दै आएका छन् ।
पश्चिम नेपालमा भारतको तुलनामा नेपालमा कुखुरा र कुखुराको मासु महँगो भएकोले पनि यो समस्या बढेको देखिन्छ । त्यसकारण राज्यले त्यहाँ कुखुरापालन व्यवसायको प्रवद्र्धनमा जोड दिन जरुरी छ । त्यसले कुखुरा र मासु सीमापारिबाट ल्याइरहने बाध्यता रहँदैन ।
सीमा चौकीमा यस्ता संवेदनशील विषयमा काम गर्ने प्रहरी र कर्मचारीलाई सो विषयमा तालिम दिन जरुरी छ । सामान्य प्रहरीको तालिम प्राप्त मानिसले यस्ता चेकजाँचको संवेदनशीलता र महत्वबारे नबुझेर पनि गम्भीर गल्ती हुनसक्ने भएकोले उनीहरूलाई जिम्मेवार बनाउन राज्यले आफ्नो दायित्व पूरा गर्नुपर्दछ ।
सस्तोमा पाइने भएकोले भारतबाट अवैध रुपमा ल्याएको मासु विशेषतः नेपालगञ्जका कहलिएका होटल र रेष्टुराँमा प्रयोग हुने गरेका छन् । प्रशासनले नाफाको लागि जनस्वास्थ्यको संवेदनशीलता समेतलाई बेवास्ता गर्ने नाफाखोर पुँजीपति वर्गलाई पनि कारबाहीको दायरामा ल्याउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *