भर्खरै :

सहकारी संस्थाबारे विद्यालय पाठ्यक्रममा समावेश हुनुपर्ने सुझाव

भक्तपुर, २६ साउन । बचत तथा ऋण सहकारी संस्थाको गठन र सञ्चालन, उपभोक्ता समितिमार्फत विकास निर्माण गर्ने तथा अन्धविश्वासविरूद्धका विषयबारे स्थानीय तहको पाठ्यक्रम र पाठ्यपुस्तकमा समावेश गरी नयाँ पुस्तालाई शिक्षित र दिक्षित गर्नु आवश्यक छ ।
सहकारी समाज नेपालद्वारा आयोजित भ्रष्टाचारविरोधी आन्दोलन र सहकारी विषयक अन्तरक्रियामा नेपाल मजदुर किसान पार्टीका सविच एवं सांसद प्रेम सुवालले उक्त विचार राख्नुभएको हो ।
उहाँले नेमकिपा स्थापनाको एउटा आधार भ्रष्टाचारविरोधी आन्दोलन पनि भएको चर्चा गर्दै विकास निर्माण ठेक्का–पट्टामा दिनुपर्ने कानुनी प्रावधानले भ्रष्टाचारलाई बढाएको उल्लेख गर्नुभयो ।
संविधानमा सार्वजनिक, निजी र सहकारीलाई अर्थतन्त्रको तीन खम्बा उल्लेख गरिए पनि सार्वजनिक र सहकारी खम्बा नै बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले सहकारी ऐन आवश्यकताअनुसार संशोधन भइसकेको र हुँदै जाने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुरका अध्यक्ष मिनबहादुर बाटाले पार्टीका अग्रजहरूले नेतृत्व गर्नुभएको २०२५ साउन २ र २०२६ असार १९ गतेको भ्रष्टाचारविरोधी आन्दोलन र त्यसबाट नयाँ पुस्ताले लिनुपर्ने पाठबारे चर्चा गर्नुभयो ।
समाजका उपाध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारी ऐन, २०७४ मा भएको कारोवार, रजिष्ट्रेशन, दृष्टिबन्धक, जगेडा कोष, संरक्षित पुँजी फिर्ता कोष, सहकारी प्रवद्र्धन कोषमा कर छुट, सुविधा र सहुलियत कार्यान्वयन नहुँदा सहकारी संस्थालाई हानी पुगेको बताउनुुभयो ।
आयोजक समाजका अध्यक्ष केदार खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा सचिव जगनाथ प्रजापतिले अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *