भर्खरै :

टर्की अमेरिकासँग अनावश्यकरुपमा तर्सिने छैन ः एर्दोगान

अङ्कारा, टर्की, ३ भदौ (एएफपी) । अङ्कारा र वासिङ्टनबीचको विवाद चर्किरहेका समय अमेरिकासँग नडराउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताउनुभएको छ ।
अमेरिकी धर्मगुरुलाई टर्कीले बन्दी बनाएको विषयले दिनप्रतिदिन विवादलाई साम्य गर्नुको सट्टा थप तिक्ततापूर्ण बनाएको छ ।
आफूलाई रणनीतिक सहयात्रीको रूपमा प्रस्तुत गर्ने तर सोही समूहको एक सहयोगी राष्ट्रलाई रणनीतिक रूपमा लक्षित गरी आक्रमण गर्ने अमेरिकी नीतिबाट टर्की पछि नहट्ने राष्ट्रपति एर्दोगानले बताउनुभएको छ ।
अमेरिकी धर्मगुरुलाई बन्दी बनाएको विवाद बढ्दै जाँदा टर्की र अमेरिकाबीच व्यापार युद्धको अवस्था आएको र यसबाट टर्कीको मुद्रामा निकै गिरावट आएको छ । तर अमेरिका र टर्कीको नेतृत्व आफ्नो निर्णयप्रति अडिग नै रहँदै आएको छ ।
टर्कीको सत्तारूढ दल जस्टिस एन्ड डेभलपमेन्ट पार्टीको सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीलाई रणनैतिक साझेदारका रूपमा प्रस्तुत गर्ने र हामीलाई नै लक्षित गरी हुने कुनै पनि मुलुकका गतिविधिबाट टर्की तर्सिने छैन ।”
“केही व्यक्तिले हामीलाई अर्थतन्त्र सङ्कट, प्रतिबन्ध, विदेशी मुद्रा, व्याजदर र मुद्रास्फीतिलाई देखाएर त्रास देखाएका छन्, चुनौती दिएका छन् तर यसबाट टर्की विचलित हुने छैन । हामी तिमीहरूको छलकपट बुझेका छौं ।”
गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीबाट अमेरिका आयात गर्ने आल्मुनियम र स्टीलमा करको दायरा दोब्बर बनाउने घोषणा गर्नुभएको थियो । जसबाट अङ्कराले पनि कैयौं अमेरिकी उत्पादनमा करको दायरा बढाएको थियो । यसको प्रभाव टर्कीको मुद्रामा एकै दिनमा २० प्रतिशतसम्मको प्रत्यक्ष प्रभाव पर्न थालेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *