भर्खरै :

के हुँदैछ ब्राजिलको राष्ट्रपतीय निर्वाचन प्रचारमा ?

 प्रकाश
ब्राजिलको राष्ट्रपतीय निर्वाचन–२०१८ झन् झन् अनिश्चितताको भूमरीमा धकेलिँदै छ । सबैभन्दा बढी लोकप्रिय देखिएका उम्मेदवार पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई जेलमा बन्दी बनाइएको छ । लुलाका समर्थकहरू लुलामाथिको भ्रष्टाचारको अभियोग बनिबनाउ वा निमित्त मात्र भएको बताउँदै लुलाबिना राष्ट्रपतीय निर्वाचन हुनै नसक्ने बताउँछन् ।
ब्राजिलका र अन्तर्राष्ट्रिय कानुनका धेरै विज्ञहरूले लुलामाथिको अभियोग बन्दी प्रत्यक्षीकरणको उहाँको मौलिक अधिकार र निर्वाचन लड्न पाउने राजनीतिक अधिकारबारे बहस गरिसकेका छन् । क्रिश्चियन धर्मका सर्वाेच्च धर्मगुरु पोप फ्रन्सिसले समेत लुलाप्रति सहानुभूति व्यक्त गर्दै पूर्वराष्ट्रप्रमुखलाई बन्दी बनाइएकोमा चिन्ता प्रकट गरिसकेका छन् ।
लुलाको दुई राष्ट्रपतीय कार्यकाल कैयौं सामाजिक कार्यक्रमका कारण अविस्मरणीय रह्यो । दसौं लाख ब्राजिलियाली जनतालाई गरिबीबाट माथि उकासियो । त्यस देशलाई संयुक्त राष्ट्र सङ्घको भोकमरी हुने देशको नक्सा र सूचिबाट हटाउन सफल भयो । लुलाले राष्ट्रपति कार्यालय छोड्दा जनताबीच उहाँको लोकप्रियता ८३ प्रतिशत पुगेको स्वतन्त्र मत सर्वेक्षण संस्था डाटाफोल्हाले जनाएको थियो ।
ब्राजिलका सबभन्दा लोकप्रिय राजनीतिज्ञको उम्मेदवारी अभियान र राष्ट्रपतीय बहसमा अनुपस्थितिबीच पनि पहिलो चरणको निर्वाचन अक्टोबर ७ का दिन गर्ने तय भइसकेको छ । त्यसैलाई ध्यानमा राखी विभिन्न राजनीतिक पक्ष आ–आफ्ना उम्मेदवारसहित मैदानमा ओर्लिसकेका छन् ।
लुलापछि दोस्रो नम्बरमा आएका उम्मेदवार अति–दक्षिणपन्थी संसद सदस्य जैर बोल्सोनारो सोसियल लिवरल पार्टीका नेता हुन् । बोल्सोनारोले आफ्नो उपराष्ट्रपतिका रुपमा अवकाशप्राप्त सैनिक जनरल एन्टोनियो ह्यामिल्टनलाई उभ्याएका छन् । ह्यामिल्टन ती जनरल हुन् जसले गत वर्ष ब्राजिल सेनाद्वारा सैनिक विद्रोह सम्भव छ भनी धम्की दिएका थिए ।
बोल्सोनारोले आफू राष्ट्रपति बनेमा ब्राजिलमा अहिले पठनपाठन भइरहेको प्रगतिशील पाठ्यक्रम पूर्णतया परिवर्तन गर्ने र माक्र्सवादसित लड्ने पाठ्यक्रम र कार्यक्रम तय गर्ने बताएका छन् ।
बोल्सोनारोको चर्चा गर्दा २०१६ मा राष्ट्रपति डिल्मा रुसेफलाई संसदले महाअभियोग लगाउँदा उनले दिएको कुख्यात मन्तव्यलाई पनि भुल्न सकिंदैन । त्यस मन्तव्यका क्रममा उनले राष्ट्रपति अपदस्थीको पक्षमा जुलुस गर्न उत्तेजक आह्वानमात्र गरेनन् बरु १९७० को सैनिक तानाशाहीको क्रममा कुख्यात यातना कार्यक्रमका प्रमुख रहेका कर्णेल कार्लोस ब्रिल्हान्ते उस्ट्राको कामको समेत प्रशंसा गरेका थिए ।
रियो दि जानेरो सहरबाट ७ कार्यकालसम्म संसद सदस्य निर्वाचित भएका बोल्सोनारोले एनपीआर समाचार संस्थासँगको हालैको अन्तर्वार्तामा चिलीका तानाशाह अगस्टो पिनोचेले अझ बढी मानिस मार्नुपथ्र्यो भनेका थिए । अन्तर्वार्ताका क्रममा उनले ब्राजिललाई सोभियत सङ्घको छायामुनि जानबाट रोक्न ‘तानाशाही व्यवस्था’ अत्यन्त ठीक भनेका थिए ।
त्यस्तै अर्का उम्मेदवार लिवर्टी एण्ड सोसियलिज्म पार्टीका उम्मेदवार गुइलेर्मे बोलसले बोल्सोनारोसितको पहिलो राष्ट्रपतीय उम्मेदवारबीचको बहसमा भनेका थिए– ‘‘सबैलाई थाहा छ, तपाई एक सैनिक शासन पक्षधर, जातिवादी र लैङ्गिक विभेदका प्रवक्ता हो ।’’ बोलसले बोल्सोनारोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल गरिरहेको भनेका थिए । बोलसले मतदातालाई सचेत पार्दै भनेका थिए– ‘‘बोल्सोनारोले आफैलाई अपराधविरुद्ध लड्न गइरहेको मानिसका रुपमा प्रस्तुत गरे पनि यथार्थमा उनी आफै एक अपराधी हुन् ।’’
यो पनि उल्लेखनीय छ की भर्खरै सम्पन्न युओएल मत सर्वेक्षणमा बोल्सोनारो नै पहिलो स्थानमा आएका छन् किन कि त्यसमा लुलाको नाम नै राखिएको थिएन । तर राष्ट्रपतीय निर्वाचनमा लुलापछिको दुई उम्मेदवारबीचको दुरी धेरै कम भएको छ । लिवर्टी र सोसियलिज्म पार्टीका उम्मेदवार बोलसको केही महिना अघिसम्म १ प्रतिशतमात्र समर्थन थियो । तर बिस्तारै उनको लोकप्रियता २ प्रतिशतभन्दा माथि पुगेको छ ।
यो पनि स्मरणीय छ कि बोलस आवासविहीन मजदुर आन्दोलनका राष्ट्रिय संयोजक र लुलाको रिहाइ अभियान र लुलाको राष्ट्रपतीय उम्मेदवारिका समर्थकसमेत हुन् ।
“राष्ट्रपति लुला साँझको नमस्कार ! उहाँ यहाँ हुनुपथ्र्यो तर उहाँ दुर्भाग्यवश कुरिटिबाको जेलमा हुनुहुन्छ । बरु सिनेटले लादेका माइकल टेमर ब्रासिलियामा स्वतन्त्र छन् ।” पछिलो राष्ट्रियपतीय बहसमा बोलसले भनेका थिए ।
ब्राजिलका पूर्वअर्थमन्त्रीसमेत रहेका दक्षिणपन्थी नेता हेनरिक मेडुरेलेस पनि ब्राजिलियन डेमोक्रेटिक मुभमेन्टको तर्फबाट उम्मेदवार छन् । बोल्सोनारोकै शैलीमा उनी पनि प्रगतिशील प्रक्रियाको विरोध गर्छन् र भन्छन् –“चिच्याएर मात्र रोजगार सिर्जना हुँदैन ।’’ मत सर्वेक्षणमा उनको लोकप्रियता एक अङ्कभन्दा माथि जान सकेको छैन ।
पोडेनोस पार्टीका अल्भारो डियास पनि अर्का राष्ट्रपतीय उम्मेदवार हुन् । डियास पनि बोलसझैं बोल्सोनारोको कडा आलोचना गर्छन् ।
बोल्सेनारोको महिलाप्रतिको दृष्टिकोणलाई लिएर डियासले निरन्तर विरोध गर्दै आएका छन् । पुरुषलाई भन्दा महिलाहरूलाई कम तलब÷ज्याला दिनुपर्छ किनभने उनीहरू कम काम गर्छन्, गर्भवती र सुत्केरी हुन्छन् भन्ने भनाइ बोल्सेनारोले राख्ने गरेका छन् ।
पहिलो चरणको बहसमा सहभागी अन्य उम्मेदवारहरूमा दिगोपन सञ्जालकी उम्मेदवार मेरिना सिल्भा डेमोक्रेटिक लेवर पार्टीका उम्मेदवार सिटो गोमेज, ब्राजिलियन सोसल डेमोक्रेसी पार्टीका जेराल्डो अकमिन र प्याट्रियोटा पार्टीका काबो ड्रयासिलो हुन् ।
यस निर्वाचनमा वामपन्थी दृष्टिकोणले सबैभन्दा बढी दबाबको विषय भनेको कटौतीका कार्यक्रम हुन् । त्यस कार्यक्रममा २० वर्षसम्म सार्वजनिक खर्चमा निरन्तर कटौती गर्ने, सार्वजनिक कम्पनी र संस्थाहरू निजीकरण गर्ने र श्रम सुधार योजना खारेज गर्नेलगायत छन् । जुन वर्तमान टेमर सरकारले सुरुआत गरिसकेको छ । अर्काे चुनौतीको विषय जनताको सुरक्षा हो ।
राष्ट्रपति डिल्मा रुसेफको सरकार अपदस्थी भएसँगै गएको दुई वर्षमा हत्याको घटना बढेर नयाँ रेकर्ड नै बनाएको छ । सन् २०१७ मा ब्राजिलमा ६३ हजार ८८० हत्या भए । जुन सन् २०१६ को भन्दा ३ प्रतिशत बढी हो । रुसेफको शासन अवधिमा अपराधका घटनाको वृद्धि ऋणात्मक थियो ।
औसतमा ब्राजिलमा प्रतिदिन १७५ वटा हत्या भइरहेका छन् । अर्थात् प्रतिघण्टा ७.२ वटा । जुन हत्यादर खाडी क्षेत्रको युद्धको क्रममा भएको मृत्युकै हाराहारीमा छ – सन् २०१७ मा हत्याको दरले नयाँ उचाइ बनायो प्रतिएक लाख जनामा ३०.८ जना पुग्यो । ब्राजिलियाली सार्वजनिक सुरक्षा मञ्चले जनाएको छ ।
हत्यामा घटनामा अत्यन्त बहुमत शिकार भने काला जातिका युवाहरू भएका छन् । सङ्गठित अपराधका कारण नै हत्याका घटनामा उल्लेख्य वृद्धि भएको हो । –ब्राजिलियाली सार्वजनिक सुरक्षा मञ्चका अध्यक्ष समाजशास्त्री रेवाटो सर्जियो डे लिमाले भनेका छन् ।
ब्राजिलियाली मजदुर पार्टीका राष्ट्रपति लुला र रुसेफको शासनकालमा अपराधका घटनामा निकै कमी आएको थियो । तर जब दक्षिणपन्थीहरू सत्तामा पुगे गैरन्यायिक हत्या, श्रमिक अधिकार हनन, सार्वजनिक उद्योगहरूको निजीकरण र ब्राजिलको सरकारी नीतिहरूको खुलमखुला उल्लङ्घन अचाक्ली बढ्यो ।
त्यसैले बहुमत मतदाता पुनः लुलालाई राष्ट्रपति बनाउ पक्षमा छन् । तर विडम्बना राजनीतिकरणमा ओर्लेको न्यायालयले ब्राजिलका मतदाताले लुलालाई मत दिन पाउने अर्थात् लुला उम्मेदवार बन्न पाउने वा नपाउने कुराको निर्णय दिएको छैन ।
ब्राजिल मजदुर पार्टीले यदि लुलाको उम्मेदवारी हुन नसक्ने अवस्थामा साउपाउलो महानगरका पूर्वमेयर फर्नाण्डो हदादलाई राष्ट्रपतीय उम्मेदवार बनाउने निर्णय गरेको छ । मजदुर पार्टीको उक्त निर्णयपछि गरिएको मत सर्वेक्षणमा हदाद १३ प्रतिशत मतका साथ दोस्रो स्थानमा आएका छन् भने पहिलो स्थानमा दक्षिणपन्थी नेता बोल्सोनारो २१ प्रतिशत मतका साथ अगाडि छन् ।
लुलाका समर्थकहरूको आशा अझै मरेको छैन । राजनीतिक षड्यन्त्र निकै भइरहेको अवस्थामा यदि दक्षिणपन्थीहरूले लुलाको मुठ्ठीलाई जेलनेलमै कैद गर्न खोजे मजदुर पार्टीको ब्याट हदादलाई हस्तान्तरण गर्नैपर्ने, व्यापक जनपरिचालन गरिनुपर्ने र लुलाको रिहाइको निम्ति अभियानलाई निरन्तर अगाडि बढाउनुपर्ने पक्षमा ब्राजिलका न्यायप्रेमी जनता छन् ।
स्रोत ः टेलिसुर, प्रेन्सा ल्याटिना र विभिन्न सञ्चारमाध्यम

Leave a Reply

Your email address will not be published. Required fields are marked *