भर्खरै :

सामेर अमिनः एकजना माक्र्सवादी

विजय प्रसाद
अगस्ट १२, आइतबार समिर अमिनको निधन भयो । उनको बिदासँगै इजिप्टका पूर्वराष्ट्रपति नास्सेरको समयमा उदाएका इजिप्टेली माक्र्सवादीहरूको एउटा पुस्ता पनि अस्ताएको छ । अमिनको जन्म सन् १९३१ मा कायरोमा भएको थियो । सन् १९५२ मा गामेल अब्देल नास्सेर र फ्रि अफिसर्स्ले बेलायती निगाहा प्राप्त इजिप्टेली राजतन्त्रलाई सत्ताच्यूत गर्दै इजिप्टलाई असंलग्न आन्दोलनमा डो¥याइरहँदा अमिन पेरिसमा विद्यावारिधि गर्दै थिए ।
अमिनले अर्थशास्त्रमा विद्यावारिधिको शोध गरेका थिए । विद्यावारिधिको शोध गर्दैगर्दा उनी फ्रान्सको कम्युनिष्ट पार्टीमा सक्रिय भए । आफ्नो शोधमा उनले उपनिवेशवादी आतङ्कबाट जबरजस्ती लुटिएको आफ्नो देश र अरु देशका समस्याबारे गहिरो अध्ययन गरेका छन् । अरू परनिर्भरता (डिपेन्डेन्सी) सिद्धान्तका सिद्धान्तकारहरूजस्तै अमिनले पनि तेस्रो विश्वका देशहरूबाट स्रोतसाधनको उपनिवेशवादी देशहरूले गरेको चोरी, दिएको दबाबका साथै ती देशहरूमा औद्योगिकरण नहुनु र असमान विनिमयको समस्याबाट पीडित रहेको विचार राखे । नास्सेरको इजिप्टलगायत तेस्रो विश्वका सबै देशमा नीतिगत क्षेत्र (पोलिसी स्पेस) साँघुरो थियो । सशक्तीकरण निकै गा¥हो प्रक्रिया थियो । एकाधिकार पुँजीको चौघेरा तोड्न, उपनिवेशवादको श्रापबाट माथि उठ्न र आवश्यक समाजवादी भविष्यतिर अघि बढ्न ठूलो हिम्मतको आवश्यकता पथ्र्यो ।
आफ्नो पुस्ताका अरु विचारकहरूजस्तै भारतका अशोक मिश्र र ब्राजिलका सेल्सो फर्टाडोजस्तै अमिन एकैचोटि प्राज्ञिक काममा लागेनन् । उनी आफ्नो देश फर्के । त्यहाँ उनले सन् १९५७ देखि १९६० सम्म नास्सेर सरकारको आर्थिक व्यवस्थापन प्रतिष्ठानमा काम गरे । त्यसपछि उनी माली पुगे । त्यहाँको योजना मन्त्रालयअन्तर्गत सन् १९६० देखि १९६३ सम्म सल्लाहकारको रुपमा काम गरे । अमिन त्यो समयको मीठो सम्झना गर्थे । आफ्नो देश र अरु अफ्रिकी देशहरूको विकासको मुद्दामा काम गर्दाको आफ्नो अनुभवबारे उनी खुसी भएर कुरा गर्थे । विश्वका शक्तिशाली देशहरू, विशेषतः संरा अमेरिकाले नेतृत्व गरेको साम्राज्यवादी मोर्चाको अवरोध र एकाधिकार पुँजीवादी प्रणालीका कारण इजिप्ट र मालीजस्ता देशहरूमा कुनै आमूल परिवर्तन सम्भव भएन । सन् १९६० मा अमिनले आफ्नो पहिलो कृति प्रकाशन गरे । माली, ग्युनिया र घानामा आफूले गरेका विकाससम्बन्धी अनुभवलाई सो पुस्तकमा समेटेका छन् । उनले प्रगतिका लागि कुनै पनि बाटो सोझो हुन नसक्ने भनी चेतावनी दिए । विश्वको असमान बन्दोबस्तले शक्तिशालीलाई नाफा कमाउन दिएको थियो र कमजोरलाई गरिबी दिएको थियो ।
उनका सबभन्दा महत्वपूर्ण पुस्तक ‘एकुमुलेसन अन् अ वल्र्ड स्केल’ (१९७०) ले उनलाई निर्भरता सिद्धान्तका अग्रपङ्क्तिका व्याख्याता बनाइदियो । उनले सो पुस्तकमा परिधि वा छिमेक (पेरीफेरि) मा रहेका देशबाट प्रवाहित स्रोतसाधनले केन्द्र (कोर) मा रहेका देशलाई कसरी धनी बनाइरहेको छ भन्ने कुराको व्याख्या गरेका छन् । उनले त्यो प्रक्रियालाई ‘साम्राज्यवादी भाडा’ (इम्पेरेलिस्ट रेन्ट) भनेका छन् । सन् १९७० को दशकमा पुरानो व्यवस्था परिवर्तन भइरहेको थियो । अमिनले त्यो परिवर्तनलाई व्यावहारिक र सैद्धान्तिक रुपमा व्याख्या गरे । त्यही अवधिमा उनले ‘डिलिङ्किङ ः टुअडर्स अ पोलिसेन्ट्रिक वल्र्ड’ (१९८५) पुस्तक लेखेका थिए । त्यो पुस्तकमा उनले विकासका मुद्दामा वरिपरिका देशलाई संलग्न नहुन र त्यसमार्फत केन्द्रमा रहेका देशलाई दबाब दिन आह्वान गरेका थिए ।
ठूलो अराजक युग
तत्कालीन सोभियत सङ्घको विघटन भएको र संरा अमेरिका एउटा चुनौती दिन नसकिने शक्तिको रुपमा उदाइरहेको समयमा अमिनले ‘एम्पाइअर अफ् केइअस’ (अराजकताको युग) नामको पुस्तक लेखे । त्यो युगले अझ ठूलो असमानतालाई निम्त्याइरहेको थियो । श्रमिकको अवस्था अझ टिठलाग्दो बन्दै गयो । कृषि क्षेत्र ध्वस्त बन्दै गयो । राजनीतिक धर्मको खतरा बढ्दै गयो । अमिनले सन् १९९२ मा गरेको विश्लेषण दुई दशकपछि गएर पुष्टि भयो । सन् २०१३ मा उनले सोही विषयमा ‘द इम्पल्सन अफ कन्टेम्पोरअरी क्यापिटलिज्म’ नामको पुस्तक लेखे । एकाधिकारवादी व्यापारिक फर्महरूले व्यवस्थालाई जीवनहीन बनाइदिएका थिए । व्यापारीहरू सबै ‘ज्यालादारी नोकर’ मा परिणत भएका थिए । पत्रकारहरू ‘मिडिया धर्माधिकारी’ बनेका थिए । यो अस्थिर विश्व प्रणालीमा वित्तीय पुँजी हावी छ, जहाँ मानिस एकपछि अर्को अनिश्चित रोजगार गर्न बाध्य छन् । यो बन्दोबस्तले मानव जातिमाथि खतरा उत्पन्न गर्दैछ । समिरले विश्वको अध्ययन गरे र नरभक्षी रक्तपिपासु (भ्याम्पायर) ले जस्तै संसारको रगत चुस्ने एकाधिकारको प्रभुत्व भएको बन्दोबस्तको कुनै खास विकल्प नभएको पत्ता लगाए । त्यसको अर्थ इतिहासले मानव जातिलाई पनि यही मृत्युको मुखमा पु¥याउनेछ भन्ने होइन ।
बितेका चालिस वर्षदेखि अमिर सेनेगलको डाकरमा बसेर काम गरिरहेका थिए । उनले त्यहींबाट तेस्रो विश्व मञ्चको नेतृत्व गरिरहेका थिए । जब उनी आफ्नो घरको झ्यालबाट बाहिर चियाउँथे, आजको विश्वमा मंडराइरहेका खतराका बादल देख्थे तर साथै सम्भावनाका चाँदीका घेरा पनि देख्थे । यो वर्ष कार्ल माक्र्सको द्विशतवार्षिकी हो । माक्र्सको सम्मानमा आफ्नो पछिल्लो लेखमा कम्युनिष्ट घोषणापत्रको एउटा वाक्य प्रतिबिम्बित हुने गरी लेखेका छन्, ‘‘वृहत् अर्थमा समाजको क्रान्तिकारी पुनः निर्माण होस् वा शासक वर्गको साझा अवनतिमा होस्’’, वर्गसङ्घर्ष नै हुने गर्दछ । उनले यो वाक्यलाई ‘‘आफ्नो लामो समयको चिन्तनको अग्रभाग भएको’’ लेखेका छन् । उनमा पराजयको डर छैन । उनी लेख्छन्, ‘‘अविराम क्रान्ति अब पनि परिधिका देशको एजेण्डा हो । समाजवादी सङ्क्रमणमा प्रतिगमन नहुने होइन । केन्द्रमा कमजोर सम्बन्धका कारण साम्राज्यवादी मोर्चामा विभाजन अस्वाभाविक होइन ।’’
तथापि अवस्था जतिसुकै कठीन भए पनि, विद्रुप भए पनि हाम्रो सङ्घर्ष अपराजयी छ । हाम्रो भविष्य खोज गर्नपर्ने विषय हो । जबसम्म हामी प्रतिरोध गरिरहनेछौं तबसम्म हामीले भन्न सक्छौं–हामी स्वतन्त्र छौं !
स्रोतः मन्थ्ली रिभ्यु अनलाइन
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *