भर्खरै :

जनस्वास्थ्य विधेयकबारे छलफल

काठमाडौं, ६ भदौ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले मङ्गलबार प्रतिनिधिसभाको शून्य समयमै बोल्दैै पुराना बस्ती विनाश गरी बाटो चौडा गर्न नहुने, भारतसँग मूल्य समायोजनको नाममा पेट्रोलियम पदार्थको मूल्य बढाउन नहुने तथा सीमा तस्करी नियन्त्रण र खुला सीमा नियमित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्यस्तै जनस्वास्थ्य विधेयक, २०७५ को सैद्धान्तिक छलफलमा बोल्दै सांसद सुवालले बाँच्नको लागि आवश्यक उपचार नै आधारभूत जनस्वास्थ्य अधिकार हुने उल्लेख गर्नुभयो ।
गर्भदेखि चिहानसम्मको जिम्मेवारी राज्यले लिनुपर्ने, प्रजग कोरिया र क्युवामा यस्तो निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था भएको उल्लेख गर्दै उहाँले निजी स्वास्थ्य बीमा, अस्पताल र मेडिकल कलेजको नाममा भइरहेको ठगी रोक्न यी क्षेत्र पनि राज्यबाट सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
वीर अस्पतालमा रहेको अति विशिष्ट स्वास्थ्य उपचार कक्ष उपयोग नभएको र निजी अस्पताल पाँचतारे होटलजस्तो सफा हुने तर सरकारी अस्पताल मसानघाट हुने स्थिति अन्त्य गर्नुपर्ने उल्लेख गर्दै सांसद सुवालले सरकारले निःशुल्क वितरण गर्दै आएको औषधि कमिसनको कारण गुणस्तरहीन भएको, धरान र विराटनगरमा भारतबाट नक्कली औषधि ल्याई बिक्री भएको बारे मन्त्रीले संसदमा जानकारी दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
स्वास्थ्यको लागि नेपालको विभिन्न जिल्लामा रहेका रँशाला मर्मत गर्नुपर्ने र अन्तर्राष्ट्रियस्तरको रङ्गशाला काठमाडौं उपत्यकामा होइन प्रदेश नं. ३ को सदरमुकाम मकवानपुर वा तराईको अन्य ठाउँमा बनाउनुपर्ने उल्लेख गर्दै उहाँले अस्पताल विकास समिति अस्पताल सञ्चालनमा बाधक भएको डाक्टरहरूकै मत रहेको चर्चा गर्नुभयो ।
उहाँले स्थानीय तहमा सेवा गर्ने गरी ५÷५ जना विद्यार्थीलाई खाने बस्नेसहित निःशुल्क चिकित्सा शिक्षा अध्ययन गराउने व्यवस्था गरी जिल्ला–जिल्लामा डाक्टर उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *