भर्खरै :

‘कृष्ण’ नाम गरेकाहरुको खोजी

पञ्चायती राज्यस्तरबाट षड्यन्त्रपूर्वक रचिएको एउटा काण्ड हो ‘भक्तपुर काण्ड’ । भदौ ९ गते राती नेपाल मजदुर किसान पार्टीका (तत्कालीन सङ्गठन) का अध्यक्ष नारायणमान बिजुक्छेंलगायत जनप्रतिनिधिसमेत सयौं जनालाई षड्यन्त्रपूर्वक पक्राउ गरी फाँसी दिने सरकारको तयारी थियो ।
२०४५ साल भदौ ५ गतेको भूकम्पले भक्तपुर पनि प्रभावित भएको थियो । तत्कालीन भक्तपुर नगर पञ्चायतले भूकम्प पीडितलाई राहतको लागि केही लाख विनियोजन गरी सेवा गरेको थियो । राज्यले पनि भूकम्प पीडितको लागि राहत बाँड्न भक्तपुरमा कुपन वितरण गरेको थियो । राज्यको कुपन वहालवाला जनप्रतिनिधिमार्फत नदिई पूर्वरापस कर्णप्रसाद ह्योजुलाई अगाडि सारियो ।
ह्योजुले राहत सामग्री बाँडे तर भूकम्प पीडितले कुपन पाएनन् । आफ्नै नातेदार र आफन्त र चिनेकाले मात्र पाए ।
पक्षपातको कारण वास्तविक भूकम्प पीडित रिसाउनु स्वाभाविक थियो । अनियमित रुपमा ह्योजुलाई राहत वितरण गर्न लगाई उसलाई बलिको बोका बनाई नेमकिपालाई समूल नष्ट गर्ने राज्यको ठूलो योजना थियो ।
भक्तपुर काण्डको बेला राज्यले भक्तपुरमा मात्र दुःख दिएन जहाँ जहाँ नेमकिपाको सङ्गठन थियो, त्यहाँत्यहाँ पक्राउ गरेर दुःख दियो ।
२०४५ साल भदौ ११ गते जनैपूर्णिमा थियो । पाँगामा त्यसबेला गाईजात्राको अवसरमा नाटक मञ्चन गर्ने प्रतिस्पर्धा नै थियो । नेमकिपाका समर्थकहरूले जनैपूर्णिमाको दिन लाछीमा नाटक देखाउने तयारी गरेका थिए । त्यस दिन बिहान सबेरै ४ बजे श्रीकृष्ण महर्जन (नेमकिपाका नेता) को घरमा चारैतिर घेरेर प्रहरीले छापा मारे ।
श्रीकृष्ण महर्जनको घरमा जब ढोका खुल्यो एक दर्जन प्रहरीले छिँडीदेखि बुईंगलसम्म कोठाकोठामा खानतलासी गरे तर श्रीकृष्ण महर्जनलाई पक्राउ परेनन् । नजिकैको घरमा लुक्यो कि भनेर अर्को घरमा प्रवेश गरी कृष्ण महर्जन नाम मिलेको भन्दै पक्राउ गरियो र हनुमानढोका लगियो । निर्दोष मानिसलाई पक्रेर केही सीप नलागेपछि बेलुकी गिरफ्तारमा परेका कृष्ण महर्जनलाई छाडे ।
परिवारको चलाखी
श्रीकृष्ण महर्जन आफ्नै घरमा सुतेका थिए । प्रहरीले घेरा हाली ढोका ढकढकाएपछि काका चतुरमान महर्जनले झ्याल खोलेर हेरे । प्रहरी देखेपछि अब भतिजा कृष्णलाई पक्राउ गर्न खोजेको भन्दै श्रीकृष्णलाई भगाइसकेपछि मात्र ढोका खोले । श्रीमती अष्टमाया महर्जनले प्रहरीलाई भ¥याङ्गमा अलमल पारेर श्रीकृष्ण महर्जन सुरक्षित स्थानमा जान सफल भएको थियो ।
नाटक प्रहसनमा समातेको भए
नेमकिपा समर्थक सांस्कृतिक समूहले हरेक वर्ष गाईजात्रामा पञ्चायती अन्याय अत्याचारको विरोधमा प्रहसन गर्दै आएको थियो । गाईजात्रामा त्यो प्रहसन गर्न छुट थियो । जनैपूर्णिमाको दिन हामीले सम्पूर्ण तयारी गरिसकेका थियौं । नाटक प्रहसनको दिन पक्राउ गरेको भए सबै समातिने थियो ।
प्रहरी प्रशासनले नेमकिपाका नेता तथा कार्यकर्ता सबैलाई माला उनेर लग्न त पाउँथ्यो तर जनताको प्रतिकार सामना गर्नु पनि प्रहरीलाई गा¥हो हुन्थ्यो । जसरी दैलेखमा सांस्कृतिक टोली र साउण्ड सिष्टमसमेत प्रहरी प्रशासनले कब्जामा लिएको थियो ।
पञ्चायतको अन्त्य भक्तपुर काण्ड
पञ्चायती व्यवस्थाले नेमकिपालाई षड्यन्त्रपूर्वक नष्ट गर्न जुन योजना बनायो त्यही षड्यन्त्र जनतामा उदाङ्गियो र पञ्चायती सरकार समाप्त हुनुको कारण बन्यो ।
भक्तपुर काण्ड रचिएर नेमकिपालाई सखाप पार्न ‘फाँसी दे’ को नारा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलगायतले लगाएका थिए । भक्तपुरमा त्यो षड्यन्त्र सफल भयो भने अन्य राजनीतिक पार्टी तथा अन्यायको विरोधमा लड्नेहरूलाई पालैपालो सखाप पार्ने सम्भावना देखेपछि सबै तह र समुदायबाट नेमकिपाको पक्षमा बोले, कानुनी व्यवसायीहरूले महत्वपूर्ण सहयोग गरे । अन्ततः साँचो दग्दैन झूटो टिक्दैन भनेजस्तै २० महिनापछि नेमकिपाका नेता कार्यकर्ताहरू पञ्चायतको अन्त्यसँगै रिहा भए ।
प्रतिक्रियावादीको षड्यन्त्र फरक ढङ्गले दोहोरिन सक्ने
नेपालको राजनीतिमा देश र जनताको सेवा गर्ने, आफ्नै सिद्धान्त र नैतिकतामा कुनै किसिमको आँच आउन नदिने, इमानदारीपूर्वक माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधाराअनुसार समाजवादको झण्डा फहराउने नेमकिपामाथि अहिले पनि शासक दलहरूले बक्रदृष्टिले हेरेको पाइन्छ ।
इतिहास फरक ढङ्गले षड्यन्त्रपूर्वक ढङ्गले दोहोरिने सम्भावना अहिले पनि छ । देश र जनताका सेवाबाहेक अरू स्वार्थ नेमकिपाको नभएकोले शासक दलहरूले ३ प्रतिशत थ्रेसहोल्ड (मत सीमा) राखेर नेमकिपाको प्रभाव न्यून पार्ने प्रयास गरेको छ ।
त्यसको विरूद्ध पनि नेमकिपा एक्लै आफ्नै खुट्टामा उभिएर सङ्घीय संसद, प्रदेश र स्थानीयमा प्रतिनिधित्व गरी जनताको सेवा गरेको घामजत्तिकै छर्लङ्ग छ ।
भक्तपुर काण्डबाट शिक्षा लिँदै प्रतिक्रियावादीको असफल षड्यन्त्रविरूद्ध सचेत भएर देश र जनताको सेवामा नेमकिपा अझ निरन्तर अघि बढिरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *