भर्खरै :

मुलुकी देवानी तथा फौजदारीसंहिताका प्रमुख विशेषताहरू – ६

अन्य व्यक्तिले पक्राउ गर्नसक्ने
कुनै कसूर भएका बखत तत्काल प्रहरी उपलब्ध नभएमा अन्य व्यक्तिले समेत त्यस्तो कसूर गर्ने व्यक्तिलाई भाग्न उम्कन नदिई नजिकको प्रहरी कार्यालयमा बुझाउन सक्ने ।
पक्राउ गर्न सहयोग गर्नुपर्ने
प्रहरी कर्मचारी वा अनुसन्धान अधिकारीले कुनै प्रमाण नास हुन नदिने वा कसूरदारलाई पक्राउ गर्न सहयोग मागेमा जुनसुकै निकाय, अधिकारी वा व्यक्तिले सहयोग गर्नुपर्ने ।
अनुसन्धान टोलीमार्फत अनुसन्धान गर्न सकिने
गम्भीर प्रकृतिका कसूरमा अनुसन्धान अधिकारीको तालुकवाला अधिकारी वा प्रहरी महानिरीक्षकले विशेषज्ञ सहितको अनुसन्धान टोलीमार्फत अनुसन्धान गराउन सक्ने ।
अनुसन्धानको लागि चालीस दिनभन्दा बढी हिरासतमा राख्न नपाइने
– पक्राउ परेको व्यक्तिलाई मुद्दा हेर्न अधिकारीको अनुमति लिई एकैपटक वा पटक–पटक गरी पच्चीस दिनसम्म हिरासतमा राख्न सकिने
– राष्ट्रपति उपरको आक्रमण, जासूसी, सैनिक भड्काउने, नेपाल राज्यविरुद्ध युद्ध गर्ने वा नेपालसँग युद्धमा संलग्न राज्यका सेनालाई सहयोग गर्ने जस्ता कसूरको हकमा थप पन्ध्र दिन (बढीमा ४० दिन) हिरासतमा राख्न सकिने ।
नेपाल बाहिर अनुसन्धान गर्न सकिने
– नेपाल बाहिर भएको कसूरको सम्बन्धमा सन्धि बमोजिम वा सम्बन्धित मुलुकको अनुमति प्राप्त गरी नेपाल सरकारले ताकेको अनुसन्धान अधिकारीले अनुसन्धान गर्नसक्ने,
– कसूर भएको मुलुकको अधिकार प्राप्त अनुसन्धान अधिकारीले गरेको अनुसन्धानलाई मान्यता दिने वा अभियुक्त फेला परेको वा निजको स्थायी बसोबास भएको इलाकाको अधिकार प्राप्त अनुसन्धान अधिकारीले अनुसन्धान गर्ने ।
श्रव्यदृष्य संवादको माध्यम प्रयोग गर्न सकिने
शारीरिक अश्वस्थताको कारणले अनुसन्धान अधिकारीसमक्ष उपस्थित हुन नसक्ने वा सुरक्षाको कारण उपस्थित गराउन उपयुक्त नभएको व्यक्तिलाई श्रव्यदृष्य संवाद (भिडियो कन्फेरेन्स) को माध्यमबाट बयान लिन वा सोधपुछ गर्न वा त्यस्तो साक्षी बुझ्न सकिने ।
अनुसन्धानमा सहयोग गर्नलाई कम सजाय हुने (Plea Bargaining)
अनुसन्धानमा सहयोग गर्ने अभियुक्तलाई देहायबमोजिम सजाय कम गर्ने माग दाबी लिई अभियोगपत्र दायर गर्न सकिने व्यवस्था गरिएकोः
– आफूले गरेको कसूर पूर्ण रुपमा स्वीकार गरी साविति अभियुक्तलाई पच्चीस प्रतिशतसम्म सजाय छुट हुने गरी अभियोगपत्र दायर गर्न सकिने,
– कसूरमा पूर्णरुपमा साविति भई त्यस्तो कसूरमा संलग्न अन्य व्यक्ति वा कसूरसम्बन्धी विस्तृत तथ्य बताउन, कसूरमा संलग्नलाई पक्राउ गर्न, कसूरसँग सम्बन्धित सवारी साधन, यन्त्र उपकरण वा अन्य वस्तु वा हतियार बरामद वा जफत गर्न सहयोग गरेमा पचास प्रतिशतसम्म सजाय छुट हुने गरी अभियोगपत्र दायर गर्न सकिने ।
सानातिना कसूरमा मुद्दा दायर नगरिने
पहिलोपटक गरेको एक हजार रुपैयाँसम्म बिगो भएको बगलीमारासम्बन्धी कसूर, भिक्षा माग्ने कसूर तथा तीन हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुने अन्य कुनै कसूरमा मुद्दा दायर गर्न आवश्यक नहुने र यसरी मुद्दा दायर नभएकोमा त्यस्तो कसूरदारले तीन वर्षभित्र कुनै कसूर गरेमा पहिले गरेको कसूरबापत् समेत सजाय गरिने ।
अभियोगपत्रमा कसूर र अभियोगपत्रसम्बन्धी विवरण खुलाउनुपर्ने
अभियोगपत्रमा दायर गर्दा देहायका खुलाउनुपर्ने ः–
– अभियुक्तको पूरा नाम, थर, ठेगाना, हुलिया, उमेर, पेशा वा व्यवसाय,
– अभियुक्तको बाबु, आमा वा पति, पत्नीको नाम,
– अभियुक्त बसोबास गरेको गाउँपालिका वा नगरपालिका, वडा नं, गाउँ टोल, भएसम्म ब्लक नं,
– अभियुक्तको वास्तविक पहिचान हुने विवरण, निजको फोटो, नागरिकता वा राहदानी, सवारी चालक इजाजपत्र वा निजको वास्तविक परिचय खुल्ने अन्य कागजातको प्रतिलिपि,
– अभियुक्तको भएसम्मको दुवै हातको चोरी औंलाहरुको छाप,
– अरुको घरमा डेरा गरी बसेको भए घरधनीको नाम, थर र ठेगानासहितको विवरण,
– कसूरसँग सम्बन्धित सूचनाको व्यहोरा,
– कसूरसम्बन्धी विवरण
– अभियुक्तले कसूर गरेको कुरा प्रमाणित गर्ने दसी, प्रमाणको विवरण,
– अभियुक्त उपर लगाइएको अभियोग र त्यसको आधार र कारणहरु
– प्रयोग हुनुपर्ने सम्बन्धित कानून र त्यसको कारण,
– अभियुक्तलाई हुनुपर्ने सजायको माग दाबी र त्यसको कारण,
–  कसूरबाट क्षति पुगेको व्यक्तिलाई क्षतिपूर्ति भराई दिनुपर्ने भए त्यस्तो क्षतिपूर्ति रकम,
– कसूरको प्रकृतिसँग सम्बन्धित अन्य आवश्यक कुनै कुरा भए त्यसको विवरण ।
अभियोगपत्र संशोधन गर्न वा थप अभियोजन गर्न सकिने
अदालतमा दायर भई सकेको मुद्दामा थप प्रमाण फेला परेको अवस्थामा अभियोगपत्र संशोधन गर्न वा थप अभियोजन गर्न सकिने ।
जाहेरवाला वा पीडितलाई सूचना दिनुपर्ने
कुनै सरकार वादी हुने फौजदारी कसूर सम्बन्धमा मुद्दा नचलाउने निर्णय गरिएमा जाहेरवाला वा पीडितलाई सूचना दिनुपर्ने ।
वादी प्रतिवादीबीच छलफल गराउन सकिने
अभियुक्तले कसूर स्वीकार नगरेको अवस्थामा मुद्दामा ठहर गर्नु कुरा यकिन गर्न अदालतले वादी प्रतिवादीबीच छलफल गराउन सक्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *