भर्खरै :

भारतीय पक्षको चरम लापरबाहीले बिनावर्षा बस्तीमा बाढी पस्यो

सप्तरी, १२ भदौ । सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका १२ का दिनेशकुमार मण्डलको घरमा खाना पकाउने तयारी भइरहँदा पानीको वेग एक्कासी उनको आँगनमा आइपुग्यो ।
सुरुमा थोरै पानी आयो, त्यसपछि निरन्तर पानीको मात्रा बढ्दै घर नै डुबानमा प¥यो,– उनले अघि थपे, ‘हत न पत परिवारका सदस्यहरूलाई सुरक्षित स्थानमा लग्यौं ।’
तिलाठी–कोइलाडी गाउँपालिका ४ बनरझुल्लाका ललितनारायण यादव सोमबार राति खाना खाएर सुत्ने तरखरमा थिए । राति ११ बजेतिर सुत्ने तरखर गरिरहेकै समयमा उनको आँगनमा एक्कासी पानीको भेल आइपुग्यो । वर्षा नभइकनै पानीको भेल एक्कासी आँगनमा आएपछि उनी अचम्भित र त्रसित भए ।
एक्कासी पानीको वेग आएपछि उनले हतपत बालबालिका र घरका सदस्यलाई सुरक्षित स्थानमा लगे ।
सोही ठाउँका जागेश्वर रायलाई पनि एक्कासी यस्तै विपति आइपुग्यो । ‘वर्षा नभइकनै एक्कासी बाढी आयो,’ उनले भने, ‘तत्काल त केही थाहा नै पाउन सकिएन् । धमाधम सुरक्षित स्थानको खोजीमा लाग्यौं ।’
यादव र राय मात्र होइन् तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर ४ र हनुमाननगर–कंकालनी नगरपालिका १२ का करिब डेढ सय घरमा एक्कासी बाढी आयो ।
सप्तकोशी नदीको पश्चिमतर्फको बाँध तल रहेको यो वस्तीमा एक्कासी बाढी आएपछि सोमबार राति यो ठाउँका बासिन्दाहरू रातभर जाग्राम बसेका छन् । बाढी आएको समयमा कतिले खाना खाएका थिए भने कतिले खाने तरखर गरिरहेका थिए ।
यो बाढीले व्यक्तिको घर डुबानमा परेसँगै घरभित्रका धेरै सामानहरू बगाएको छ । कोसी नदीको बाढी घरभित्र पसेपछि हनुमाननगर कंकालनी १२ की सबाना खातुनको घर भत्किन लागेको छ । उनको घरभित्रको खाद्यान्नसहितका सामानहरू बाढीले बगाएको उनले बताइन् ।
खातुनसहित धेरैको खाद्यान्नसहितका सामानहरू उक्त बाढीले बगाएको छ ।
एकाएक आएको बाढीले व्यक्तिको घरमात्र नभइ हनुमाननगरकंकालनी नगरपालिकाको कार्यालय, नजिकमा रहेका विद्यालयहरूसमेत डुबानमा परेको छ ।
प्रहरीका अनुसार डेढ् सय जति घर डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डिएसपी भावेश रिमालले एक्कासी उक्त वस्तीहरूमा पानी पसेपछि घरहरू डुबानमा परेको बताए ।
भारतीय पक्षको चरम लापर्वाही
सप्तरीमा सामान्य वर्षामासमेत सप्तकोशीको बाढी पस्नुमा भारतको लापर्वाही देखिएको छ । हालै भारतले पाइलट च्यानल खनेर सप्तकोसी नदीको बहाबलाई परिवर्तन गरेपछि नेपाली गाउँ डुबानमा परेको हो ।
भारत सरकारले कोसी योजनाले कोशी ब्यारेजभन्दा तल कोसीको मूलधारलाई हालै पाइलट च्यानल खनेर पश्चिमतर्फ फर्काएपछि नेपाली बस्ती डुबानमा परेको हो । भारतले पाइलट च्यानल खनेकै कारण कोसी नदीको सामान्य बहाबकैबीच नेपाली बस्तीमा पानी बाढी पसेर जलमग्न बनेको छ ।
यसअघि ३ लाख क्यूसेकसम्म कोशी नदीको बहाव हुँदासमेत पानी वस्तीमा पसेको थिएन् । तर सोमबार साँझ मापन गरिए अनुसार १ लाख ७१ हजार क्यूसेक बहाबकै पानी मानव वस्तीमा पसेर जनजीवन प्रभावित बनाएको स्थानीयहरूले बताएका छन् ।
भारतले पश्चिमतर्फ बहाब फर्काउनेगरी पाइलट च्यानल खनेपनि सुरुमा ध्यान नपुग्दा यस्तो क्षति भोग्नुपरेको स्थानीयहरूको भनाइ छ ।
सप्तकोशी नदीको बहाबलाई पश्चिमतर्फ फर्काइएपछि जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका पूर्णरुपमा जोखिममा परेको छ ।
भारतीय पक्षले खनेर गरेको बहाब परिवर्तनलाई समयमै ठीक नगरिए यी नगरपालिका र गाउँपालिका सधैं उच्च जोखिममा रहनेछ, ‘तिलाठी’ कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले भने, ‘माथिल्लो निकायबाट यसको पहल चाँडोभन्दा चाँडो हुनु जरुरी छ ।’
उनका अनुसार भारतीय पक्षले पाइलट खनेर पश्चिमतिर बहाब फर्काइएपछि नेपाली गाउँ बढी जोखिममा परेको छ ।
कोशी नदीको तटबन्ध र स्परहरू अत्यन्तै कमजोर रहेको अवस्थामा भारतले बहाब फर्काइदिएपछि जतिबेला पनि गाउँमा बाढी पस्ने खतरा रहेको बताउँछन् उनी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *