अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सामाजिक सञ्जालमा एउटा तस्वीर अहिले ‘भाइरल’ बनेको छ । तस्वीरमा बिम्स्टेक सम्मेलनमा भाग लिने नेपाल आएका थाइल्याण्डका प्रधानमन्त्री प्रसुत्त चान–ओ–च आफै छाता ओढेर हिंडिरहेका देखिएका छन् भने नेपालका रक्षामन्त्री ईश्वर पोखरेललाई कर्मचारीले छाता ओढाएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले यो तस्वीरलाई नेपाली शासक नेताहरूमा बाँकी रहेको सामन्ती चिन्तनको द्योतकको रुपमा चर्चा गरेका छन् । पाहुना आफै छाता ओढेर अघि हिंडिरहेका छन् भने पाहुनालाई स्वागत गर्न विमानस्थल पुगेका नेपाली मन्त्रीलाई भने कर्मचारीले छाता ओढाएका छन् ।
विगतमा पनि मन्त्री रवीन्द्र अधिकारीले आफै छाता नओढी अङ्गरक्षकले बोकेको छाता ओढेर हिंडेको प्रसङ्गमा उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । शासक दलका नेताहरूले अरुको जीउमा चढेर खोला तरेका तस्वीर पनि व्यापक चर्चामा रहे । देशमा गणतन्त्र र लोकतन्त्र स्थापना भएको दसक बितिसकेको छ । तर ‘लोकतन्त्र र गणतन्त्रको निम्ति राजनीति गरेका’ नेताहरूबाट हिजो पञ्चायत र राजतन्त्रकै झझल्को दिने व्यवहार गर्दा भने नेपाली जनता झस्केका हुन् । कुनै बेला थियो, राजाले टेकेको माटोलाई पनि अञ्जुलीमा भरेर घरमा पूजा गरिन्थ्यो । राजालाई भगवानको अवतार मानिन्थ्यो । तर त्यस्तो जनविरोधी शोषणमूलक मान्यताको बलियो किल्ला भत्काएर आज देशमा गणतन्त्र स्थापना भएको छ । जनताको कोखमा जन्मेका मानिस राजकीय सत्ताको जिम्मेवारीमा पुगेका छन् । यद्यपि राजा र महासामन्त फालेर सत्ताको बागडोर सम्हाल्न पुगेका शासक नेताहरूमा पनि हिजोकै पुरानो मानसिकता र सामन्ती प्रवृत्ति देखिएको छ ।
राष्ट्रपतिको ‘सवारी’ को तामझामबारे पनि यसअघि व्यापक आलोचना भएको थियो । राष्ट्रपतिको ‘सवारी’ मा एम्बुलेन्सलाई समेत रोकेको प्रसङ्गलाई लिएर सामाजिक सञ्जालमा धेरैले लेखेका थिए,‘हिजोका राजामहाराजा र आजको गणतन्त्रका शासकबीच के भिन्नता भयो र ?’
विकसित मानिएका देशका राष्ट्रप्रमुख र प्रधानमन्त्री समेतले निकै सामान्य जीवनशैली अपनाएका विश्वका उदाहरणलाई देखाएर जनताले नेपाली शासकहरूलाई छेदखानी गरिरहेका छन् । तर त्यसप्रति शासक नेताहरूमा कुनै संवेदनशीलता देखिएको छैन । ‘नयाँ जोगीले धेरै खरानी घस्छ’ भनेझैं आज हाम्रा नवशासक वर्ग धेरै विलासितामा रमाउन चाहिरहेका छन् ।
शासकहरूको गौरव भनेको देशको विकास र जनताको मुहारमा हाँसो हो । नेपाली जनता आज आफ्ना छोरीचेली कतिबेला बलात्कृत हुने हुन् भन्ने पिरमा परेको बेलामा शासक मन्त्रीहरू एउटा छाता समेत कर्मचारीलाई बोकाएर विलासितामा रमाउन खोज्नु लज्जाको विषय हो । अहिले देशमा ‘कम्युनिष्ट’ पार्टीको सरकार छ । मानिसमाथि मानिसले गर्ने शोषणको विरोध गर्नु नै कम्युनिष्ट हुनुको पहिलो परिचय हो । विडम्बना आफूलाई ‘कम्युनिष्ट’ दाबी गर्ने मन्त्रीहरू नै आज तल्लोस्तरका कर्मचारीलाई ‘छाते’ को व्यवहार गरिरहेका छन् । यी घटनाले वास्तवमा उनीहरू कम्युनिष्ट नभएको पुनर्पुष्टि गरेको छ । छाता समात्न र जुत्ता लगाउनसमेत अरुको भर पर्नुपर्ने भएकाले हिजोका राजामहाराजाले गद्दी गुमाउनुपरेको थियो भने आजका शासक वर्गले पनि जनताभन्दा आफूलाई माथि सम्झने गल्ती गरे तिनको हालत त्यही हुनेमा कुनै विवाद छैन । नेताहरूले आज जस्तो आचरण देखाइरहेका छन्, त्यो कदापि पनि कम्युनिष्ट आचरण होइन । उनीहरूभित्र जग बसेको सामन्ती चिन्तन यस्ता व्यवहारबाट सतहमा आएको मात्र हो ।
Leave a Reply