भर्खरै :

भालु नाचमा हँस्सीमजाक हुन्थ्यो

–दानबहादुर कपाली
लामो समयदेखि हेर्न नपाएको या नदेखाइएको भालु नाच यस वर्ष देखियो । अन्य नाच बेला बखत अनेक उत्सव, चाडपर्व र मेलामा हेर्न पाइने तर भालु नाच गाईजात्रामा बाहेक अरु बेला खासै हेर्न पाइँदैन या देखाइँदैन । यो नाच संसारमै दुर्लभ नाच हो । चिडियाखाना, पुस्तक या तस्बिरमा र कहिलेकाहीं सञ्चारहरू मार्फत हामी भालु देख्छौं । तर भालु नाच कहिल्यै देख्दैनौं । लोप हुन लागेको भालु नाचलाई फेरि जीवन्तता दिन भालु नाच देखाउन मेहनत गर्ने सांस्कृतिक टोली, कलाकार र त्यसलाई उत्साहित गर्ने अगुवालाई धन्यवाद नदिई मनै बस्दैन ।
यो वर्षको गाईजात्राको एउटा आकर्षण भालु नाच पनि हो । भालु नाच भक्तपुर नगरको वडा नं. १ (साविक १७) र वडा १० (साविक ४) बाट ल्याइएको छ । पहिलेदेखि भालु नाच देखाइने वडा पनि तिनै दुई वडा हुन् । भालु नाचका कलाकारहरूमा व्यङ्ग्य र हास्यका अभिव्यक्ति हुन्छ । विशेषगरी भालु नाचका लामा र किसानबीचको वातचित हास्यव्यङ्ग्यात्मक मात्र होइन रमाइलो हुन्थ्यो । दर्शकहरू ती कलाकारका वातचित सुनेर पेट मिचिमिचि हाँस्थे । कलाकारमा त्यस्तै हँसाउने प्रतिभा या खुबी हुन्थ्यो । यिनीहरूबीच एकले अर्काेलाई खिसी उडाउने, होच्याउने, ठट्टा गरेर मजाक लिने या हँस्सीमजाक बाटै विषयवस्तु अघि बढाउने काम भालु नाचमा हुन्छ । यसकारण भालु नाच हेर्नकै निम्ति राति अबेलासम्म दर्शकहरू पर्खेर बसेका हुन्छन् ।
नाचमा मकैबारी खाने भालुलाई सिपाहींले घेरा हाल्दै मार्छ । मरेको भालुलाई ‘लामाजु’ ले फू मन्त्र गरेर बचाउँछ । मकै खाएको भालुलाई किसानले बालीको क्षतिपूर्ति माग्छ । भालुले खाएको मकै मैले किन तिर्ने भनी किसान र लामाबीच हँस्सीमजाक वातचित हुन्छ । यसरी वातचित मार्फत नै विषयवस्तु अघि बढ्छ ।
भालुसँगै सिपाहीं र लामाजु समेतको नाच, भालु, लामाजु र किसानको नाच पनि रमाइलै देखिन्छ । अबदेखि प्रत्येक वष दर्शकहरूले भालुनाच हेर्न पाउने आशा राख्नु स्वाभाविक हो । भालु नाचलाई अझ व्यवस्थित र आकर्षक बनाउनु आवश्यक देखिन्छ । त्यसो त भालु नाचको ठूलो समस्या भालुको पोशाक हो । भालुको छाला पाउन मुस्किलै हुन्छ । भालुकै छालाको पोशाक नभए पनि त्यस्तै खालको छालाको पोशाक बनाएर भए पनि भालु नाचलाई निरन्तरता दिनु उपयुक्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *