भर्खरै :

‘संस्कार नभएमा सम्पत्तिले मात्र सहयोग गर्दैन’

(नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले समय बचत तथा ऋण सहकारी संस्था लि. को सातौं वार्षिक साधारणसभाको स्मारिकाका लागि दिनुभएको शुभकामना सन्देश आज पनि सान्दर्भिक भएको हुनाले साभार गरिएको छ । –सम्पादक)
समय बचत तथा ऋण सहकारी संस्था लि. को सातौं वार्षिक साधारणसभाको प्रतिवेदन प्रकाशित हुने खबर पाउँदा खुसी लाग्यो । तर साधारणसभा र प्रतिवेदन खालि बिरालो बाँधेर श्राद्ध गर्ने कामभन्दा साधारण सदस्यहरूलाई सहकारी तथा प्रतिवेदनमा उल्लेख हुने विषयमा बुझ्ने भाषामा छलफल गर्नु उत्तम हुने देख्छु ।
अहिले सरकारले स्वीकृति दिएर चलाइने सहकारी संस्थाहरू शोषक वर्गको ठूलो पुँजीले सञ्चालित बैङ्कहरूबाट मिचिएका र पिल्सिएका आर्थिक संस्थाहरूमात्र बनेका छन् । गरिब जनताको दुई–चार पैसा जम्मा गरेको सहकारी संस्थाको रकमसमेत नेपाल बैङ्क वा अन्य निजी बैङ्कमा राख्नु भनेको ‘गाई मारी बाघ पोस्नु’जत्तिकै हो ।
नेपालका कति पुँजीपति वर्गले सम्भवतः नेपाली बैङ्कबाट समेत ऋण लिई बहुराष्ट्रिय कम्पनीहरूमा लगानी गरी नाफा कुम्ल्याएका होलान् । ठूला पुँजीपतिहरूले साना वा ठूला कारखाना खोल्न पाउने भए सक्षम सहकारी संस्थाले गरिब किसान सदस्यहरूलाई काम दिन किन व्यवसाय चलाउन नपाउने ? सहकारी संस्थाहरूसँग उद्योग सञ्चालनको दक्षता छैन भने व्याज खाने बैङ्कले तालिम दिएर सक्षम बनाउनु आवश्यक छ ।
सहकारीका डिभिजन कार्यालयले सहकारीमा काम गर्ने कर्मचारीहरूलाई तालिम दिने हो, मिल्दैन भने हेलाहोचो गर्ने होइन वा घूस खाएपछि मिलाई दिने काम गलत हो ।
स–साना सहकारीहरूलाई नाफाको २० प्रतिशत कर लिने तर ओरेन्टलजस्ता करोडौं करोड लिएर भाग्ने र लुक्नेहरूलाई कारबाही भएको खोइ भन्ने प्रश्नहरू जनतामा व्यापक छ । सहकारीहरू पनि शोषक वर्गले चलाउने र शोषित किसानहरूले चलाउनेमा भेद किन ? ओरेन्टलजस्ता संस्था सहकारी होइन फाइनान्स कम्पनी हुन् ।
सहकारी संस्था स–साना किसानहरूको सहयोगको निम्ति सुरु भएको संस्था हो । ठूल्ठूला उद्योगी, व्यापारी र घरजग्गाका मालिक र एजेन्टहरूलाई सहयोगको लागि स्थापना भएको होइन । ठूल्ठूला कारोबारको निम्ति बैङ्क वा फाइनान्स कम्पनीहरू छन् ।
किसानहरूको समस्या कृषि र आर्थिक समस्याबाट मात्र समाधान हुने गर्दैन, गरिबीलाई केही वर्षभित्रै हटाउन सकिन्छ, तर सांस्कृतिक स्तरलाई विकास गर्न एक दशक लाग्छ । यसकारण किसानहरूको सांस्कृतिक स्तरलाई समेत सहकारी संस्थाहरूले विकास गर्न सकेमात्र किसानहरूको समुचित विकास गर्ने काममा योगदान पुग्नेछ । सम्पन्न किसानहरूको सांस्कृतिक स्तरको अभावमा भएको सम्पत्तिको एउटा ठूलो भाग खाने र पिउनेमा मात्र लगाउँदा युवाहरूसमेत छिट्टै गम्भीर रोगहरूका शिकार भएका छन् । संस्कार नभएमा सम्पत्तिले मात्र सहयोग नगर्ने प्रस्ट छ ।
यसकारण यसबारे सहकारी संस्थाहरूको ध्यान पु¥याउनुपर्ने देख्छु । सूक्ष्म तर गम्भीर विषयमा सहकारीसम्बन्धी मन्त्रालय र विभागको चिन्ता नहुनु स्वाभाविक हो । यहाँ पनि वर्गकै विषय उठ्छ । रोगी नै चिकित्सककहाँ गएजस्तै पीडित किसानहरूले नै यसबारे शीघ्र ध्यान दिनु फलदायी हुन्छ ।
अन्तमा समय बचत तथा ऋण सहकारी संस्थाको सातौं साधारणसभाको पूर्ण सफलताको कामना गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *