भर्खरै :

धर्म, दर्शन र विज्ञानबारे सोच्दा

गोविन्दप्रसाद लोहनी
भक्तपुरबाट वि.सं. २०५३ फागुन १२ गते श्री विन्दुरसिंह प्रधान नाम भएका एक विद्वान् वृद्धले दार्शनिक, वैज्ञानिक र धार्मिक प्रश्नहरूबारे खुलापत्र केही व्यक्तिलाई पठाउनुभएको रहेछ जसमध्ये म पनि परेको रहेछु । मैले उहाँलाई चिनेको छैन । तर २००८–९ सालदेखि २०१६–१७ सालसम्म निकै र त्यसपछि पनि यदाकदा दर्शन, विज्ञान र धर्मबारे मेरा लेखहरू प्रकाशित भएबाट मलाई पनि आफ्ना चिन्तनबारे राय दिन पत्र पठाउनुभएको होला । कुरा अरु चिन्तक र विवेचकहरूका लागि पनि चाख लाग्ने हुनसक्ने किसिमको भएकाले मेरो विचार प्रस्तुत गर्दछु ।
अहिलेसम्म नेतृत्वशास्त्र, पुरातत्वशास्त्र, भूगर्भशास्त्र, भाषाशास्त्र आदिबारे वैज्ञानिकहरूले प्रमाणहरू पाएको आधारमा मानव जाति, बीसौँ लाख वर्षसम्म जङ्गली र ढुङ्गो औजारको युगमा थियो भनी पुष्टि गरेका छन् । संसारमा कहीँ पनि आठ–दस हजार वर्ष अघिसम्म खेती थिएन, गाउँ थिएनन्, सहरको त कुरै भएन । अतः धार्मिक र दार्शनिक कुरा गर्ने मानव समाज थिएन । तत्कालीन दैनिक व्यवहारका वस्तु र क्रियाका लागि सीमित शब्द थिए । काल्पनिक अवधारणाहरू बनाउन सक्ने मानव जाति संसारका केही ठाउँमा विगत छ–सातहजार वर्षदेखि मात्र देखिएको छ । मनोगत चिन्तन गर्ने क्षमता विकास भएपछि कविता, धर्म, मूर्ति, पुराण, मानवीय स्वभाव भएका प्राकृतिक शक्तिहरू, रिसाहा भूतप्रेत, दानव र देवदेवीहरू स्तुति, पूजा, बलि आदिबाट प्रार्थना र कीर्तनबाट खुसी हुने यस्तै अदृश्य तत्वहरू, मान्छेको जस्तै इच्छा राख्ने, त्यसैगरी सोच्ने, घृणा, द्वेष, क्रोध,काम, विलास र दया भएका, चाकडी र प्रशंसा रुचाउने र आशीर्वाद दिने अपार शक्तिशाली देवदेवी र दानवका व्याख्याहरू चार–पाँच हजार वर्षदेखि निस्कन थाले–पशुपालन युगदेखि । यस्ता कल्पनाशील (प्रतिभाशाली) कवि, कलाकार र पुरोहितहरूले जगत्को धार्मिक व्याख्या गर्न थाले । यसलाई पौराणिक युग भन्दछन् । शून्य, अनन्त, अनादि, अविनाशी, जड, जीव र चेतना, पदार्थको सूक्ष्मतम अवस्था, सृष्टि र स्रष्टा, अन्तरिक्ष र समय, स्थान आकाश र ब्रहमाण्ड, त्यसको असीमितता, अनन्तता आदि र परिचालन र अन्त्यको कारक र कर्ता र त्यसका उद्देश्यहरू, इच्छाहरू जगत् र त्यसको रुप, सर्वव्याप्त चैतन्य, त्यसको स्वभाव, अजर, अमर, स्वयम्भू आदि दार्शनिक अवधारणाहरू निस्कन थालेको त तीन–चार हजार वर्ष पनि भएको छैन रे क्ष
सबभन्दा पहिले त्यस्ता शब्दावली अवधारणा इजिप्ट, ग्रिस, रोम, इथियोपिया, बेबिलोनिया (इराक–सिरिया) इरान, मध्य एसिया, अफगानिस्तान, पश्चिमोत्तर र उत्तरी भारतवर्ष, चीन, जापान, मेक्सिको आदिमा निस्के र तिनलाई परिमार्जित दर्शनको रुप दिएर व्याख्या गरिएको त त्यसपछिका शतब्दीहरूमा मात्रै हो रे क्ष वैज्ञानिक प्रमाणहरूबाट यही नै सिद्ध भएको छ । वेदहरू र भारतका अधिकांश महाकाव्य गीता, उपनिषद्हरू, योगवशिष्ठ आजभन्दा दुई तीन हजार वर्षदेखि आजको दुई–तीन सय वर्ष अघिसम्ममा लेखिएका हुन् रे । भारतीय विद्वानहरू पनि यसै भन्दछन् । हिन्दू दर्शन दक्षिण भारतमा पनि फैलियो, वडावडा दार्शनिक निस्किए ।
विज्ञान र प्रविधिको जति जति विकास हुँदै गयो उति उति दर्शनमा बढी वैज्ञानिक तर्क, शब्दावली र अवधारणाहरूको उपयोग हुनथाल्यो । आआफ्नो स्थान, क्षेत्र (देश) र कालको वैज्ञानिक ज्ञानमा दार्शनिक व्याख्याहरू आधारित हुन्छन् । सबै ज्ञान, सत्य, अवधारणाहरू सापेक्षित हुन्छन् । देश प्रदेशबीच सम्पर्क र सञ्चार हुन थालेपछि दर्शनले विश्वव्यापी विचारको रुप लिन थाल्छ । भारतबाट बौद्ध दर्शन, हिन्दू दर्शन, चीन, जापान, श्रीलङ्का, इन्डोनेसिया, कम्बोडिया र कहाँकहाँ पुग्यो । विगत तीन–चार सय वर्षमा युरोपियन चिन्तनहरू भारतमा आए । अठार–बीस सय वर्ष अघिसम्म शिलालेखन, वस्त्र, तामापत्र, भोजपत्रमा चिन्तन लिपिबद्ध हुन्थे । पछिपछि लोक्ताका कागतमा लेखिन थाल्यो । वडावडा धनी विद्वान् र राजाहरूमा मात्र यस्ता हस्तलिखित सामग्री हुन्थे । तीन–चार सय वर्षदेखि मात्र काठका ठप्पाले छाप्न थालियो । क्रमश ः छापाखाना निस्के । विगत १५० वर्षमा हामी रोटरी, अफसेट, फोटो, लेजर कम्प्युटर छपाइको र फ्याक्स र अहिले विश्वव्यापी तुरुन्त हुने कम्प्युटर नेटवर्कको युगमा पुगेका छौँ । सूचना तुरुन्त र विश्वव्यापी हुने यस युगबाट अब दस–पन्ध्र र सय, दुई सय र चार पाँच हजार र दुई चार लाख वर्षमा कहाँ पुगिने हो ।
दर्शनको मनोगत कल्पना, मानवीय सामाजिक कल्पना, मनोवैज्ञानिक उडानको अवस्थाबाट यस शताब्दीको दोस्रो, तेस्रो, चौथो दशकका परमाणु र ब्रहमाण्डका विज्ञानका नवीनतम् खोजहरूबाट प्राप्त ज्ञानमा अहिले विश्व दर्शन पुगेको छ । भूतकालको कल्पना वर्तमान कालको सुविधाहरूबाट गर्नै हुन्न । ग्रन्थ, लिखत, उपदेश, ज्ञान र प्रवचन पाँच–सात सय वर्षअघिसम्म पनि लाखमा दुई–चार जनालाई मात्र उपलब्ध हुनसक्दो हो । गीता, रामायण, उपनिषद्, विश्वभरका धर्मग्रन्थ र दार्शनिक भनाइ जताततै र घरैमा बसीबसी रेडियो, टी.भी. र कम्प्युटर पर्दामा छानीछानी हेर्न पाइने अवस्था आज पो हुन गयो । भविष्यबारेका कल्पनामा पनि वर्तमानकै ठूलो प्रभाव हुन्छ । बिल्कुलै नयाँ स्थिति कल्पना गर्न म सक्तिनँ । माक्र्सले अन्तरिक्षयान र इन्टरनेट युगको कल्पना गर्न सम्भवै थिएन । आज पो रामायण, महाभारत, चाणक्य एकैपल्ट पच्चीसौँ करोड मान्छेले टी.भी.मा हेर्छन् ।
मानव ज्ञानेन्द्रियहरूबाट देखिने, अनुभव हुने (Perception ) अनुभूतिलाई विज्ञान र टेक्नोलोजीले खासगरी विगत १००–१५० वर्षदेखि झन् झन् सूक्ष्म र झन् झन् विशाल, व्यापक तथा कार्यकारणका तथ्यको घेराभित्र ल्याउँदै गइरहेको छ । कसैले पनि आजसम्म परमाणु (Atom ) देखेका छैनन् । इलेक्ट्रन, प्रोटन र न्यूटनको त सायद दर्शन सम्भव नै छैन । ती कति र कुन स्थानका सूक्ष्म आकाशभित्र घुमिरहेछन् र ती पदार्थ (Matter ) भित्रको सूक्ष्म आकाशको आयतनको कति दोब्बर साना छन्, त्यसको हिसाब निकालिएका छन् तर देख्न सकिन्न । सब काल्पनिक चित्र हुन् ।
ज्ञानेन्द्रियबाट अनुभव गर्नै नसकिने कुराहरू पनि भौतिक प्रमाणको आधारमा मान्नै पर्दोरहेछ । मानव परमाणु फुटाउन सक्ने भयो, प्रयोग गर्न र उपयोग गर्न थालेको छ, तर देख्न सक्तैन । विगत साठी–सत्तरी वर्षमा पदार्थ, जगत् शक्ति र किरणहरूबारे नयाँ र अद्भूत ज्ञानहरू प्राप्त भएको छ । तर ती सबै हाम्रो मनबाट स्वतन्त्र छन् र भौतिक यथार्थ नै हुन् । मानव जातिले आफ्नै मूर्खताबाट मानव जातिको पूर्ण विनाश गराएन भने यस पृथ्वीमा २२ करोड वर्ष अझै ऊ रहन्छ रे । सय वर्षपछिको सभ्यता, संस्कृति, मानव ज्ञान र चेतना र व्यवहारबारे म कल्पना गर्नै सक्तिनँ भने हजारौँ, लाखौँ र करोडाँै वर्षमा बढ्ने ज्ञान र दर्शनको के कुरा गर्नु क्ष अहिले त विज्ञानको ज्यादै शिशु अवस्था हो ।
अन्तिम र परम ज्ञान प्राप्त भइसक्यो भन्ने अहङ्कार गर्नु नै मूर्खता प्रदर्शन हो । विश्वात्मा सर्वव्याप्त चैतन्य, सर्व शक्तिमान ब्रह्म र अन्तिम रुपले निर्णायक स्वतन्त्र कारक र त्यसका इच्छा, योजना, डिजाइन वैज्ञानिक विधिबाटै प्रमाणित भएमा मान्नु नै पर्छ । मानसिक सुख, आनन्द र शान्ति विज्ञानको चासोका विषय होइनन् । सत्य र तथ्यको खोजमात्रै विज्ञानको चासो हो । अध्यात्मवाद र धर्मभन्दा विज्ञान त्यसैले फरक कुरा हो । दर्शन दुवैबाट बन्न सक्छ । मानव मनको स्वभाव नै आफ्नो चारैतिरका कुराको एक न एक व्याख्या गरिरहनु हो । मूर्ख होस् वा महर्षि वा आइन्स्टाइन होस्, सबैका भनाइ पढ्नुपर्छ, सुन्नुपछर्, विश्लेषण गर्नुपर्छ । कवि, कलाकार र पुरोहित समुदाय मन र भावुकताबाट वस्तुगत सत्य र तथ्यको दर्शन पाएको, अनुभव गरेको दाबी गर्छन् । यी कल्पनाशील प्राणी हुन् ।
अरविन्द घोषले Basis of Yoga  भन्ने किताबमा साधना (ध्यान) गर्दा गर्दा जगत्, जगदीश्वर र जीवनबारे आजै महर्षिहरूलाई जुन तथ्य थाहा भएको छ ती सब विज्ञानको प्रक्रियाबाट पनि पछि थाहा हुनेछ भनी लेखेका छन् । उनान्सत्तरी वर्षको म त्यो बेला हुन्छु कि हुन्न हेर्न पाउन्न होला । सायद सधैँ नै तत्कालीन ज्ञान झन् झन् बढी बढी तर सीमित रहला । खोज, प्रयोग, तर्क र नयाँ अवधारणा निकाल्ने कुराको अन्त कहिले होला र क्ष मानव जाति झन् झन् उन्नत, विद्वान्, जिज्ञासायुक्त तथ्य जान्न आशक्त, बढी बढी प्रविधि र साधनसम्पन्न हुँदै जाला ।
म कसैका कुरा, तर्कपद्धति, उदाहरणहरू, बोलेका शब्दावली, इतिहास र विज्ञानबारे उसको ज्ञान आदिबाट त्यस व्यक्तिको युग, सभ्यता, मूल्य र मान्यता, इच्छा–अनिच्छा थाहा पाउँदछु । बी.बी.सी.को ‘होराइजन’ र ‘टाइम आउट’ भन्ने प्रोग्राम, ‘डिस्कभरी च्यानेल’मा देखाइने कतिपय गम्भीर विषय, पत्रपत्रिकाहरू ‘टाइम्स अफ इन्डिया’मा आउने कतिपय गम्भीर लेखहरू हेर्दछु । मनोविज्ञानका सबैजसो स्कुल र अत्याधुनिक पत्ता लागेका तथ्यहरूबारे पाएसम्म पढ्छु । मानव मस्तिष्कपूर्णको कल्पना गर्ने खालले बनेको छ भनी गेस्टाल्ट साइकोलोजी (व्यवहारिक मनोविज्ञान) ले भन्छ । अन्तिम सत्य सही हो भन्नु सायद वैज्ञानिक खोजको अन्त भएको घोषणा गर्नु हो । ज्ञान र विज्ञानको भर्खर प्रारम्भ भएको छ । उन्नत राष्ट्रहरूमा पनि केही प्रतिशतमात्र निर्लिप्त, वस्तुगत, तटस्थ रहेर सोच्न सक्नेहरू छन् । नेपालका डोल्पा, रोल्पा, हुम्ला, अछामका अनपढको जस्ता सोचाइ भएका ठाउँ संसारका धेरै भागमा छन् । काठमाडौँमै पनि भौतिक, वैज्ञानिक, वस्तुगत रुपले सोच्ने मान्छे दुई–चार हजारमात्र होलान् । नाटक, सिनेमा र तस्बिरहरूबाट राम, सीता, द्रौपदी, पार्वती, लक्ष्मी आदि मेरा मनमा आउँछन् । तुल्सीदास र भानुभक्तको मनमा ती पात्रहरूको कस्तो चित्र आयो होला ?
अध्यात्मवादीहरू समर्पणवादमा पुगे । नयाँ खोज र नयाँ विश्लेषण र विज्ञानसिद्ध तर्कहरू नै गर्न छोडे । सत्यको अन्तिम रुप यही हो भन्ने ठोकुवा गरेपछि ज्ञानको विकास नै हुँदैन । यस्तो दर्शन धर्म, कला र कवितामा परिणत हुन्छ । यी कुरालाई होच्याएको होइन । आनन्द दिन्छन्, शान्ति दिन्छन्, त्यसैले मानसिक ओखती हुन् । यस रुपले हेर्दा उपयोगी हुन् ।
अहिले वैज्ञानिकहरू Matters  को Elementary sub-atomic particles  र clusters कणरुप र लहर वा शक्तिरुप, छ–छैन–छ–छैन कम्पन भइरहने रुप देखेर Theory of Probability मा पुगेका छन । इलेक्ट्रन– प्रोटन–न्यूटनभन्दा पनि अझ सूक्ष्म कण र शक्ति हालै पत्ता लागेको छ । यो पनि अन्तिम होइन होला । दुई सय, पाँच सय या हजार वर्ष पछिका वैज्ञानिकहरूले हाम्रो आजको वैज्ञानिक चिन्तनलाई, आजका टेक्नोलोजीलाई आदिम (Primitive) ठान्छन् कि ? हामीभन्दा लाखौँ र करोडाँै वर्ष अघिदेखि विज्ञान र दर्शनका गुत्थीहरूमा खोज गरिरहेका कुनै अर्कै ग्रह–लोकका प्राणी चेतन तत्वसँग अन्तरिक्ष सम्पर्क हुन्छ कि ?
इच्छित विश्वास (Wishful Thinking) बाट पनि अनेक सामाजिक, धार्मिक, दार्शनिक र वैज्ञानिक सिद्धान्त बनाइन्छन् । मृत्यु–भय प्राणीमात्रमा छ । सोच्ने मानिसमा त झन् बढ्ता हुन्छ । मृत्युपछि के छ भन्ने जिज्ञासा र चिन्ता छ । शून्य चेतना भएका अवस्थाको कल्पना म त गर्नै सक्तिनँ । अरबौँ वर्षमा घट्दै गएका घटनाक्रमबाट भएको विकास हामी दुई–चार हजार वर्षमा मात्र भएको विकास देख्नसक्ने मान्छेको कल्पनाभन्दा ज्यादै टाढाको कुरा हो । डार्बिनको जस्तो लामो सोचाइ सबैको हुँदैन । कालीगण्डकी बेसिनमा समुद्री जन्तुको फोसिल देखेर हिमालय समुद्रमुनिबाट निस्केको भूगर्भ विज्ञान सबले बुझ्न सक्तैनन् । खोज्दै गए नेपालमा चट्टानहरूमा कस्ता कस्ता फोसिल निस्केलान् ।
परम बुद्धि, दया, सम्पूर्ण शक्ति र मान्छेको जस्तै इच्छा र मन भएको स्रष्टाले सबै सूक्ष्मतम तारतम्य मिलाएर सृष्टि गरेको र चलाइरहेको कल्पना गर्नु अस्वाभाविक थिएन । संसारभरि नै सभ्यताका साथसाथै ईश्वरको अवधारणा निस्कयो । DNA को PRogramme पनि ईश्वरयि खेलमै गन्न सकिन्छ ? स्वत ः कसरी हुन्छ र भन्ने भनाइमै केही मान्यताहरू लुकेका छैनन् त ? ईश्वर स्वत ः भएको मान्नमा प्रकृति स्वत ः सधैँ देखिरहेको मान्न किन नहुने ?
वस्तुगत सत्यको कार्य–कारणवाद अर्थात् विज्ञान र भौतिकवादी दृष्टिकोण लिँदा लाज मान्नुपर्ने, नरमाइलो मान्नुपर्ने, शून्य अनुभव गर्नुपर्ने, भोगवादी, नास्तिक भनी घृणा गर्लान् भनी डराउनुपर्ने कुरा छैन । विज्ञानवादी सामाजिक र मानवीय रुपले अनैतिक हुन्छन् र ? हुँदैनन् । मृत्यु भय कम हुन्छ, मानसिक अशन्तिमा राहत हुन्छ, मन रमाइलो हुन्छ, सामाजिक र व्यक्तिगत न्युरोसिसमा फाइदा गर्छ भने ईश्वर
(दार्शनिक अर्थमा वा धार्मिक र कलात्मक, काव्यात्मक र भक्तिमार्गी अर्थमा) मान्न नहुने कुरा होइन । व्यक्ति नास्तिक (गौतम बुद्ध पनि नास्तिक नै थिए ) र विज्ञानवादी भएर पनि धर्मस्थल जान, संस्कृति र सामाजिक चालचलन पालना गर्न, ध्यान, योग, पाठ, मेडिटेसन गर्न, अन्तिम घडीताका आर्यघाटमै पु¥याइदिनु भन्न नहुने कुरा छैन । दार्शनिक विचार र आचरण भिन्दाभिन्दै कुरा हुन् । विज्ञानवादीलाई पनि मृत्यु भय हुन्छ, मृत्युपछिको अवस्थाबारे जिज्ञासा र शून्यमा बिलाउने सम्झँदा नरमाइलो लाग्छ । विगत पचास–साठी वर्षका बडाबडा वैज्ञानिक हाइजेनवर्ग, म्याक्स प्ल्याङ्क, निएल बोहर, लई रदरफोर्ड, श्रोडिङ्गर, एडिङ्गटन, जेम्सजिन्स, बेट्रन्ड रसेल, आइन्स्टाइन, हेगेल अध्यात्मवादीहरू पनि रुँदै नै मरेको कुरा सुनेको छु । बेहोसीमै मरे भने रुँदैनन् । हार्टएटेक र ब्रेन हेमोरेज भएकाहरूको यस्तै हुन्छ ।
द्रष्टा, प्रयोगकर्ता पनि विश्वकै अंश हो । त्यसैले अंशले पूर्णलाई जाँच्दा, हेर्दा, प्रयोग गर्दा वास्तविकतालाई प्रभाव पार्दछ भन्छन् । पूर्ण सत्य र अविकृत तथ्य अजेय छ ? बुद्धि, मन, इच्छा, स्वतन्त्र चिन्तन वास्तवमा के कस्तो हो भन्नेबारे पनि रोबोटनिक्स, जटिल कम्प्युटरहरू, जेनेटिक्स, स्मृतिको स्नायु प्रक्रियाको जस्तै काम गर्ने सूक्ष्म र जटिल विकसित हुँदै गएका इलेक्ट्रोनिक संयन्त्रहरू आदिले नयाँ–नयाँ रुपले हेर्न, वर्णन गर्न थालेका छन् । नयाँ–नयाँ कुरा पत्ता लाग्दैछ । लाग्दै नै जानेछ, लाखौँ र करोडाँै वर्षपछिसम्म पनि । यही प्रक्रियामा ईश्वर प्रमाणित हुन्छ भने पनि नमान्नु मुढाग्रह ठहरिनेछ । अहिलेसम्म त मनोगत रुपमा ईश्वरको कल्पना छ । शब्दाडम्बरमात्र बढी छ । आफ्नो मनको जथाभावी अभिव्यक्ति छ, गलत शब्दहरूको खेल छ । गलत प्रश्नहरू गरिन्छन् । शब्द जालमा अल्झिइन्छ ।
विज्ञानवादीहरू व्याख्या
(प्रमाणसहित ) गर्न नसकिने कुरा थाहा छैन भनी नम्रतापूर्वक भन्छन् । तथ्य निष्पक्ष हुनुपर्छ, भावुकता शून्य हुनुपर्छ, आफ्ना इच्छा र अहम्बाट, स्वतन्त्र अनुसन्धानबाट निश्रृत, कटु सत्य, आफ्ना पूर्वस्थापनाको खण्डन हुन्छ भने पनि सहर्ष स्वीकार गरिने, नैतिक–अनैतिक र मूल्य मान्यतामा नफसेको हुनुपर्छ । अनुसन्धान गर्दा वैज्ञानिकजस्तो भएर पनि सामाजिक व्यवहारमा सामान्य मानिसजस्तै प्रचलित मूर्खतामा सहभागी हुनुपर्छ । वैज्ञानिकलाई पनि त समाज चाहिन्छ नि क्ष
–गोविन्द लोहनीका दार्शनिक रचनाहरू
(नेपाल प्रज्ञा प्रतिष्ठान)

Leave a Reply

Your email address will not be published. Required fields are marked *