भर्खरै :

दाहालको विदेश भ्रमण

नेकपाका दुई अध्यक्षमध्ये एक पुष्पकमल दाहाल बिहीबार भारत गएका छन् । ‘भारतसँग भएका पूर्वसहमति कार्यान्वयन गराउन’ नयाँ दिल्ली गएको भनिए पनि दाहालको भारत भ्रमणको कुनै प्रस्ट लक्ष्य देखिंदैन । विगतमा नेपाली नेताहरू ‘स्वास्थ्यलाभ’ को कारण देखाई विदेश गएर राजनीतिक चालबाजी गरेका उदाहरण थुप्रै छन् । दाहाल अहिले कुनै ठोस कारणबिना भारत गएका छन्, केही दिनमा चीनको पनि भ्रमण गर्दैछन् । यी भ्रमणको राजनीतिक निहितार्थ के हो, त्यो त भविष्यले नै देखाउनेछ । तर शासक दलको विदेश घुम्ने र मित्र भेटघाट गर्ने उद्देश्यले मात्र यस्ता भ्रमण हुनु भनेको नेपाली शासक वर्गको अर्को ‘जङ्गबहादुरको बेलायत यात्रा’ मात्र हुनेछ ।
एमाले र माओवादी केन्द्रबीचको प्राविधिक एकतापश्चात् दुई पक्षबीचको अन्तरसङ्घर्ष जनवर्गीय र तल्ला समितिहरूको एकता प्रक्रियाको क्रममा देखिएको विवाद सतहमा आइसकेको छ । वास्तवमा त्यो विवाद कुनै सैद्धान्तिक विवाद नभई पद र सुविधाको बाँडफाँट हो । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद ओली पक्षसँग हुँदा आज एकातिर पूर्वमाओवादी केन्द्र पक्ष ओझेलमा पर्दैछन् भने अर्कोतिर एमालेभित्रकै नेपाल गुटलाई अहिलेको अवस्था नखाऊँ दिनभरिको शिकार, खाऊँ कान्छा बाउको अनुहारजस्तै बनेको छ । यस्तो अवस्थामा दाहालले राजनीतिक स्पेस खोज्नु उपयुक्त मौसम बनेको छ ।
यो खेल आफ्नो बलबुत्ताले मात्र खेलिने खेल होइन भन्ने कुरामा अनुभवी दाहालले यतिबेला प्रधानमन्त्री पदतिरको यात्रा भारतबाट सुरु गरेका हुन् । त्यसकारण बिनाएजेण्डा भए पनि दाहालको यो भ्रमणलाई धेरैले सरकार परिवर्तनको पूर्वतयारीको रुपमा लिएका छन् । दाहाल भारत भ्रमणका लागि निस्कनुअघि उनले ओली नेतृत्वको मन्त्रिमण्डलको कार्यप्रस्तुतिप्रति असन्तोष व्यक्त गर्दै मन्त्रिमण्डल फेरबदलको सड्ढेत गरेका छन् । मन्त्री परिवर्तन हुनसक्ने, प्रधानमन्त्री परिवर्तन हुन नसक्ने भन्ने कुरा होइन ।
दुवै अध्यक्ष हुनाले ओलीले चलाए जति प्रधानमन्त्री कार्यकाल दाहालले पनि गर्न खोज्नु नेकपाभित्र माओवादी केन्द्रको खोजी पनि हो । सिद्धान्तमा कुनै बहस नहुने भएपछि अबको द्वन्द्व भनेको पद र सुविधाको लागि नै हुनेमा आश्चर्य छैन । दाहालको विदेश भ्रमण एकीकृत पार्टीभित्र एकजना अध्यक्षको राजनीतिक अस्तित्वको खोजीको शिलशिला हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *