बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
– विसुतु
कामदार वर्गको हुकुम स्थापना गर्न मार्गदर्शन गर्ने कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा संसारभरि नै विभिन्न कार्यक्रमहरू भइरहेका छन् । नेपाल मजदुर किसान पार्टीले पनि माक्र्सवादी साहित्यको अध्ययनलाई विशेष जोड दिंदै अभियान नै चलाएको छ । नेपालमा नेमकिपाले मात्र होइन अरुहरूले पनि माक्र्सका बारेमा विविध कार्यक्रम गर्दै आएका छन् । काङ्ग्रेस नेता समेत सम्मिलित शासक दलका बौद्धिकहरू तराईका जिल्लाहरूमा माक्र्सवादसम्बन्धी परिचर्चा कार्यक्रम गरिरहेका छन् । नेपाल मजदुर किसान पार्टीले तराईमा विद्यमान वर्गीय असमानता अन्त्य गर्न किसान आन्दोलन उठाउनुपर्ने जोड दिंदै आएको छ । त्यसैले तराईका जिल्लाहरूमा माक्र्सवादसम्बन्धी छलफल गोष्ठीहरू हुनु सकारात्मक विषय हो । सँगसँगै माक्र्सवादको माला जपेर माक्र्सको सिद्धान्त पुरानो भयो भनेर फलाक्नेहरूसँग होसियार हुनु जरुरी छ ।
माक्र्सवादलाई बिटुलो पार्न खोज्नेहरू माक्र्सको खास विचारमाथि विमर्श नगरी माक्र्सवादको खास्टो ओढेर पनि विचलित भएकाहरूको चरित्रमाथि रौंकेलाउन मनपराउँछन् । माक्र्सवादीहरू कर्मकाण्डी हुन्छन्, माक्र्सवादीहरू जातीय विभेद गर्छन्, माक्र्सवादीहरू शोषण र अन्याय गर्छन् आदि आदि लान्छना लगाउँछन् मानौं माक्र्सले नै ती सबै गर्न अ¥हाएका हुन् । वास्तवमा रातो झण्डा खसाल्न रातो झण्डा उठाउनेहरूले माक्र्सकै बदनाम गर्न माक्र्सवादकै आवरणमा अवाञ्छित कर्म गर्छन् । बुद्धप्रतिको आस्था भुत्ते पार्न नक्कली भिक्षुहरूको विगविगी बनाएजस्तै शोषणमा आधारित विद्यमान राज्यव्यवस्थामा आमूल परिवर्तन हुन दिन नचाहनेहरूले स्वाभाविक रुपमा नक्कली कम्युनिष्टहरूलाई उचाल्छन् नै । अनि माक्र्सवादका खास खास पक्षमा बहस मन्थन गरेर समाजमा आमूल परिवर्तनको लागि अहोरात्र खट्नुभन्दा पनि माक्र्सवाद पुरानो भयो र माक्र्सवादीहरू पनि उस्तै हुन् भन्ने गलत निष्कर्षमा पुग्छन् । जबकि नक्कली कम्युनिष्टहरू र माक्र्सवादलाई विटुलो पार्ने संशोधनवादीहरूको विरुद्ध लड्नु सच्चा माक्र्सवादीहरूको कर्तव्य हो ।
माक्र्सवादका आधारभूत ज्ञान पनि नहुँदा वा त्यसलाई निर्ममतापूर्वक बेवास्ता गर्दा नामले कम्युनिष्ट भए पनि तिनीहरू कामले कम्युनिष्ट हुन सक्दैनन् । कम्युनिष्ट नाम गरेको शासक दलले दुईतिहाई ल्याएर पनि ल्याटिन अमेरिकी देशका वामपन्थीहरूले जति पनि साम्राज्यवादविरोधी र देशभक्ति अडान राख्न नसक्नुले त्यो कथित कम्युनिष्ट पार्टी हो भन्ने पुष्टि गरेको छ । जसलाई कम्युनिष्ट आदर्श र विचारसँग कुनै साइनो खोज्नुपर्दैन । जसलाई भौतिकवाद र आध्यात्मवादको कुनै भेद गर्नुपर्दैन । अगाडि ताली पाउन जुनसुकै विचार ओकले पनि भयो ।
भदौ १९ गते मङ्गलबार भैरहवामा सम्पन्न रेडक्रसको ५६ औं स्थापना दिवस कार्यक्रममा पनि यस्तै ताली पाउन पूर्व एमालेबाट निर्वाचित नगरप्रमुख हरिप्रसाद अधिकारीले गैरमाक्र्सवादी, गैरकम्युनिष्ट प्रवचन दिइरहेका थिए । माविस्तरीय विद्यार्थीहरूको वक्तृत्वकला प्रतियोगितामा रेडक्रसका सदस्यहरूलाई प्रशंसा गर्न मेयर अधिकारीले पूर्व जन्ममा पुन्य गरेकाले मात्र रेडक्रसमा सदस्य हुन पाउने बताउँदा रेडक्रसका पदाधिकारीहरू त खुशी भए होलान् तर कलिला ती विद्यार्थीहरू आध्यात्मवाद तर्फ आकर्षित हुने भए कि भौतिकवाद बुझ्ने भए ? त्यही शब्दहरू यदि कुनै धार्मिक व्यक्तित्वले बोलेको भए कुनै प्रश्न गर्नुपर्ने अवस्था हुने थिएन किनभने तिनीहरूको आदर्श नै आध्यात्मवाद हो । तर कथित कम्युनिष्ट पार्टीबाट निर्वाचित मेयरले यसरी प्रवचन दिंदा नयाँ पुस्तामा वैज्ञानिक दृष्टिकोण विकास हुने भयो कि भाग्यवादमा स्खलित हुने भयो ? माक्र्सवादी सिद्धान्तबाट च्युत भइ संशोधनवादलाई मलजल गरिरहेका नेकपाका मेयरलाई आदर्शवाद घोकाउँदा स्वाभाविक लाग्यो होला तर एक्काइसौं शताब्दीमा पनि भौतिकवादी दृष्टिकोणलाई कुण्ठित पार्न खोज्नु माक्र्सवादी दर्शनका हिसाबले मात्र होइन, आजको युगका हिसाबले पनि निन्दनीय छ ।
Leave a Reply