भर्खरै :

चीनका बन्दरगाह, नेपाललाई कतिबेला हुन्छ फाइदा ?

काठमाडांैमा भएको नेपाल–चीन पारवहन सम्झौता कार्यविधिसम्बन्धी तेस्रो बैठकमा चीनतर्फका सामुद्रिक बन्दरगाह र सुख्खा बन्दरगाह प्रयोग गर्न सहज बनाउने सहमति भएको छ । चीनका तेइञ्जिन, सान्झेन, लियानयुगाङ र झान्झेनलगायतका सामुद्रिक बन्दरगाह र लान्झाउ, ल्हासा र सिगात्सेलगायतका सुख्खा बन्दरगाहमा नेपालको पहुँच सहज बनाउने द्विपक्षीय सहमति भएको हो । यसले अन्तर्राष्ट्रिय व्यापारमा भारतसँग मात्र निर्भर रहनुपर्ने नेपालीको बाध्यताको अन्त्य गर्ने सम्भावनाको ढोका उघारिएको छ । इतिहासदेखि जोडिएको नेपाल र चीनबीचको आर्थिक र सांस्कृतिक सम्बन्ध अझ बलियो बनाउन यो सहमतिले कोशेढुङ्गाको काम गर्नेछ ।
यो सहमतिले नेपाललाई जति फराकिलो सम्भावनाको ढोका खोलिदिएको छ, त्यत्ति नै चुनौतीको पहाड पनि अघि सारेको छ । बन्दरगाहमा सहज पहुँचले निःसन्देह विभिन्न तेस्रो देशबाट नेपालमा सामान आयात गर्न सजिलो हुने भएको छ । तर नेपालले बाहिरबाट सामानमात्र ल्याउने, नेपालका कुनैपनि उत्पादन अन्य देशमा पठाउन नसक्ने हो भने यसले अरु देशसँग नेपालको व्यापार घाटा बढाउनेछ । नेपालको परनिर्भरता अझ बढ्दै जानेछ ।
भारतसँग मात्र आश्रित नेपालको अन्तर्राष्ट्रिय व्यापार अब फराकिलो हुनेछ । यो नेपालको राजनीतिक र आर्थिक उपलब्धि हो । तथापि यतिमा मात्र खुसी वा सन्तुष्ट भइहाल्ने अवस्था छैन । चीनका समुद्री तथा सुख्खा बन्दरगाहबाट कसरी नेपाली उत्पादन विदेश निकासी गर्ने भन्नेबारेमा पनि नेपाल सरकारले चिन्तन गर्न जरुरी छ । नेपालको अर्थतन्त्र उत्पादनमुखीभन्दा आयातमुखी छ । दैनिक हजारौंको सङ्ख्यामा नेपाली युवाहरू विदेशिँदा देशको प्राकृतिक तथा मानवीय स्रोतको उपयुक्त उपयोग सकेको छैन । यस्तो अवस्थामा नेपालको लागि चीनका बन्दरगाह खोलिँदा देशले जति फाइदा उठाउन सक्नुपर्ने हो, त्यो नसक्ने अवस्था रहन्छ ।
चीनका बन्दरगाहलाई नेपालको हितमा अधिकतम उपयोग गर्न सरकारले देशको औद्योगिक उत्पादन वृद्धिको निम्ति पहल गर्नुपर्दछ । बन्द उद्योग कलकारखानालाई आजको समयअनुकूल उच्च प्रविधियुक्त बनाउन सरकारले ध्यान दिन जरुरी छ । नेपाली युवाहरूलाई विदेशमा रोजगारका लागि जानुपर्ने अवस्थाको अन्त्य गरी देशकै कलकारखानामा रोजगारी दिने बन्दोबस्त गर्नसके मात्र देशले ती बन्दरगाहबाट अधिकतम फाइदा उठाउन सक्दछ ।
संसारका एकसेएक अन्तर्राष्ट्रिय ब्रान्डहरू आज चीनमा ओइरिरहेका छन् । ती ब्रान्डका एसिसोरिज सामानको उत्पादनमा नेपालले चासो देखाउन सक्नुपर्दछ । त्यस्ता उद्योग कलकारखाना नेपालमा ल्याउन सके एउटै कारखानामा दसांै हजार नेपालीले काम पाउने छन् र नेपालले विदेशमा आफ्नो उत्पादन निर्यात गर्नसक्ने क्षमता पनि विकास गर्नेछ ।
चीनद्वारा प्रस्तावित नेपाली– एक क्षेत्र एक मार्ग (बेल्ट एण्ड रोड) पहलकदमीमा नेपाल पनि सामेल भइसकेको छ । बन्दरगाहमा नेपाललाई सहज पहुँच बेल्ट एण्ड रोड कार्यक्रमकै एउटा हिस्सा मान्न सकिन्छ । बेल्ट एण्ड रोड पहलकदमी चीनले साझा भविष्य बोेकेका सम्पूर्ण मानिसको हितका लागि ल्याएको कार्यक्रम हो । निःसन्देह यसले चीनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पु¥याउनेछ । नेपालले चीनको यो पहलकदमीमा इमानदारीपूर्वक सामेल भई नेपालको समग्र विकासको लागि उपयोग गर्न जरुरी छ । त्यसको अर्थ चीन भएर चिनियाँ र तेस्रो देशका उत्पादनमात्र नेपाल भित्त्याउनु कदापि होइन, बरु नेपालमा उत्पादन भएका वस्तु र सेवा चीन र तेस्रो देशमा निर्यात गर्न पनि यो सहमतिको भरपूर उपयोग गर्न जरुरी छ । तबमात्र यो सहमति साँचो अर्थमा नेपाल र नेपाली जनताको हितमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *