भर्खरै :

ट्रम्पका चुनावी सहयोगीलाई जेल सजाय

वाशिङ्टन, ८ सेप्टेम्बर । संरा अमेरिकी राष्ट्रपति चुनावमा रुसी संलग्नताको बारेमा भएको अनुसन्धानको क्रममा झुठ बोलेका अभियोगमा राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व चुनाव प्रचार सहयोगी जोर्ज पापाडोपोलसलाई चौध दिनको जेल सजाय भएको छ । उनलाई एक वर्षसम्म तारिखमा राख्न, दुई सय दिनको श्रम शिविरमा काम गर्न र ९ हजार ५ सय अमेरिकी डलर जरिवाना तिर्नेसमेत सजाय फैसला भएको छ ।
३१ वर्षका जर्जले रुसी संलग्नतासम्बन्धी अनुसन्धानका लागि रोबर्ट म्युलर नेतृत्वको विशेष समितिलाई झुठ बोलेको प्रमाणित भएको छ ।
एफबीआईको अनुसन्धान टोलीलाई रुससँग उनको सम्भावित सम्पर्कको समय र सम्भावनाबारे झुठ बोलेको आरोप लगाइएको छ ।
जर्जविरुद्ध सजाय फैसला हुनुपूर्व उनले आफ्नो गल्तीको लागि क्षमायाचना गरेका थिए । उनले आफूले गल्ती गरेको र त्यसको लागि आफू लज्जित भएको बताएका थिए ।
न्यायाधीशले उनीविरुद्ध छ महिनाको सजाय तोक्न खोजेका थिए । तर जर्जका वकिलले उनको पक्षले बोलेको झुठले अनुसन्धानमा कुनै पनि नकारात्मक प्रभाव नपरेको हुनाले सजाय छोट्याउन अपील गरेका थिए ।
जर्जले सुरुमा आफूले दुई जना रुसीलाई ट्रम्पको चुनाव प्रचार टोलीमा सामेल हुनुअघि नै भेटेको बताएका थिए । तर पछि उनी स्वंयले टोलीमा सामेल भइसकेपछि ती दुई रुसीलाई भेटेको स्वीकारेका थिए ।
जर्जमाथिको फैसलापश्चात राष्ट्रपति ट्रम्पले भने उनलाई आफूले नचिनेको बताएका छन् । ‘मैले जर्जलाई आजै मात्र देखेको हुँ । मैले उनलाई चिनेको छैन । एउटा तस्वीरमा उनी मसँग बसिरहेका रहेछन् । उनीबारे मैले जानेको त्यत्ति मात्र हो ।’, ट्रम्पले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *