भर्खरै :

बिम्स्टेक सैन्य गठबन्धन हुनुहुन्न

भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले २४ भदौ २०७५ को अन्नपूर्ण दैनिकमा ‘सैन्य कूटनीतिमा अदूरदर्शिता’ शीर्षकमा भारतको पुणेमा हुने सैन्य अभ्यासमा नजाने नेपालको निर्णय अपरिपक्व कूटनीतिको परिणाम’ बताएर कसको पक्षमा बोले भन्नेबारे बताइरहनु नपर्ला !
पूर्वराजदूत उपाध्यायले ‘‘कूटनीति परिस्थिति हेरेर बदलिने विषय होइन’’, ‘कूटनीति भनेको चातुर्य हो’’, ‘कूटनीतिमा कला–कौशलमात्र भएर पुग्दैन चातुर्य पनि चाहिन्छ’’ आदि नेपालको राजनैतिक दबुलीमा शिक्षा दिन खोजेका छन् ।
भारतको मोदी सरकारले नेपाल र नेपाली जनता भूकम्पबाट थिलथिलो भएको बेला एक निकटतम मित्र नेपाल र नेपाली जनतालाई ‘नाकाबन्दी’ दिलायो, यसबारे सबै नेपाली जनता जानकार छन् । त्यसबेला भारतमा नेपाली राजदूत दीपककुमार उपाध्याय नै थिए । त्यसबेला उनको ‘कूटनीतिक चातुर्य’ र ‘कौशल’ कहाँ लुकेको थियो, उनलाई सम्झना छ ?
त्यसबेला भारतीय राजदूत काठमाडौंका नेपाली नेताहरुको घर–घरमा गएर ‘नाकाबन्दी’ बारे आफ्नो सरकारको औचित्यता सावित गर्दै नेपाली नेताहरुलाई दुई देशको मित्रता सुमधुर बनाउन फकाउँदै थिए ।
हाम्रा तत्कालीन नेपाली राजदूत दिल्लीमा नबसी घरमा लुकेर बसेका थिए । के त्यही थियो उनको ‘कूटनैतिक चातुर्य’ र ‘कूटनैतिक कौशल’ ? साँच्चै भनौं भने उनी एक कर्तव्यच्युत राजदूत थिए । दुई देशको सम्बन्ध बढाउनमा उनको अगुवाइ कहाँ गयो ? अहिले कर्तव्यच्युत पूर्वराजदूतले नेपालको राजनैतिक दबुलीमा कूटनैतिक शिक्षा दिने धृष्टता गर्नु निर्लज्जताको हद हो ।
बिम्स्टेकको बारेमा उपाध्यायजी आफै भन्छन् – ‘‘नाम आर्थिक र प्राविधिक राखिए पनि काम सैनिक अभ्यास भनेर चौतर्फी आलोचना हुनु अस्वाभाविक थिएन ।’’
नाम र काम नमिल्ने आलोच्य विषयमा नेपाल जानु उनकै भाषामा ‘अलोकप्रिय’ बन्ने डरले पुणेमा नजाने निर्णयमा आपत्ति किन ?
अझ महत्वपूर्ण विषय त पुणेमा हुने सैन्य अभ्यास नेपाल सरकारको निर्णय थिएन, न त बिम्स्टेकको निर्णय थियो । भारतीय प्रधानमन्त्री मोदीको आदेशमा पुणेमा नेपाली सेना जानुको अर्थ नेपाली सेना भारतीय सेनाको तखतमा छ भन्ने स्वीकार गर्नु हुने थियो ।
कूटनीति परिस्थितिअनुसार गरिने व्यवहार हो । रुसी अक्टोवर क्रान्तिपछि जारकालीन छिमेकीहरुमाथि गरिएको व्यवहार फेरिनु के परिस्थितिको हेरफेरको घच्घच्याइ थिएन ? अमेरिकी स्वतन्त्रता आन्दोलनलाई फ्रान्सले सैनिक सहयोग गर्नु के परिस्थितिको हेरफेरअनुसार थिएन ? अरु पनि थुप्रै उदाहरण छन् ।
माओवादी केन्द्र भारतीय एकाधिकार पँुजीको ‘उत्पादन’ हो । नेपालमा उसको गतिविधिलाई ‘ट्रोजन हर्स’ भनियो । ‘कम्फोसा’ भन्दै उनले दक्षिण एसियामा भारतीय सुरक्षा छात्ताको प्रस्ताव गरेको थिए । बिम्स्टेकको अर्को कदम हिन्द–प्रशान्त सैनिक गठबन्धन नहोस् भनी सोच्नु आवश्यक छ । त्यो गठबन्धनलाई भारतको विशाखापटनममा अमेरिकी जलसेनाको पहरासँग जोडिनु निश्चय छ । आशा गरौं –‘यस्तो डरलाग्दो परिस्थिति एसियाली जनताले भोग्न नपरुन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *