भर्खरै :

किन ढिलै ढिला ?

अनियमितता, भ्रष्टाचार र ढिलासुस्ती पुँजीवादी व्यवस्थाको चरित्र हो । अनियमितता, भ्रष्टाचार र ढिलासुस्ती भइरहेसम्म देशको छवि राम्रो हुनेछैन । देशको छवि राम्रो बनाउन अनियमितता, भ्रष्टाचार र ढिलासुस्ती अन्त्य हुनुपर्छ । कति कर्मचारीहरू कामै गर्दैनन्, काम गराउन कोसेली चढाउनुपर्छ । ‘सरकारको काम कहिले जाला घाम’ उखान त्यसै बनेको होइन । कार्यालयका पदाधिकारी वा कर्मचारीले समयमा काम गर्दैनन्, अनेक निहुँ थपेर ढिलासुस्ती गरिरहेका हुन्छन् । सरकारी कलेजको परीक्षाको नतिजा निकै ढिलो हुन्छ । अरु त के एसईईको परीक्षाको नतिजा प्रकाशन गर्न तीन चार महिना लाग्छ । त्यस्तै त्रिविको परीक्षा पनि धेरै ढिलो हुन्छ ।
अदालती काम कारबाही र मुद्दाको फैसला पनि निकै ढिलो हुन्छ । गोरखा भुजेलका कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्तहरूले धेरै समयपछि सफाइ पाए । धेरै समयपछि सफाइ पाउनु या जेलजीवनबाट मुक्त हुनु अदालतको निर्णय ढिलाइ हुनुको दृष्टान्त हो । तत्कालीन विद्रोही माओवादीले कृष्णप्रसाद अधिकारीलाई सुराकीको आधारमा ०६१ जेठ २४ गते रत्नगरमा हत्या गरेका थिए । हत्यालगत्तै कृष्णप्रसाद अधिकारीका बुबा नन्दप्रसादले जेठ २६ मा चितवन प्रहरीमा उजुरी दिएका थिए । २०६२ मंसिर २६मा कृष्णप्रसादका दाजु नूरप्रसादले १३ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । मानव अधिकारकर्मीको दबाबमा पछि अधिकारी हत्याको कर्तव्य ज्यान मुद्दा ०७० चैत ३० गते चितवन जिल्ला अदालतमा दर्ता गरिएको थियो । सोही मुद्दाको फैसला ०७५ भदौ २४ गते भयो । ज्यान सजायको आरोपमा पक्राउमा परेका छविलाल पौडेललगायतका अभियुक्तहरूलाई चितवन जिल्ला अदालतले सफाइ दियो । यसरी एउटा मुद्दा छिनाउन किन वर्षौं लाग्छ ? के यो ढिलाइ भएको होइन ? के ढिलो निर्णय गर्नु उचित हो ? १४ वर्ष अघिको सो मुद्दाको फैसला १४ वर्षपछि मात्र किन भयो ? १४ वर्षपछि प्रमाण अभाव कसरी भयो ? के त्यसबेला नै सत्य तथ्य थाहा पाउनु पर्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *