भर्खरै :

अमेरिकी करवृद्धिबाट जोगिन चिनियाँ कम्पनी विदेश पलायन

पेइचिङ, २६ भदौ (एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिबाट जोगिन ठूलो सङ्ख्याका चिनियाँ कम्पनीले नयाँ तरिका अपनाउन थालेका छन् ः “चीनमा निर्मित” को साटो वस्तुका उत्पादनका लोगोमा भियतनाम, सर्बिया र मेक्सिकोको नाम छाप्न थालिएको छ ।
राष्ट्रपति ट्रम्पले करिब ५० अर्ब डलर बराबरका चिनियाँ बस्तुमा २५ प्रतिशत करवृद्धि गरेको घोषणा गरेलगत्तै विश्वकै दुई सर्वाधिक ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच केही महिनादेखि व्यापारिक तनाव चुलिएको छ । अमेरिकी घोषणालगत्तै चीनले पनि प्रतिशोधस्वरुप अमेरिकी आयातमा करवृद्धि गरेको छ ।
शेन्जेनमा सूचीकृत मोटरसाइकलको पार्टपूर्जा बनाउने एच–१ कर्पले गत महिना नै भियतनामबाट उत्पादन थाल्नुपर्ने एउटा प्रमुख कारण करवृद्धि हो भन्नेबारेमा लगानीकर्तालाई जानकारी दिएको थियो । कम्पनीले करवृद्धिका असरबाट बच्न उत्पादन कटौती पनि गर्ने बताएको छ । ट्रम्पले अगस्ट महिनामा विद्युतीय बाइकसहित मोटरसाइकल र त्यसका पार्टपूर्जामा नयाँ कर लगाउने घोषणा गरेका थिए ।
बाइकदेखि टायर, प्लास्टिकदेखि टेक्स्टाइलसम्मका चिनियाँ कम्पनीहरूले कारखाना अन्य देशतर्फ स्थानान्तरण गरिरहेका छन् । सरकारलाई जानकारी दिएरै स्थानान्तरण गरिएका यी कम्पनीको मुख्य उद्देश्य नै अमेरिका प्रवेश गर्ने वस्तुमाथि लाग्ने अतिरिक्त कर हो ।
राष्ट्रपति ट्रम्पले गत साता मात्र करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामग्रीमा करवृद्धि गर्ने चेतावनी दिनुभएको थियो । “विश्वभरका कम्पनीहरूले आफ्नो आपूर्ति व्यवस्थामा समीक्षा गर्नुपर्ने अवस्थामा सिर्जना भएको छ,” क्रिस्टोफर रोजर्सले भन्नुभयो ।
हालैका वर्षमा आपूर्ति प्रणाली चीनले अन्यत्र स्थानान्तरण गरिरहेको छ किनभने चीनभित्रै पनि श्रमिक र वातावरण संरक्षणको लागतमा वृद्धि भइरहेको छ । चीन अहिले कतिपय व्यवसायका लागि त्यति आकर्षक मानिन्न ।
विज्ञहरू र कम्पनीहरूको भनाइमा करवृद्धिले आगोमा घिऊ थपेको छ ।
“चीन–अमेरिका व्यापार असमझदारीले विश्वव्यापी आपूर्ति प्रणालीमा तीब्र प्रभाव पार्ने निश्चित छ,” डब्लुटिओ स्टडीजका अनुसन्धान निर्देशक कुई फानले बताउनुभयो । “अत्यधिक श्रमिक आवश्यक पर्ने कारखाना पलायन हुँदा त्यसले बेरोजगारी समस्या निम्त्याउँछ र यस विषयलाई गम्भीरतापूर्वक विचार गरिनु आवश्यक छ ।” कारखाना अन्यत्र सार्दैमा अमेरिकाको समग्र व्यापार घाटामा कमी ल्याउन मद्दत नगर्ने फानले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *