भर्खरै :

मौलिक स्वरुपमा सम्पदा पुनःनिर्माण गर्नेलाई रु ५० हजार थप

काठमाडौँ, २९ भदौ (रासस) ः भूकम्पले भत्किएका सम्पदा बस्तीलाई मौलिक स्वरुपमै पुनःनिर्माण गरिने भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको आजको बैठकले उपत्यका भित्रका खोकना, बुङ्मती, साँखु, किलागलजस्ता परम्परागत बस्ती तथा उपत्यका बाहिरका नुवाकोट, गोरखा दरबार क्षेत्र एवं दोलखाको भीमसेन बजार जस्ता क्षेत्रमा परेका बस्तीको पुनःनिर्माण गर्दा बस्तीको मौलिक स्वरुपलाई यथावत् कायम गर्ने गरी बनाउने निर्णय गरेको हो । ती क्षेत्रमा आवश्यक पर्ने बाटो, खानेपानी, ढल निकास लगायतका पूर्वाधारको पुनःनिर्माणका लागि प्राधिकरणमार्फत् नै लगानी गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्ता बस्तीमा रहेका निजी आवास पुनःनिर्माण गर्नुपर्ने घरधनीलाई मौलिक÷पुरातात्विक शैलीमा पुनःनिर्माण गर्न थप रु ५० हजार अनुदान उपलब्ध गराइने निर्णयसमेत बैठकले गरेको छ ।
प्राधिकरणले दुई वा त्यसभन्दा बढी घरधनीले संयुक्त स्वामित्वमा घर निर्माण गर्न चाहेको खण्डमा निजलाई संयुक्त स्वामित्वका आधारमा घरधनीको सङ्ख्या गणना गरी अनुदान रकम उपलब्ध गराउने भएको छ ।
उपत्यका भित्रका बस्तीमा लाभग्राही सूचीमा परेका घरको पुनःनिर्माण गर्दा जोडिएको घर भत्कने स्थिति भए उक्त घरधनीलाई समेत लाभग्राही सूचीमा समावेश गरी अनुदान रकम दिने निर्णय पनि कार्यकारी समिति बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *