भर्खरै :

कञ्चनपुर घटनाले गुण्डाराज मौलाइरहेको पुष्टि गर्छ

– सृजना सैंजू
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना दुई महिना नाघ्दै छ । आजसम्म पनि सरकारले दोषी पत्ता लगाउन सकिराखेको छैन । प्रहरीबाटै प्रमाण नष्ट गरी दोषी उम्काउने काम भइराखेको व्यापक चर्चा छ । सरकार निरीह भई बस्छ । अपराधीमाथि कारबाही गर्न माग गर्दै सडकमा उत्रेका जनतामाथि सरकार गोली प्रहार गर्छ । निर्दोष जनता मारिन्छन्, घाइते बनाइन्छन् । के यही हो प्रजातन्त्र र गणतन्त्रको सामाजिक न्याय र सुरक्षा ? के यही हो सरकारको जनउत्तरदायित्व ?
कञ्चनपुर घटनामा देखिएको चरम लापरबाही र प्रहरीको शङ्कास्पद गतिविधिले स्वाभिमानी नेपालीको शिर निहुराउने काम भएको छ । देशमा रक्षक नै भक्षक भइदिनाले अविश्वासको स्थिति देखिएको छ । सरकारको शान्ति सुरक्षाको आश्वासन खोक्रो सावित भएको छ । न्याय दिन ढिलाइ गर्नु न्याय नदिनु सरह हो । यस अर्थमा वर्तमान सरकार नेपाली जनतालाई न्याय दिन चुकेको छ । के सरकार असंवेदनशीलहरूको जमात हो ? प्रश्न उठ्नु स्वाभाविक छ ।
निर्मला पन्त एक प्रतिनिधि पात्रमात्र हुन् र यो घटना एउटा प्रतिनिधि घटनामात्र हो । हरेक दिनजसो कैयौं निर्मलाहरू यस्तै दुःखद् स्थिति भोग्न बाध्य छन् र यस्ता घटना दैनिक खबर बनिरहेका छन् । देशको राज्यप्रमुख महिला भए पनि महिलामाथि भइरहेका यी तमाम अत्याचारका घटना निश्चय पनि देशकै निम्ति लज्जाको विषय बन्दैछ । पदमा पुग्नु ठूलो कुरा होइन बरु पदीय मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्नु महत्वपूर्ण हुने गर्दछ ।
विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सले एक प्रसङ्गमा भन्नुभएको थियो – ‘‘कुनै देशको स्थिति कस्तो छ भनी बुझ्न त्यहाँका महिलाहरूको अवस्था बुझे पुग्छ ।’ बालबालिकाको उचित पालनपोषण तथा सुरक्षा र महिलाहरूको सम्मान कुनै व्यवस्थामा सुनिश्चित हुन्छ भने त्यो समाजवादी व्यवस्था हो । सच्चा समाजवादीहरूले त्यसको निम्ति कुनै कसर बाँकी राख्दैनन् । तर समाजवादलाई केवल नारामा सीमित बनाउन खोज्नेहरूले महिलालाई पशुतुल्य व्यवहार गर्न छूट दिनुमा कुनै आश्चर्य छैन ।
हामीलाई थाहा छ, यो पुँजीवादी व्यवस्था हो । त्यसकारण सरकार भेदभावपूर्ण नीति अपनाउँदै छ । सामान्य परिवारका चेलीहरू यहाँ बलात्कृत भइरहन्छन् । सरकारलाई कुनै मतलब हुँदैन । कारण, धनाढ्यका सन्तानहरू यहाँ सुरक्षित हुन्छन् या त्यस्ता अपराध कर्ममा तिनका सन्तान लाग्छन् र सरकार संरक्षण दिन्छ । सरकार दण्डको नाममा पहँुचवाल, सम्पत्तिवाललाई जोगाएर गरीब तथा निमुखालाई अभियुक्तको रुपमा उभ्याउँछ र दोषी ठह¥याउँछ । वर्तमान सरकार आप्mनो वास्तविक पुँजीवादी चरित्र देखाउँदै छ । कञ्चनपुर घटनाले देखाउँदै छ, देशमा लोकतन्त्र होइन गुण्डाराज मौलाउँदै छ । गुण्डा, डन, तस्करहरूको भरमा निर्वाचन जित्नुका अनिवार्य परिणति आज देशले भोग्दै छ ।
जबसम्म कञ्चनपुर घटनामा निष्पक्ष छानबिन हुँदैन र वास्तविक अपराधीमाथि कारबाही हुँदैन तबसम्म सरकारप्रति जनताले विश्वास गर्ने छैनन् । महिला तथा न्यायप्रेमी जनताले शासक दल र तिनका मन्त्रीहरूलाई धिक्कारिरहने छन् । प्रदेश ३ को सरकार मेरो क्षेत्र होइन भनी उम्किन पाउँदैन नेपाली जनताको समस्याप्रति गम्भीर भई समाधानको निम्ति पहल र अगुवाइ तथा समन्वयकारी भूमिका निर्वाह गर्न आवश्यक छ । खाने पिउने बेला अन्तरप्रदेश सहकार्य भन्ने तर समस्या आइपर्दा कार्य क्षेत्र होइन भनी पन्छिनु अवसरवादी चरित्र हो । एक जना अपराधी वचाउन देशका सारा जनतालाई पीडा दिने कार्यशैली सामन्तवादी हो । नयाँ खान्दानी वा सम्भ्रान्तहरूको पोल अब खुल्दै जानेछ ।
कञ्चनपुर घटनामा प्रहरीको दोष के कति छ, राजनीतिक संरक्षण कसले दिइरहेको छ र सीमापारिको हात के कति छ ? जनतासमक्ष सत्यतथ्य बाहिर ल्याइयोस् । अन्यथा यसको दुष्परिणामको जिम्मेवार सरकार स्वयम् हुनेछ ।
(असोज २ गते सम्पन्न प्रदेश नं. ३ को प्रदेशसभाको बैठकमा सांसद सृजना सैंजूले राख्नुभएको विचार–सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *