भर्खरै :

विदेशमा बसेका नाति–नातिनालाई चिठी

हरिबहादुर श्रेष्ठ
प्रिय नाति–नातिना,
धेरै धेरै माया !
बिहान–बेलुका औषधि खाने बेलामा बल्ल कत्ति चाँडो हप्ता नाघेको र महिना नाघेको अनुभूति हुन्छ । लाग्छ – कस्तो छिट्छिटो दिन गएको र वर्ष फेरिएको ! यसको अर्थ विस्तारै म आफ्नो वर्षौंदेखि गर्दै आएको दैनिकीमा परिवर्तन गर्दै जानेछु । जापानको तथ्याङ्कअनुसार त्यहाँ ज्येष्ठ नागरिकहरू कुल जनसङ्ख्याको २८.१ प्रतिशत पुग्यो । संयुक्त राष्ट्र सङ्घीय तथ्याङ्कले यो संसारको सबभन्दा बढी बतायो । ज्येष्ठ नागरिकको सङ्ख्या ३ करोड ३६ लाख पुग्यो । ६५ वर्षको उमेरलाई जापानमा ज्येष्ठ नागरिक मानिन्छ । इटालीमा २३.३ प्रतिशत, पोर्टुगलमा २१.७ प्रतिशत र जर्मनीमा २१.७ प्रतिशत ज्येष्ठ नागरिक रहेको बतायो । (राजधानी, २ असोज २०७५)
मेरा भविष्यका उज्याला ताराहरू, मेरा नाति र नातिना ! तिमीहरूको पत्रमा राम्रै र उत्कृष्ट प्रतिशत ल्याएर तिमीहरू परीक्षामा उत्तीर्ण भएका छौ र प्राध्यापकहरूसँगको तिमीहरूको कुराकानी, नेपालप्रति उहाँहरूको सद्भावना आदि सुनेर म खुसीले गद्गद् भएँ र हर्षको आँसु आयो ! तिमीहरूलाई मेरो आशीर्वाद छ, तिमीहरूले आफ्नो परिवार र आफ्नो देशको मात्रै पीर लिने होइन बरू विश्वको नक्सा हेरेर तिमीहरूले संसारमा अहिले के के हुँदै छ र त्यसको परिणाम भोलि के हुन्छ भन्नेबारेमा सोच्नु आवश्यक छ ।
अस्ति इन्टरनेटबाट तिमीहरूले जिज्ञासा राख्यौ – नेपाल ‘बिम्स्टेक’ को सदस्य भएर पनि भारतको पुणेमा भएको संयुक्त सैन्य अभ्यासमा किन सहभागी नभएको होला ! बङ्गाल खाडीका चारैतिर बस्ने देशहरूको प्राविधिक र आर्थिक सहयोगको निम्ति बनेको त्यो सङ्गठन ‘सैनिक सङ्गठन’ वा ‘सैनिक गठबन्धन’ होइन । तर नेपाल, बङ्गलादेश, श्रीलङ्का, भुटान, म्यानमार र थाइल्याण्ड आफ्नो जालमा प¥यो भन्ने मनसायले ‘बिम्स्टेक’ को बैठक नै नराखी भारतका प्रम मोदीले आफ्नो भाषणमा आदेश दिएजस्तै सदस्य देशहरूलाई भारतको पुणेमा हुने सैन्य अभ्यासमा हाजिर हुने अथवा सहभागी हुने घोषणा गरे ।
नेपालको सरकारले समयमै त्यस सैन्य अभ्यासमा भाग नलिने बतायो र थाइल्याण्डले पनि त्यसमा सहभागिता जनाएन ।
नेपालको त्यो निर्णयबाट रूष्ट भएर भारतीय सेनाध्यक्ष रावतले पत्रकार सम्मेलनमा नेपालले आफूलाई भारतबाट अलग गर्ने सोचाइमा छ भने त्यो अन्यथा हुने दाबी गरे । उनले बिम्स्टेक सैन्य अभ्यासमा नेपालको अनुपस्थिति र चीनसँग नजिकिंदो सम्बन्धबारे सोधिएको प्रश्नमा सेनापति रावतले भुटान र नेपालले भारतबाहेक अन्य राष्ट्रसँग झुकाव राख्न नसक्ने दाबी गरे ।
भारतीय स्थल सेनाध्यक्ष विपीन रावतले बिम्स्टेक मुलुकबीच भएको सैन्य अभ्यासको समापन गर्दैै नेपाल र भुटान भारतसँग नझुकी सुख नपाउने अभिव्यक्ति दिएका थिए ।
पूर्वजर्नेल डा. उमेशकुमार भट्टराईले स्पष्टसँग राखे, ‘‘नेपालको भूराजनीति परिवर्तन हुँदै गएको कुरालाई भारतीय सेनाध्यक्षले बुझ्नुभएन ।’’ … भारतीय सेनाध्यक्षले सार्वभौमिकतामा नै खलल पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै त्यसको चर्को आलोचना भएको छ । समाचारको शीर्षक थियो – ‘भारतीय सेनाध्यक्षको विवादास्पद अभिव्यक्ति, सार्वभौम मुलुकमाथि धावा बोलेको निष्कर्ष ।’ (नेपाल समाचारपत्र, २ असोज २०७५)
माथिको विवरणले नेपालप्रति भारतको नियत प्रस्ट हुन्छ । कुनै पनि देशको सेनापतिले हतपति मित्र देशप्रति नकारात्मक बोल्दैन, बोलेको खण्डमा त्यो सरकारको अभिव्यक्ति हो भनी बुझेमा फरक पर्दैन । नेपालको भारतीय नीति के हो भन्नेबारे भारतीय गुप्तचर विभागका प्रमुख यादवले आफ्नो पुस्तकमा लेखेकै थिए – प्रम इन्दिरा गान्धीले बङ्गलादेशको मिसनपछि नेपाललाई सिक्कमकै नीति लिने थियो ।
सन् ७० को दशकमा भारतले सोभियत सङ्घसँग २० वर्षे सन्धि गरेर सिक्किम भारतमा मिलायो र बङ्गलादेशमा सेना पठाएर पाकिस्तानलाई टुक्र्यायो । तर अहिले मोदीको सरकारले संरा अमेरिकासँग विशाखापटनममा अमेरिकी जल सेना राख्ने सम्झौता गरी बङ्गाल खाडी वरिपरिका छिमेकीहरूलाई आफ्नो मुठ्ठीमा राख्ने उद्देश्य राखेको बिम्स्टेक युद्ध अभ्यासले पोल खोल्यो । यो यहीं टुटिन्न बरू मलेसिया र सिङ्गापुर सँगसँगै संरा अमेरिकाको नेतृत्वमा इण्डोनेसिया, बु्रनाइ, फिलिपाइन्स, जापान, दक्षिण कोरिया, थाइवान आदिसँग ‘हिन्द–प्रशान्त सैन्य गठबन्धन’ बनाइए आश्चर्यमा पर्नुपर्ने छैन ।
नाति–नातिना,
३ असोजको दिन गणतन्त्र नेपालको ‘संविधान दिवस’ हो । तर १ असोजको कान्तिपुर दैनिकले लेख्यो – ‘दुई सय ऋणले एक वर्ष जेल ।’ २०४६ साउन १५ को दिन घर खर्च गर्नको निम्ति एक हजार रूपैयाँ ऋण लिएका थिए – ६० वर्षीय राधाकृष्ण खँग (खत्वे) ले । ऋण लिएको ९ महिनामा ऋणीले २०४७ को जेठ ९ गते रू. ८ सय स्थानीय महाजन यादवलाई तिरे । २०० रूपैयाँ मूलधन तथा २ सय ७० रूपैयाँको व्याजसहित कूल ४ सय ७० तिर्न बाँकी थियो । तर २०४९ भदौ १५ गते २९ हजार मूलधन राखी अर्को कपाली तमसुक बनायो । मुद्दा पर्दा २०६३ पुसमा धनुषा जिल्ला अदालतले उक्त रकमको साँवा–ब्याज गरी १ लाख ६५ हजार बिगो भराउने फैसला सुनायो । १० वर्षपछि गाउँको पञ्च भलाद्मीको बैठकले ९० हजार दिने गरी मिलायो । तर खँग वा खत्वेको चार वटा भैसी, १० धुर जग्गा बेचेर पैसा दिंदा साहु मानेन । २०० रूपैयाँको १ लाख ६५ हजार कसरी पुग्छ ? पञ्चायतकालमै ऋण मुक्ति फारम र ऐनअनुसार साँवाभन्दा बढी ब्याज भएमा ऋणबाट मुुक्त भएका धेरै किसान थिए ।
महेन्द्रनारायण निधीको जनकपुरमा कसरी यस्तो अन्याय भएको होला भनी मैले निधीजीलाई बारम्बार सम्झें । मेरा प्यारा नाति–नातिना, महेन्द्रनारायणजी त बितिसक्नुभयो, तर उहाँको छोरो नेपाली काङ्ग्रेसको सरकारमा बारम्बार मन्त्री पद सम्हाल्नुहुन्छ । जनकपुरमा हुने अनेक घटना र काण्डमा उहाँले हात हालेर धेरै पापी र अपराधीहरूलाई संरक्षण गर्नुभएको छ । तर यो राधाकृष्ण खँग (खत्वे) को बारेमा उहाँलाई कसरी थाहा भएन ? किनभने उनी नेपाली काङ्ग्रेसका नेता र पुँजीपति वर्ग र पुँजीवादी व्यवस्थाका समर्थक छन् । यसकारण गरिब र कामदार वर्गको दुःख र पीडासँग उहाँ सरोकार राख्नुहुन्न । अन्य नेपाली काङ्ग्रेसका नेताहरू र अधिकांश कार्यकर्ताहरूमा पनि यो लागू हुन्छ ।
मेरा नाति र नातिनाहरू, तिमीहरूले सोध्नेछौ – त्यसो भए आफूलाई कम्युनिष्ट भन्ने एमाले र माओवादी एवं सरकारमा गएका अन्य कम्युनिष्ट पार्टीहरू किन केही गर्दैनन् ? तिनीहरू पनि भाइकाङ्ग्रेस भइसकेका छन्, मधेसवादी दलहरू, राप्रपा र जातिवादी दलहरू पनि साँचो अर्थमा समाज परिवर्तन गर्ने कष्टसाध्य काममा लाग्दैनन् र त्यसअनुसारको वैचारिक उचाइ र धैर्य पनि छैन । तर बिर्सनै नहुने एउटा विषय हो – नेपालको तराई किसान आन्दोलनको क्षेत्रमा भारतीय एकाधिकार पुँजी र स्थानीय जमिनदार र शोषक वर्गले किसान जनतालाई सङ्गठित हुन दिइरहेका छैनन् ।
तिमीहरू निराश नहुनु । हरेक रातपछि बिहान हुन्छ र पूर्वको झ्याल–ढोका बन्द भए पनि पश्चिमका झ्याल–ढोकाका काप–काप र प्वालहरूबाट प्रकाश छिरेजस्तै समाजमा आमूल परिवर्तनको बिगुल बज्नेछ ।
घटनाहरू आफूले सोचेजस्तो हुँदैन किनभने खेलमा खेलाडीहरू धेरै हुँदा खेलको टुङ्गो तत्काल हुँदैन । वसन्तमा फूलहरू फुल्छन, रूख–बिरूवा सबै हरियो हुन्छ, तर शरद् ऋतुमा पुनः ती पातहरू झर्छन् र नयाँ पालुवा निस्कन्छन् ।
३०–४० वर्षदेखि सँगै हिंडेका कत्ति साथीहरू विभिन्न कारणले छोड्दै गए, कत्ति विचारबाट थाके, कतिले केटाकेटी सम्हाल्नु प¥यो, घर गए, कोही उमेर र शरिरले दिएन, घरमा आराम गर्न गए, कत्ति विचारले हारे, कत्तिले आ–आफ्नो स–साना स्वार्थको अगाडि आत्मसमर्पण गरे ।
पशु बोल्दैन, झूट बोलेको हो वा स्वीकृति जनाएको हो हामीलाई थाहा हुन्न । तर मानिसले कुरा लुकाउने, अर्कै कुरा अगाडि सारेर आफ्नो कमजोरीलाई चम्काउन जानेको हुन्छ । तर कुराले होइन व्यवहारले तिनीहरू को हुन् भन्ने थाहा हुन्छ ।
मभन्दा ज्येष्ठ र कत्ति मभन्दा कम उमेरका साथीहरू पनि बिते, सबैको सम्झना आउँछ, मानिसका गुण र वैगुण दुवै हुन्छ । म सबैको सकारात्मक पक्षलाई प्रयोगमा ल्याउन खोज्छु । जाँड–रक्सी, जुवा र तासको लत लागेका कत्ति साथीहरूलाई जिम्मेवार बनाए, तर समाजमा खराब पक्ष भएको हुँदा सुध्रिसकेका मानिसहरू पुनः आफूले सम्हालेको घर–खेत सबै जाँड–रक्सी र जुवा–तासमा फाले, पश्चाताप, दुःख र पीडामा बिते ।
कत्ति सम्हालेका व्यक्तिहरू अहङ्कार र मनपरी गर्न नपाउने डरको कारण हामीबाट टाढा रहे, कत्तिले त भने पनि ‘हाम्रो घर चलाउन कम पैसाले पुग्दैन, यसकारण अन्य उपायबाट पनि काम चलाउँदा साथीहरूको आलोचनाबाट जोगिन हामीले बाटो त्यागेका हौं । यसरी मानिस फरक फरक स्वभावका हुन्छन् र अरूले बिगारेका धेरै छन् । सद्दे मानिसलाई समेत पैसा कमाउने लोभ देखाएर मूर्ति चोरीमा फसाउँछन् र पछि उसैलाई प्रयोग गरी आ–आफ्नो जीविका चलाउँछन् । यसलाई भनिन्छ – जीवन सरल रेखा होइन ।
मैले कत्ति नयाँ र पुराना सहयोगीसँग काम गरें, सबै आ–आफ्नै जीवन शैली, सोच र समर्पणमा आ–आफ्नै व्यक्तित्वका धनी हुन् । कत्तिले अरूको सुनेर वा कहिले अनुमान गरेको विषय खोटो भएर, कतिले भविष्य नदेखेर, निराश हुँदै र धैर्यको बाँध भत्केर मलाई एक्लै छोडेर गए । आफूले टेकेको एउटा लठ्ठी र एउटा कलमले आफूलाई जति सहारा दिन्छ नयाँ लठ्ठी र कलमले केही दिनसम्म वा बानी नपरेसम्म गा¥हो अनुभव हुन्छ ।
मेरा नाति र नातिना, तर सहेरै, धैर्य गरेर अगाडि बढ्नु छ । बीचमा आराम गर्दा वा बास बस्दा थाकेको अनुभवले हामीले हाम्रो गन्तव्य छोड्ने सदा डर रहन्छ । समयमै सबै साथीहरू गन्तव्यतिर लाग्दैनन्, त्यसबेला हामीले एकक्षणको निम्ति पनि हाम्रो गन्तव्य बिर्सनु हुन्न । त्यस्तो अवस्थामा हाम्रो उदासिनता र आरामको जिन्दगी बिताउने ध्याउनाले हामी आफ्नो आजु र गन्तव्यमा पुग्नेछैनौं । हो, युद्धपछि आफ्नै पक्षको जीत भए पनि कत्ति साथीहरू सहिद भइसकेको थाहा हुन्छ, कत्ति साथीहरू अपाङ्ग भएका हुन्छन्, कति बाँचेकाहरूसमेत विजयपछि पनि मैदान छोड्छन्, तर तिनीहरूले विजयको स्वाद, गौरव र सन्तोषको श्वास फेर्न सक्दैनन्, दुःख, असन्तोष र पश्चातापमै बित्छन् ।
यसकारण मेरा नाति र नातिनाहरू, तिमीहरूले घरी घरी साथी, सहयोगी र आफ्नो गन्तव्य नछोड्नू । निराशाले मानिसलाई कमजोर बनाउँछ, आफ्ना साथी र सहयोगीहरूलाई छोड्नुहुन्न, कमी–कमजोरी जसको पनि हुन्छ, सबैसँग मिलेर काम गर्ने उत्साह छोड्नु हुन्न, किनभने केही साथीहरूको सांस्कृतिक स्तरको अभावले हामी र हाम्रो उद्देश्यलाई बुझ्न नसकेर, गलत समझदारीले उल्टो निष्कर्षमा पुग्ने सम्भावना हुन्छ । यसकारण मेरा नाति र नातिना, रिसाएर गएका दुःखी साथी, सहयोगी र मित्रहरूलाई बीचमा छोड्नु हुन्न, तिनीहरूको कमजोरीलाई सच्याउने अवसर दिनुपर्छ र सबैको योगदानलाई बिर्सनुहुन्न ।
पत्र लामो भयो, अहिले कलम रोक्छु ।
तिमीहरूलाई माया गर्ने,
हजुरबुबा

Leave a Reply

Your email address will not be published. Required fields are marked *