यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
खिलबहादुर भण्डारी
२०१८ अप्रिल २, (गत चैत १९) को दिन मलेसियामा झूटा समाचारविरुद्धको विधेयक–२०१८ पारित भएको छ । झूटा समाचारको प्रकाशन तथा प्रसारणविरुद्ध नयाँ कानुन विपक्षीहरूको विरोधका बावजुद मलेसिया संसद्बाट सामान्य बहुमतले पारित भएको हो । विधेयकअनुसार अब गलत समाचार उत्पादन, प्रकाशन, प्रसारण या वितरण गर्ने दोषीलाई ६ वर्षसम्म कैद र ५ लाख रिङ्गेटसम्म जरिवाना हुनेछ ।
नयाँ कानुन अन्य मुलुकबाट मलेसियाबारे प्रकाशन, प्रसारण एवं वितरण हुने यस्तो प्रकृतिका समाचारको सन्दर्भमा समेत लागू हुनेछ । मलेसियाली प्रधानमन्त्री नाजिव रजाकले नयाँ कानुनले प्रेस स्वतन्त्रतामाथि कुनै असर नपार्ने, प्रेस स्वतन्त्रता हनन नहुने दाबी गरेका छन् ।
संयोग नै मान्नुपर्छ, सोको भोलिपल्ट गत चैत २० गते भारतमा पनि झूटा समाचारलाई निरुत्साहित गर्न ल्याइएको निर्देशिका पत्रकारहरूको व्यापक विरोधपछि फिर्ता भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले झूट समाचार लेख्ने वा प्रसारण गर्ने पत्रकारलाई कारबाही गर्न दिइएको आदेश फिर्ता लिन लगाएका छन् ।
सूचना तथा प्रसारणमन्त्री स्मृति जुदिन इरानीले झूट समाचार लेखेको पुष्टि भएमा पत्रकारलाई दिइएको मान्यता खारेजी गर्ने चेतावनी दिएकी थिइन् । यो चेतावनीसँगै पत्रकारको मान्यता पाउन आवश्यक निर्देशिका संशोधन गर्न लागिएको थियो । सो प्रस्तावलाई पत्रकार र सम्पादकहरूले ‘प्रेसमाथिको हमला’ भनेका थिए ।
प्रेस सूचना व्यूरो (पीआइबी) मान्यता प्राप्त पत्रकारहरूले सरकारी भवन र औपचारिक कार्यक्रममा पहुँचका साथै अन्य केही फाइदा पाउँछन् ।
दर्ता नगरिएको एक वेबसाइटका सम्पादक गत मार्चमा मुसलमानहरूको एउटा समूहले एक भिक्षुलाई आक्रमण गरेको कपोलकल्पित समाचार प्रकाशित भएपछि पक्राउ परेका थिए । सो घटनापछि सूचना तथा प्रसारण मन्त्रालयले फर्जी समाचार लेख्ने पत्रकारको मान्यता झिक्ने चेतावनी दिएको थियो । भारतमा फर्जी समाचारबारे कुनै कानुन नभए पनि धार्मिक सद्भाव बिथोल्ने सामग्रीको प्रकाशन र प्रसारणलाई अपराध मानिन्छ ।
मलेसिया र भारतमा हालै भएका यस्ता घटनाले पत्रकारहरू सचेत हुन जरुरी छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको चुनावमा मिडियाले आफूलाई दिएको हैरानीका निम्ति सार्वजनिक समारोहमै कटु आलोचना गरेका छन् । नेपालमा पनि झूट समाचारबाट आम नागरिकमात्र हैन, नेता र जिम्मेवार मानिसहरूसमेत हैरानीमा पर्ने गरेका छन् । न्यायाधीश र वकिललाई समेत झूटा समाचारले दुःख दिएपछि केही वर्षअघि अदालतको अपहेलनासम्बन्धी विधेयक नै आयो । प्रेसले विरोध गरेपछि अहिले यो तामेलीमा छ ।
समाचारले हैरानी
२०७२ असार २८ गते प्रेस काउन्सिल नेपालमा सुन्दै डरलाग्ने निवेदन दर्ता भयो । असीम पोखरेलको निवेदनमा जीवित रहँदारहँदै आफ्नो नाममा हार्दिक श्रद्धाञ्जली विज्ञापन आएको हुँदा सो छाप्ने अन्नपूर्ण दैनिकलाई कारबाही गरिपाऊँ भन्ने व्यहोरा उल्लेख थियो । उक्त दैनिकको असार १८ गतेको प्रकाशनमा पोखरेलको फोटो राखेर हार्दिक श्रद्धाञ्जली छापिएको थियो । व्गदष्बिलत ऋयज्ञभिनभ कालिमाटीबाट पठाइएको सो विज्ञापनको पछि खण्डन त भयो तर यसले पीडितलाई ठूलो हैरानी दियो ।
प्रचण्डलाई ‘रअ’ को धम्की, छोरा प्रकाशको बेडमै पुगेको त थाहा होला नि ? भन्ने समाचार छाप्ने अर्थसरोकार अनलाइनले अझसम्म यो समाचार पुष्टि गर्न सकेको छैन । सम्पादक सुरज प्याकुरेलले त ‘प्रचण्डले नै कुनै नेतालाई भनेको तथ्यको आधारमा एक नेताले हामीलाई सूचना दिएपछि उक्त समाचार तयार पारेको’ बताएका छन् । प्रेस काउन्सिल नेपालले समाचारको विश्वसनीयतामाथि प्रश्न उठाउँदै पत्र पठाएपछि प्याकुरेल भन्छन्–‘समाचार दिने स्रोतबाट तपाईंलाई प्रेस काउन्सिलले पत्र काटेको छ रे, नाम उल्लेख गर्नुभयो भने प्रचण्ड र मेरो सम्बन्ध बिग्रिन्छ, स्रोतचाहिँ बचाउनुहोस् है भन्ने मौखिक आग्रह आएकोले पत्रकार आचारसंहिता र हामीलाई समाचार उपलब्ध गराउने स्रोत तथा प्रचण्डबीचको सम्बन्ध र त्यसले नेपाली राजनीतिमा समेत पर्ने असरलाई ध्यानमा राख्दै स्रोत उल्लेख गर्न नसक्ने स्पष्ट पार्न चाहन्छौं ।’
स्रोतले दिएको भनेर यसरी पुष्टि हुनै नसक्ने, विश्वास गर्ने आधार नै नभएको र मृत्युको समाचार लेख्नु संवेदनहीन कार्य हो । स्वाभाविक मृत्युलाई अस्वाभाविक बनाउनु र मृत्युको समाचारलाई राजनीतिक आवरण दिनु पत्रकारको धर्म मानिंदैन ।
लाइभ अफ नेपाल अनलाइनले २०७४ साउन २३ गते भदौ १ गतेबाट ‘मुलुक सेनाको कब्जामा’ शीर्षकअन्तर्गत देशको राजनीतिक उतारचढावका कारण मुलुक गम्भीर अवस्थामा पुगेको भन्दै नेपाली सेनाले आकस्मिक बैठक बसी भदौ १ गतेबाट मुलुम हाँक्ने निर्णयमा पुगेको समाचार प्रकाशन ग¥यो । गोप्य स्रोतको हवाला दिएर प्रकाशित समाचारमा राजनीतिक दलहरूको स्वार्थ र खिचातानीले गर्दा राष्ट्रलाई नै विखण्डन पार्ने गम्भीर सङ्कट देखापरेकोमा गम्भीर ध्यानाकर्षण भई सेनाले यस्तो निर्णय गर्नासाथ नेता तथा कार्यकर्ताहरू त्राहीमाम भएको ठहरसहित पुछारमा गाईजात्राको सन्दर्भ जोडिएको छ । आमपाठकलाई भ्रममा पार्दै, गाइजात्रे रमाइलो समाचार दिने बहानामा यस्ता संवेदनशील विषयमा ठट्टा गर्नु पत्रकारिताको मर्यादा मानिन्न । यस्ता समाचारले कहिलेकांही मुलुकलाई दुर्घटनामा पनि लैजान सक्छ । त्यसकारण पत्रकारले राष्ट्रिय सुरक्षा, सेना, प्रहरीको समाचारमा ख्याल ठट्टा गर्नुहुँदैन ।
गत चैतमा पाकिस्तानी प्रधानमन्त्री साहिद खक्कान अब्बासीको नेपाल भ्रमण भयो । भ्रमणबारे क्यापिटल हेडलाइन अनलाइनले अशिष्ट शीर्षक राखेर समाचार प्रकाशन ग¥यो –‘भारतको गुलामी र दलाल देउवालाई भेट्दिन – पाकिस्तानी प्रधानमन्त्री अब्बासी’ शीर्षकको समाचारमा ‘दुईदिने नेपाल भ्रमणमा हिजो काठमाडौं आइपुगेका पाकिस्तानी प्रधानमन्त्री काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई नभेटी जाने भएका छन् । देउवा भारतनिकट भएकाले नभेट्ने स्रोतको भनाइ छ ।’ विदेशी पाहुनाको समेत अपमान गर्ने यस्ता समाचारले मुलुकको कूटनीतिक मर्यादामा समेत असर गर्छ । यस्तो कुरामा पत्रकारले ध्यान पु¥याउनैपर्छ ।
विज्ञापनमा ध्यान पु¥याउन नसक्दा एकजना महिलाले मिडियाबाट हैरानी व्यहोर्नुपरेको अर्को घटना छ । बिगुल न्यूज, राजधानी डेली, केटिएम नेपालसहित तीनवटा अनलाइनले ‘किशोरीलाई समातेपछि’ शीर्षकको समाचारमा ‘बसमा यात्रा गरिरहेको अवस्थामा काठमाडौं, तीनकुने बस्ने १८ वर्षीया युवतीलाई यौन दुव्र्यवहार गर्दै गरेको अवस्थामा कीर्तिपुर पाँगा बस्ने सुर्खेतको वीरन्द्रनगर नगरपालिका–११ का २८ वर्षीय नवराज जोशीलाई प्रहरीले पक्राउ गरेको खबर लेखेका छन् । मसँग असम्बन्धित, करिब ३ वर्षअगाडि बसमा यात्रा गरिरहेको अवस्थाको तस्वीर राखी प्रकाशन गरेकोमा गम्भीर आपत्ति छ भनेर जमुना बस्यालले २०७४ साउन २६ गते प्रेस काउन्सिल नेपालमा उजुरी दिइन् ।
भक्तपुरकी जमुना बस्यालको प्रहरी बुलेटिनमा आधारित सो तस्वीर असावधानीवश समाचारमा गएको भन्दै तीनवटै अनलाइनले क्षमा मागे पनि उनलाई परेको चारीत्रिक असरलाई मिडियाको ‘क्षमा’ शब्दले मात्र पूर्ति गर्न सक्ला त ? प्रहरी वा पत्रकारले यस्ता विज्ञापन सार्वजनिक गर्नु पहिला विज्ञापनमा देखिने पात्रको अनुमति लिन जरुरी छ । मिडियाले सामान्य कुरामा समेत ध्यान दिन नसक्दा कतिपयले सास्ती खेप्नुपर्नेहुन्छ ।
मिचिएको मर्यादा
‘साला केन्द्रीय सदस्य भएर पनि चोर्ने ?’ समाचारको शीर्षकले बताउँछ कि यति असभ्य भाषा पनि हुन्छ र यस्तो लेख्ने पनि पत्रकार हुन्छन् ! यो गत २०१७ जुलाई ३ मा समर प्रतीक अनलाइनले नेपाली कांग्रेसका अर्जुननरसिंहकेसी र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको बारेमा लेखेको समाचारको शीर्षक हो । नेताद्वय देउवा र केसीले चोरेको त पत्याउन नसकिएला, अरु कसैले चोरेको, कुनै घटनाको समाचार सत्य नै होला, कसैले चोरेकै भए पनि पत्रकारले तल्लोस्तरमा झरेर यस्तो भाषा–शैली कहिल्यै प्रयोग गर्नुहुँदैन ।
कहिलेकाहीं सञ्चारकर्मी भावनामा बहकिँदा समाचारले गलत अर्थ लाग्न गई पीडितलाई थप पीडा दिने हुन्छ । संवेदनशील विषयमा पत्रकारले पनि संवेदनशील नै भएर समाचार पस्कनुपर्छ । गत माघ २७ गते हलेसी न्यूजले ‘रसुवामा जलेर तीन बालिकाको मृत्यु, कृपया रिप लेख्नु र सेयर पनि गरिदिनु’ भन्दै विभत्स फोटोसहित समाचार प्रकाशन ग¥यो । पत्रकारले सफा नियतले नै समाचारलाई सेयर गर्नुहोला, रिप लेख्नुहोला भने पनि पत्रकारितामा यसो गर्दा परिवारलाई थप चोट पर्न जान सक्छ । यस्तो कहिल्यै गर्नुहुँदैन ।
‘के ठूलो स्तनले बढी आनन्द दिन्छ ? – अध्यक्ष प्रचण्ड, शीर्षकको २०७४ फागुन २३ गते पाथीभरा न्यूज अनलाइनको समाचार पढ्दा पाठकलाई हाँसो उठ्ला कि लाज लाग्ला ? एकातिर हाँसो लाग्ने र अर्कोतिर लजाउनुपर्ने यस्ता समाचारले पत्रकारिताको मर्यादा नै मार्ने काम गरेको छ । प्रचण्डको तस्वीर, नाम राखेर प्रकाशित यस्तो समाचारले पत्रकारिताकै धज्जी उडाउने काम भएको छ । शिष्टताको थोरै पनि ख्याल नगर्ने, मुलुकका वरिष्ठ नेताहरूमाथि अमर्यादित टिप्पणी गर्ने, पाठकमा उत्तेजना फैलाउने, भ्रमित पार्ने यस्ता सामग्रीबाट पत्रकारितामाथि नै प्रश्नचिन्ह खडा हुन्छ ।
सत्य समाचार अनलाइनको गत नोभेम्बर २८, २०१७ को डेटलाइनमा प्रकाशित समाचारको शीर्षक पनि अश्लील, अर्मादित छ –‘बोका, राँगो, भालु भन्दै गाली गर्ने युनिष्माले अब त खोलेरै देखाउन थाली’, भिडियो हेर्नुहोस् भन्दै अश्लील भिडियो हालिएको छ । १४ मिनेट लामो भिडियोमा अश्लील गाली गरिएको छ, नैतिकताको कत्ति पनि ख्याल गरिएको छैन । यस्तो आपत्तिजनक सामग्री प्रयोग गर्नु पत्रकारिताको आचारसंहिता उल्लङ्घन हो ।
–संहिता (असार २०७५ बाट)
Leave a Reply